शीर्षकहरू

उदयपुरका दुई सहकारी सञ्चालक फरार, घरधनी र बचतकर्ता पीडामा

उदयपुरका दुई सहकारी सञ्चालक फरार, घरधनी र बचतकर्ता पीडामा

उदयपुर । असार १२ गते बुधवार बिहान उदयपुरको गाईघाट बजारमा रहेको महिला जनजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय अगाडी भेटिए हेम (नाम परिवर्तन) । उमेरले ४२ वर्ष हाराहारी पुगेका उनी गाईघाटकै बासिन्दा हुन् । सहकारीमा गरेको बचतको रकम फिर्ता पाइन्छ की भन्ने आसमा उनी त्यहाँ सधैँजसो पुग्ने गर्छन् । 

‘आज मात्रै होइन म सबैजसो एक पटक अफिस खुल्यो की भनेर हेर्न आउँछु । कहिलेकाहीँ म जस्ता अरू पीडितहरू पनि आउनु हुन्छ । ताला लागेको कार्यालय बाहिरबाट हेर्छौँ अनि फर्किन्छौँ’, उनले भने ।   

आफूले बचत गरेको रकम फिर्ता पाउने आसमा उनी बारम्बार बन्द सहकारीको कार्यालय अगाडी पुग्छन् । जुन कार्यालयमा ताला लागेको नै डेढ वर्ष भइसक्यो । सहकारीको कार्यालय बन्द हुने बित्तिकै उनले त्यसका सञ्चालक, कर्मचारीहरूलाई सम्पर्क गरेका थिए । उनीहरूले एक दुई/दिनमा खुल्छ भन्दै झुलाए । तर, डेढ वर्ष नाघिसक्दा समेत कार्यालय खुलेको छैन ।    

‘मेरो करिब तीन लाख रकम हिनामिना गरेको छ यो सहकारीले । मेरा आफन्तहरूको पनि लाखौँ रकम बचत छ । नियमित बचत गरिरहेको थिएँ । एकाएक सहकारी बन्द भयो । मेरो सबै पैसा डुब्यो’, उनले सुनाए ।  

उनले दैनिक बचत गर्ने गरेका थिए । दैनिक बचतको रकम संकलन गर्न उनकोमा एक महिला कर्मचारी आउने गर्थिन् । पछिल्लो पटक भने ती कर्मचारीले हिसाब गर्न भन्दै उनको पासबुक नै मागेर लागिन् । हिसाब गरेर ल्याइदिने भनेपछि उनले दिए । त्यसपछि भने ती महिला कर्मचारी न बचतको रकम संकलन गर्न आइन्, न पासबुक नै फिर्ता गर्न । 

‘दैनिक बचत गर्थेँ । थोरै थोरै बचत गर्दा पछि सजिलो हुन्छ भनेर राखेको थिएँ । राखेको पैसा पनि खाइदियो । भएको प्रमाण समेत सबै लगेर यसरी दुख दिइरहेको छ’, उनले भने ।

सुरु सुरुमा सम्पर्कमै रहेका सहकारी सञ्चालक, कर्मचारीहरू विस्तारै सम्पर्कबाट बाहिर भए । भएका नम्बर परिवर्तन गरे । अहिले उनीहरू बचतकर्ताको सम्पर्कमा नै छैनन्। उनी आफ्नो बचतको रकम फिर्ता हुने हो कि होइन भन्ने चिन्तामा छटपटिँदै बारम्बार सहकारी धाइरहेका छन् ।

यस सहकारीमा विभिन्न खालका प्रलोभन देखाएर बचतकर्तालाई सुरुमा बचतका लागि प्रोत्साहन गरिएको थियो । आकर्षक ब्याजदरदेखि बोनस दिनेसम्मको लोभ देखाइएको थियो । राम्रो ब्याजदर पाउने आसमा बचत गरेका यस सहकारीका बचतकर्ताको अहिले बिचल्ली भएको छ । 

