शीर्षकहरू

ओपेक फण्डबाट साढे तीन अर्ब ऋण लिँदै ग्लोबल आईएमई बैंक

ओपेक फण्डबाट साढे तीन अर्ब ऋण लिँदै ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंकले ओपेक फण्डबाट करिब साढे तीन अर्ब रुपैयाँ ऋण लिने भएको छ । बुधबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यबीच ऋण आदानप्रदानका विषयमा सम्झौता भयो ।

सम्झौताअनुसार ओपेकले ग्लोबल आईएमई बैंकलाई २५ मिलियन डलर (३ अर्ब ३४ करोड १० लाख रुपैयाँ) ऋण दिनेछ । यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बताइएको छ ।

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन् । 

“नेपालमा लघु, साना तथा मझौला व्यवसायहरु र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरुलाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यी क्षेत्रहरु दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्नेछ,” अल्खलिफाले भने । 

“यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गर्नेछ,” ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए।

ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरुमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।