शीर्षकहरू

नेपालमा एकै वर्ष वायु प्रदुषणका कारण ४८ हजार ५०० ले गुमाए ज्यान

नेपालमा एकै वर्ष वायु प्रदुषणका कारण ४८ हजार ५०० ले गुमाए ज्यान

काठमाडौं । हेल्थ इफेक्ट इन्स्टिच्युट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन  संस्थाले युनिसेफसँगको सहकार्यमा गरेको अध्ययनको प्रतिवदेन सार्वजनिक भएको छ । स्टेट अफ ग्लोबल एयर २०२४ नामक उक्त रिपोर्टअनुसार वायु प्रदुषणका कारण ज्यान गुमाउनेको संख्या बण्दै गएको छ ।
      
उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उक्त रिपोर्टमा बताइएको छ ।

वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार ५०० मानिसको मृत्यु भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार १०० थियो ।

विश्वभरि वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पीएम २.५ अर्थात धूलो धुँवामा मिसिएका विषाक्त वायुका कारण ५८%, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६% को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ ।

विश्वभरि उच्च रक्क्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।

वायु प्रदूषणको मुख्य कारणमध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम् प्रयोग भएको बताइएको छ । यीबाहेक खुल्ला ठाउँमा फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनर्, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण भएको हेल्थ इफेक्ट इन्स्टिच्युट एवम् हेल्थ मेट्रिक्सले बताएको छ ।

वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, दिर्घ रोगीहरु, महिला आदि बढी जोखिममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।