शीर्षकहरू

सिवाईसी लघुवित्तमा अनियमितता भएको भन्दै राष्ट्र बैंकमा उजुरी

सिवाईसी लघुवित्तमा अनियमितता भएको भन्दै राष्ट्र बैंकमा उजुरी

काठमाडौं । सिवाईसी लघुवित्तमा अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । सिवाईसी लघुवित्तका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध संचालक डोलेन्द्र शर्माले झुटा बिल पेश गरेर करोडौं अनिमियतता गरेको शेयरधनीले राष्ट्र बैंकमा बुझाएको उजुरीमा उल्लेख छ ।  

उजुरीका अनुसार राजनीतिक लाभ उठाउन नेताकी चेलीलाई महिला संचालक बनाउन ऐन विपरित काम गरेको, संचालक र सीइओबाट राजिनामा दिएर बसेपनि संस्था प्रमुखकै रुपमा काम गरिरहेको छन् । त्यस्तै, साधारण शेयरधनीको हैसियत भएपनि संस्था प्रमुखले पाउने सेवा सुविधा र अधिकार प्रयोग गरिरहेको डोलेन्द्र शर्माले अध्यक्ष र निमित्त सीइओलाई प्रयोग गरेर चरम आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ ।  

डोलेन्द्र शर्मा आफु प्रबन्ध सञ्चालक हुँदा गरेका अनियमितता लुकाउन नियम विपरित निमित्तको भरमा संस्था चलाएको आरोप  लगाइएको छ । कम्पनीमा १९ वटा नखोलिएका संस्था खोलेको भनेर खर्च देखाइएको, सञ्चालक र प्रबन्ध संचालकले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाईएको उजुरीमा उल्लेख छ । जसले गर्दा २०७९ बैशाखमा ९ करोड फाइदा देखाइएको सिवाइसी लघुवित्त असारमा घाटामा गएको उजुरीपत्रमा उल्लेख छ । 

लघुवित्त अधिक ऋणलाई इभर ग्रिन गरिएको, आफन्त तथा नजिककालाई दिएको तर उठ्न नसकेको कर्जालाई लुकाइएको, प्रबन्ध संचालक डोलेन्द्र शर्माले महिनाभरि अर्थात ३६५ दिनकै भ्रमण भत्ता लिएको राष्ट्र बैंकमा दिएको उजुरीमा  आरोप लगाइएको छ । 

बिशेष साधारणसभाबाट संचालक चयन गरिएको महिलालाई  सपथ नै नखुवाई ३५ दिन अगावै हटाएर नेताकी चेलीलाई महिला संचालक बनाइएको आरोप लगाइएको छ । भारत रहेकी महिलालाई विशेष साधारण सभाबाट सञ्चालक बनाईएपनि उनलाई सपथ नै नखुवाई ३५ दिन अगावै मुना देवी खनाललाई संचालक बनाइएको थियो। यसरी संचालक बनाईनु बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन विपरित भन्दै कम्पनीका शेयरधनीले उजुरी दिएका छन् ।