शीर्षकहरू

पशुपतिमा पूजा सामग्री बेचेरै मासिक दुई लाख कमाइ

पशुपतिमा पूजा सामग्री बेचेरै मासिक दुई लाख कमाइ

रात नउघ्रिँदै ब्युँझिन्छिन् संगीता मराठा । घरधन्दा भ्याउँछिन् र सूर्य नउदाउँदै जोरपाटीबाट लम्किन्छिन् पशुपतितर्फ ।

बिहान ६ नबज्दै खुलिसक्छ पशुपति परिसरमा रहेको उनको पूजा सामग्रीको पसल । बाटोबाटै प्रष्ट देखिन्छ पसलमा राखिएका फूल, माला, रुद्राक्ष, मूर्ति, दुना, टपरी, प्रसाद अनि फ्रेम गरेर राखिएका तस्वीर– पशुपतिनाथको चिनो । पशुपतिमा आउने भक्तजनलाई ढुक्छिन्, पूजा सामग्री बेच्छिन् । ३४ वर्षीया मराठाको दैनिकी यतै बित्छ । यसैगरी बित्छ ।

२२ वर्षभन्दा बढी समय भयो उनले यो ठाउँलाई पछ्याएको । पहिले उनकी आमा यहाँ व्यापार गर्थिन् । त्यसबेला आमालाई सघाउने उनी अब आफैँले त्यसको जिम्मेवारी सम्हालिरहेकी छन् ।

उसो त उनले १२ कक्षासम्म पढेकी छन् । तर उनलाई कहिल्यै जागिरमा रुचि भएन । उनको आकर्षण व्यापारमै छ । जागिरमा रहर होस् पनि किन? उनी यहाँ भक्तजनलाई पशुपतिनाथको पूजा सामग्री बेचेरै मासिक २ लाख रुपैयाँसम्म कमाउँछिन् । कसले दियोस् उनलाई यत्तिको तलबमा जागिर काठमाडौंमा ? भन्छिन्, 'जात्रा, पर्वलगायत भएका महिनामा त साढे दुई लाखभन्दा बढी कमाइ हुन्छ, नभए पनि डेढदेखि दुई लाख घटेको छैन ।' 

उनलाई उनका श्रीमानले सघाइरहेका छन् । ७ जनाको परिवार यसै पसलबाट चलेको छ उनको । यतिमात्रै होइन, अब त उनले तीन जनालाई जागिर पनि दिएकी छिन् । यसले उनलाई पनि व्यापारमा सहज भएको छ, थोरैले भए पनि काम पाएका छन् ।

यसरी उनले घरव्यवहार र पसल दुवै एकैसाथ चलाइरहेकी छिन् ।  तर पछिल्लो समय व्यापार केही खस्किएकोमा चिन्तित भने उनी छिन् । 'हामीहरुले भक्तपुरबाट पाला ल्याउँछौँ । तर होलसेल व्यापारीहरुले मन्दिरकै पाला उठाउने र घिउ भर्ने गरेर सस्तोमा बेच्ने गरेका छन् । यसैले पनि ग्राहकहरु उता आकर्षित भएका छन्, जता सस्तो देख्यो उतै ग्राहक दौडिने प्रवित्तिले व्यापारमा समस्या खेप्नु परेको छ,' उनी भन्छिन् ।

तर पनि उनलाई जागिर खानु भने छैन, आफैँ केही गर्न सुझाव दिन्छिन् । भन्छिन्, 'व्यापार गरे आफ्ना लागि भयो, आफ्नो भयो । जागिर खायो, महिना दिन कुर्‍यो । त्यो पनि कहिले के हो थाहा हुँदैन ।'