शीर्षकहरू

नक्कली शरणार्थी प्रकरणमा ‘ठूला माछा’सँग कनेक्सन भएका झा पक्राउ

नक्कली शरणार्थी प्रकरणमा ‘ठूला माछा’सँग कनेक्सन भएका झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई ठगी गर्ने संगठित अपराध मुद्दामा फरार रहेका वीरगञ्ज ७ स्थायी घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्ने बेचन झा पक्राउ परेका छन् ।

झा पक्राउ परेसँगै उक्त प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार झालाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले झालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार ७ दिनको समय दिएको छ ।

झालाई शुक्रबार नै पक्राउ गरे पनि प्रहरीले उनी पक्राउ परेको सूचना गोप्य नै राखेको थियो । सञ्चारमाध्यममा समाचार सार्वजनिक भएसँगै प्रहरीले आधिकारिक सूचना जारी गर्दै उनलाई पक्राउ गरेको बारे जानकारी गराएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा राखेर अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध लिखत किर्ते, राज्य विरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पूर्वगृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलिरहेको छ । यसै क्रममा झाको पक्राउलाई लिएर अनेक चर्चा सुरु भएको छ । यसले राष्ट्रिय राजनीति नै तरंगित भएको छ ।

झा नेपाली कांग्रेस निकट मानिन्छन् । उनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा सांसद आरजु देउवा निकट रहेको बताइन्छ । शुक्रबार झा पक्राउ परेसँगै देउवा शनिबार नै पत्नी आरजुलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीसँग कुरा गर्न पुगेका थिए । आइतबार मात्रै ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान शीर्ष दुई नेताबीच छलफलपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको थियो । 

स्रोतका अनुसार आइतबार र शनिबार शीर्ष नेताहरुबीच भएको भेटमा यही विषयमा चर्चा भएको थियो । गृहमन्त्री लामिछानेले आरजु देउवासहितका फाइल खोल्ने चेतावनी दिइरहेको बेला यतिबेला राष्ट्रिय राजनीतिमा झा पक्राउको विषयलाई लिएर राष्ट्रिय राजनीति तरंगित भएको छ । स्रोतले भन्यो, 'बाहिर जे आए पनि शनिबार र आइतबारको भेटमा शीर्ष नेताहरुबीच यसै विषय(नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ) मा चर्चा भएको हो ।' 

हुन पनि पनि बानेश्वर घर भएका झा कांग्रेस निकट मानिन्छन् । त्यसमा पनि आरजु देउवासँग झाको राम्रो सम्बन्ध रहेको बताइन्छ । यसअघिको बयानका क्रममा अभियुक्त रामशरण केसीले झालाई २ करोड चेक लिएको भनी पोलेका थिए । बयानका क्रममा केसीले भनेका थिए, ‘मन्त्रिपरिषदबाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

झा पक्राउ परेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस सक्रिय भएपछि नक्कली शरणार्थी प्रकरण 'ठूला माछा'सम्म पुग्न सक्ने चर्चा भइरहेको छ । तर यस मुद्दासँग नजिक एक नेता भने यो बार्गेनिङ टुल्स मात्र भएको बताउँछन् । उनी भन्छन्, 'यो एउटा बार्गेनिङ टुल्स हो । चाँडै सेलाउँछ ।'