गाईघाटमै रहेको उदयपुर कृषि सहकारी संस्था पनि बचतकर्ताको रकम लिएर सम्पर्कविहीन बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका बिगाहाकी रञ्जना (नाम परिवर्तन) पनि बचतको रकम फिर्ता पाउने आसमा नियमित कार्यालय धाउने गर्छिन् । हप्तामा दुई/तीन पटक कार्यालय जान्छिन् । सधैँ ताला लगाएको देख्छिन् र फर्किन्छिन् । 

उनले करिब एक लाख बचत गरेकी थिइन । बारम्बार सहकारीमा धाउँदासमेत उनले रकम फिर्ता पाइनन् । त्रियुगा नगरपालिका वडा नं. ९ मा सानो किराना पसल गर्दै आएकी उनी सोही पसलको रकम सहकारीमा बचत गर्थिन् । नजिकै छिमेकमा बस्ने  चिनेजानेको महिला सो सहकारीमा काम गर्थिन् । उनकै माध्यमबाट सहकारीमा बचत गर्न थालेकी थिइन । 

‘छिमेकको बहिनी उदयपुर कृषि सहकारीमा काम गर्थिन् । चिनेकै ठाउँमा बचत गर्छु भनेर बचत गरेको थिएँ। पछि उनले छोडिन् । अर्को बहिनी आउँथिन्  । उनी पनि आउन छोडिन् । लामो समयदेखि उनी आएकी नै छैनन् । कार्यालय बन्द छ’, उनले व्यथा सुनाइन् । 

उनले आफ्नो र छोरीको नाममा फरक फरक खाता खोलेर बचत गर्ने गर्थिन । बचतको रकम त्यही किराना पसलको थियो । ‘पाँच रुपैयाँ, दश रुपैयाँको सामान बेचर बनाएको पैसा सहकारीमा बचत गरेको थिएँ । सहकारीले खाइदियो’, उनले गुनासो गरिन् ।   

हेमको जस्तै रमाको पनि पासबुकहरु उक्त सहकारीले लगेको छ । हिसाब गर्न भन्दै पासबुक लगेपछि उक्त सहकारीकी कर्मचारी बचत संकलन गर्न आइनन् । उनलाई सम्पर्क गर्दा आफूले जागिर छोडेको बताएको उनी सुनाउँछिन् ।

‘पासबुक सबै लगेको छ । त्यसपछि कोही आउनु भएन । उनलाई सम्पर्क गर्दा आफूले काम छोडिसकेको भन्छिन् । त्यहाँको अध्यक्ष र अन्य कर्मचारीलाई फोन गर्दा उनीहरूको फोन लाग्दैन । कहिलेकाहीँ लाग्यो भने पनि उठ्दैन’, उनले भनिन् । 

उनी बारम्बार सहकारीमा सम्पर्क गर्ने कोसिस गर्छिन् । तर, सम्पर्क हुन भने सकेको छैन । कार्यालय जाँदा ताला लागेको छ । खुलिहालेको छ की भनेर उनले धाउन भने छोडेकी छैनन् । हेम र रमा मात्रै होइन यो सहकारीका हजाराैँ बचतकर्ता अहिले पीडामा छन् । उनीहरू सबैको समस्या उस्तै छ । 

महिला जनजागृती र उदयपुर कृषि सहकारीको कनेक्सन 

महिला जनजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष तेज बहादुर पाण्डे हुन् । उनी अध्यक्ष रहेकै बेला उनले उदयपुर कृषि सहकारी संस्था लिमिटेड सञ्चालन गर्ने सोच बनाए । सोही अनुसार उनले आफ्नी श्रीमतीलाई कृषि सहकारीको अध्यक्ष बनाएर सहकारी सञ्चालन गरे । 

