शीर्षकहरू

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा साउन ६ गते हुने

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा साउन ६ गते हुने

काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले साउन ६ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही, बुटवलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 
सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै, आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ । बोनस शेयर जारी गर्दा कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम हुने गरी कम्पनीको नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट ऋण सीमा स्वीकृतिको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको भत्ता र अन्य भत्ताहरूको पुनरावलोकन गर्ने सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ ।