शीर्षकहरू

हिमालयन एभरेष्टले तीन महिनाको तलब भत्ता दिएर सीईओलाई हटाएको खुलासा

हिमालयन एभरेष्टले तीन महिनाको तलब भत्ता दिएर सीईओलाई हटाएको खुलासा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहलाई तीन महिनाको तलव भक्ता दिएर पदमुक्त गरेको रहस्य खुलेको छ । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ विजयबहादुर शाहसँगको करार सम्झौता भंग गर्ने निर्णय गरेको थियो । त्यसपछि विहीबारदेखि नै शाह कम्पनीको सीईओबाट पदमुक्त भएका छन् ।

यसरी कार्यकाल नसकिदैं एकतर्फी रुपमा कम्पनीले शाहलाई पदमुक्त गरेको विषय अहिले विवादित छ । तर, त्यस बापत कम्पनीले शाहलाई तीन महिनाको तलव भक्ता दिएको विषय बाहिरीएको छ  । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस विषयमा दुवै पक्षसँग सामान्य जानकारी लिदाँ यस्तो देखिएको हो ।

एकतर्फी रुपमा कम्पनीको सीईआबाट हटाइएप्छि शाहले गत शुक्रबार प्राधिकरणमा निवेदन दिएका थिए । त्यसपछि प्राधिकरणले यस विषयमा सामान्य सोधपुछ गर्दा कम्पनीले क्षतिपुर्ति बापत तीन महिनाको तलव भत्ता दिएको देखिएको हो । कम्पनीका एक उच्च अधिकारीले पनि करार सम्झौता भंग गरेबापत शाहलाई क्षतिपुर्ति दिएको जानकारी दिए ।

यद्यपि, बीमा ऐन, २०७९ अनुसार सीईओलाई पदबाट हटाउँदा कानुनी प्रक्रिया भने नपुगेको देखिन्छ । बीमा ऐन, २०७९ को दफा ५७ अनुसार सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा जुनसुकै बखत पदबाट हटाउन सक्नेछ । तर, त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनु पर्ने ऐनमा उल्लेख छ । तर, यस अनुसार कम्पनीले शाहलाई स्पष्टीकरण सोध्ने मौका दिएको थिएन ।

शाहले सोही बिषयलाई टेकेर प्राधिकरणमा उजुरी हालेका थिए । प्राधिकरणका स्रोतका अनुसार शाहले कम्पनीले सफाई पेश गर्न मौका नदिई पदबाट हटाएको भन्दै निवेदन दर्ता गरेका छन । साथै, यसमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि भनेका छन् । तर, क्षतिपुर्ति बापत ३ महिनाको तलव भक्ता बुझेको देखिएपछि प्राधिकरणले उक्त निवेदनमा थप कारवाही अघि नबढाउने त्यहाँका एक उच्च अधिकारीेले बताए ।

शाह र कम्पनीबीच भएको करार सम्झौता पत्रको एउटा बुँदा कम्पनीले शाहलाई पदमुक्त गर्नुपर्ने भएमा तीन महिना अघि अग्रीम सुचना दिनुपर्ने उल्लेख छ । शाहलाई त्यो अनुसार अग्रिम सुचना दिइएको थिएन । तर, सोही बुँदामा तीन महिनाको अग्रीम सुचना नदिएमा क्षतिपुर्ति बापत आगामी तीन महिनाको तलव भक्ता दिएर सीईओलाई हटाउन सकिने व्यवस्था छ । सोही अनुसार कम्पनीले शाहलाई तीन महिनाको तलव भत्ता दिएको देखिएको प्राधिकरणका एक उच्त अधिकारीले बताए । त्यो अवस्थामा प्राधिकरणबाट यस बिषयमा थप कारवाही अघि बढाउन नसकिने उनको भनाइ छ ।

प्राधिकरणका कानुन शाखा प्रमुख तथा उप निर्देशक शाम्भराज लामिछानेले पनि उक्त निवेदनमाथि प्राधिकरणलाई थप कारवाही अघि बढाउने अधिकार नभएको बताए । ‘उहाँ (शाह) को उजुरी आएको छ । तर, म कहाँ त्यो उजुरी आइसकेको छैन,’ उनले भने, ‘तर, त्यस्तो उजुरीमा व्याख्या गर्ने अधिकार प्राधिकरणलाई छैन । तर, उहाँ अदालती प्रक्रियामा भने जान सक्नुु हुन्छ ।’
 
यता शाह पनि अदालत जाने योजनामा रहेको बताइएको छ । उनी निकट एक व्यक्तिले शाह अदालतको प्रक्रियामा जाने योजनामा रहेको बताए । ‘हामीले प्राधिकरणमा उजुरी हालीसकेका छौं । तर, प्राधिकरणले त्यसमा सही रेस्पोन्स गरेन । सायद, अब उहाँ अदालतको प्रक्रियामा जानु हुन्छ होला,’ उनले बताए ।

शाहले यस सम्बन्धमा सर्वाेच्च अदालतमा रिट हाल्न सक्नेछन् । त्यसपछि सर्वाेच्चले करार सम्झौता पत्र, बीमा ऐन लगायतका आधारमा उचित आदेश दिन सक्नेछन् । शाह फागुन ०७८ मा तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा नियुक्त भएका थिए । त्यसबेला कम्पनी एभरेष्ट इस्योरेन्ससँग मर्जरमा जाने तयारीमा थियो ।

उक्त दुई कम्पनीले मर्जर प्रक्रिया पुरा गरेर १ साउन ०७९ देखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । त्यसपछि २०७९ साउन १ गतेदेखि नै लागू हुने गरेर शाहलाई सीईओ नियुक्त गरिएको थियो । तर, दुई बर्ष कार्यकाल बाँकी हुँदै उनलाई पदबाट हटाइएको छ । उनलाई पदमुक्त गरेसँगै कम्पनीले डीसीईओ अञ्जु श्रेष्ठलाई निमित्त सीईओ तोकेको छ ।