त्यसपछि फरक फरक संस्थाको नाम दिएर श्रीमान् श्रीमती नै सहकारीमा आबद्ध भए । महिला जनजागृती सहकारी सञ्चालनको सुरुवाती वर्षहरूमा सहकारीमै काम गरेर राम्रो चर्चा कमाए । महिला जनजागृतीबाट सफलता हात पारेका पाण्डेले कृषि सहकारीतिर पनि हात हाले । 

सहकारी ऐन नियम २०४८ बमोजिम २०७१ सालमै डिभिजन सहकारी कार्यालय उदयपुरमा दर्ता भएको उदयपुर कृषि सहकारी संस्था चल्न नसकेर अलपत्र अवस्थामा थियो । साविकको त्रियुगा नगरपालिका वडा नं। १० देउरीमा बन्द अवस्थामा थियो, यो सहकारी । पाण्डे आफू बाहिर बसेर श्रीमती ज्योतीलाई अध्यक्ष बनाएर सो सहकारी सञ्चालन गरेको स्रोतको भनाइ छ ।   

‘दर्ता भएर पनि चल्न सकेको थिएन, यो सहकारी । पछि तेज पाण्डेले नै यो सहकारी चलाए । जनजागृती सहकारी राम्रैसँग चलाइरहेका थिए । त्यहाँबाट सफलता पाएर उनले कृषि सहकारीमा श्रीमतीलाई जोडेका हुन्’, स्रोतले भन्यो । 

उदयपुर कृषि सहकारीको उद्घाटन त्रियुगा नगरपालिकाकी तत्कालीन उपप्रमुख देवीकुमारी चौधरीले गरेकी थिइन । उपप्रमुख चौधरीले उद्घाटन गरेको यो सहकारीले सुरुवाती समयमा राम्रै काम पनि गरेको थियो । विभिन्न सिप सिकाउने, अचार बनाउने तालिमदेखि बङ्गुर फार्म सञ्चालनसम्म गरेको थियो । 

साना किसानलाई ऋण प्रवाहमा सहजता ल्याउन र कृषकमुखी कार्यक्रम ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त सहकारीले बचत तथा ऋणको कारोबार पनि गर्न थाल्यो । त्यसपछि सहकारी नै बन्द अवस्थामा पुग्यो ।    

पछिल्लो पटकको अधिवेशनबाट भने दुवै सहकारीका अध्यक्ष फेरिए । पाण्डेका श्रीमान् श्रीमती नै अध्यक्षबाट बाहिरिए । महिला जनजागृती सहकारीमा तेज पाण्डे सचिव बसे ।  अध्यक्ष विनोद खड्का बने । त्यस्तै, उदयपुर कृषि सहकारीको अध्यक्ष पनि फेरिए । अहिले यस सहकारीकाे अध्यक्षमा नारायण दाहाल रहेका छन् । 

नयाँ कार्यसमिति फेरिएपछि सहकारी समस्यामा आएको पाण्डेको को आरोप छ । ‘नयाँ कार्यसमिति आएपछि सहकारी समस्यामा आयो । सञ्चालन खर्च पनि धेरै थियो । लगानी जसलाई पाए त्यसलाई गर्ने गरे । नयाँ सञ्चालकले जथाभाबी काम गरे, अनि सम्पर्क बाहिर भए’, उनले भने । 

घरधनीका आफ्नै पीडा 

सहकारी संस्थाले कार्यालय राखेको कोठा भाडा समेत तिरेन । एकाएक कार्यालयमा चाबी लाग्यो । कार्यालयमा कर्मचारी, व्यवस्थापक आउनै छोडे । केही महिनासम्म सहकारीको कार्यालय खुल्छ भन्ने आशमा घरधनी थिए ।   

तर, महिनौँ बित्दा समेत कार्यालय खुलेन । त्यसपछि घरधनीले सम्पर्क गर्दा पाण्डेले काम विशेषले बाहिर गएको र केही समयपछि आएर सबै भाडा दिने आश्वासन दिए । महिला जनजागृती सहकारी संस्थाको कार्यालय राखिएको घरधनी रोशन कार्की भन्छन्, ‘लामो समयदेखि हाम्रो घरमा सहकारीको कार्यालय राखेका थिए । एकाएक ताला लाग्यो । लामो समयसम्म नआएपछि हामीले सम्पर्क गर्‍यौँ । केही समय पछि भाडा बुझाउने भने । तर, १८ महिना बितिसक्दा समेत भाडा तिरेनन्।’ 

सुरुवातमा पाण्डेको नम्बरमा फोन लाग्दथ्यो । तर, पछि उनको फोन समेत लाग्न छाडेपछि घरधनीले त्रियुगा नगरपालिका वडा नं. ११ को वडा कार्यालयमा निवेदन दिए । र, वडाको रोहबरमा ताला काटेर समानहरू जफत गरे । 

ताला काट्दा कार्यालयमा सामान्य फर्निचरका सामानहरू मात्रै रहेको उनले सुनाए । ‘सुरु सुरुमा दिन्छु भन्दै झुलाए । पछि दिएनन् । बाध्य भएर सामान जफत गर्नु पर्‍यो’, उनले अगाडी भने, ‘कार्यालयमा रहेका सामानको भन्दा हाम्रो भाडा तेब्बर भइसकेको थियो । फर्निचरमा सामानबाहेक सबै कागजपत्रहरू लिएर गएका रहेछन् ।’   

हरेक दिन बचतकर्ताहरू रकम फिर्ताका लागि घर घेर्न आउन थालेपछि घरधनी पनि आजित थिए । उनले सहकारीको बोर्ड हटाएर अहिले कार्यालय रहेको ठाउँ खाली गरिसकेको बताए । ‘सहकारी बन्द भएको भयै । मान्छे आका आइ । भाडा तिर भन्दा पनि नदिने । यता पीडित  पैसा फिर्ताको माग गर्दै घर घेर्न आको आइ गर्ने गरे । अहिले बोर्ड हटाएर खाली गरिसकेका छौँ’,  उनले हालको अवस्थाबारे बताए ।   

कृषि सहकारीले कार्यालय राखेको भाडा समेत तिरेको छैन। अहिले ताला झुन्डिएका छन्, सहकारीको ढोकामा । लामाे समयदेखि यस सहकारीका सञ्चालक समेत सम्पर्कमा छैनन । यस सहकारीका सञ्चालक नारायण दाहाल पनि फरार छन् ।

कर्मचारीले पनि पाएनन् तलब  

सहकारी संस्था बन्द हुनु अगाडी यी दुबै सहकारीमा काम गर्ने कर्मचारीले समेत तलब पाएका छैनन् । कतिपयले दुई/तीन महिनासम्म तलब नपाएपछि छोडेका थिए भने कतिपयले कार्यालय बन्द हुने दिनसम्म काम गरेका थिए । 

तलब नपाएको गुनासो गर्दै एक कर्मचारीले आर्थिकन्युजसंग भने, ‘सात आठ/महिना काम गरेको पैसा लिन बाँकी छ । त्यतिबेला तलबको कुरा गर्दा अर्को महिना पर्खिनुस् भन्दै भन्नु हुन्थ्यो । होला भन्ने आशमा काम गरियो । अन्तिममा पाइएन ।’  

कर्मचारीलाई तलब दिन नसकेको पाण्डे पनि स्वीकार्छन् । उनी आफै सञ्चालक समितिको सचिव भए पनि सहकारीको कर्मचारीको रूपमा पनि काम गरिरहेका थिए । ‘मैले कर्मचारीकोरुपमा पनि काम गरिरहेको थिएँ । तोकिएको तलब पाइएन । मैले पनि पाएको छैन । साथीहरूले पनि पाएका छैनन्’, उनले सुनाए । 

लगानी नउठेर समस्या आयो: पाण्डे  

यस सहकारीको लगानी घरजग्गामाभन्दा पनि व्यापारीहरूमा बढी मात्रामा रहेको छ । ‘घरजग्गामा हाम्रो त्यस्तो लगानी छैन । बजार कै व्यापारीहरूलाई लगानी गरेका छौँ । त्यो लगानी उठेको छैन । त्यो नउठेपछि बचत फिर्ता गर्न सकेनौ । सहकारी बन्द गर्न बाध्य भयौँ’, अहिले महिला जनजागृती सहकारीको सचिव रहेका पाण्डेले आर्थिकन्युजसंग भने ।  

उनका अनुसार बचतकर्ताहरूले जति दबाब दिन्छन् त्यति नै ऋणीलाई दबाब दिने गरेका छन् । यो सहकारीले ४० लाख हाराहारीमा लगानी गरेको छ । करिब सात लाख हाराहारी मात्रै बचत फिर्ता गर्न बाँकी रहेको उनले दाबी गरे ।

तर, बचत फिर्ताको रकम पाण्डेले दाबी गरे अनुसार सात लाख मात्र नरहेको सोही कार्यालयमा काम गर्ने एक कर्मचारी बताउँछन् । उनका अनुसार यस सहकारीले कार्यालय बन्द भएको तीन महिनापछि एक करोड रुपैयाँ बचत फिर्ता गरिएको थियो । त्यसपछि कार्यालय केही समय खुलेको थियो । फेरि कार्यालय बन्द गरियो । अब ३५ लाख हाराहारीमा बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेको छ ।

बचतकर्ताको निरन्तर दबाबका कारण त्यो रकम कसरी फिर्ता गर्ने भन्नेबारे पाण्डेले नगरपालिकाका प्रमुख, प्रदेशका सहकारी रजिष्ट्रारसंग पनि छलफल गरेका थिए ।  ‘हाम्रो तुलसी सहकारीको जस्तो ठूलो समस्या होइन । सानो समस्या हो । सानै भए पनि एकै पटक बचत फिर्ता गर्ने सम्भव छैन । कोशिस गरिरहेको छु । अध्यक्षसँग सम्पर्क नै हुँदैन । म एक्लैले कोशिस गरिरहेको छु’, उनले भने ।      

अध्यक्ष भागे, सचिव तनावमा  

महिला जनजागृती सहकारीका सचिव रहेका पाण्डे जिल्ला बचत तथा ऋण सहकारी संघको कोषाध्यक्ष समेत हुन् । त्यतिमात्र होइन उनी गाईघाटका स्थायी बासिन्दा हुन् । सहकारी बन्दपछि सबैभन्दा बढी तनावमा आफू रहेको उनले गुनासो गरे ।  

‘म पहिलाको अध्यक्ष हो । म अध्यक्ष भएका बेला मेरो विश्वासमा धेरैले बचत गरेका थिए । पछिल्लो नेतृत्व आएपछि सहकारी समस्यामा आयो । अहिलेका नेतृत्व सम्पर्कमा छैनन । म यहाँ एक्लै तनावमा छु’, उनले सुनाए ।  

यस सहकारीका अध्यक्ष खड्का अहिले सम्पर्क बाहिर छन् । धेरैजसो पोखरा बस्दै आएका उनी सहकारी बन्द गरेर सम्पर्कविहीन छन् । सञ्चालक समितिका अन्य पदाधिकारीहरू  पनि उनको सम्पर्क छैन ।      

पाण्डे आफूले सम्पर्क गर्दा समेत अध्यक्षसँग सम्पर्क हुन सकेको छैन । ‘फोनमा सम्पर्क हुन सक्दैन । एक पटक म्यासेन्जरमार्फत कुरा भएको थियो । आउँछु भन्नु भएको थियो, उहाँ अहिलेसम्म आउनु भएको छैन’, उनले भने ।