शीर्षकहरू

इन्जिनियरिङ कलेजमा उर्जामन्त्री बस्नेत

इन्जिनियरिङ कलेजमा उर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्र तथा विदेशी लगानीलाई प्रोत्साहन गर्दै आफुलाई त्यसमा केन्द्रित गरेको बताएका छन् । मङ्गलवार  हाइड्रो इन्जिनियर समेत  उत्पादन गर्ने कलेज हिलसाइड कलेज अफ इन्जिनियरिङको निरीक्षण भ्रमणको क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

उनले सरकारले नीतिगत व्यवस्था लगायत प्रक्रियागत सरलीकरण गरी जलविद्युतमा लगानीलाई आकर्षण गर्न महत्त्वपूर्ण काम गरिरहेको बताए ।  तर,  सो को पर्याप्त जानकारी  हुन नसकेको कारण युवाहरूमा निराशा आएको उनले दाबी गरे । उनले भने, “राम्रो कार्यहरूको सही ढङ्गले प्रचार गर्दै नेपालमै बसेर धेरै  काम गर्न सकिन्छ र  धेरै काम गर्न बाँकी छ, त्यो अरू कसैले गर्ने होइन तपाईँ हामीले नै गर्ने हो भन्ने  सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।”

सो अवसरमा समृद्ध नेपाल निर्माणका लागि प्राकृतिक उपहारको रुपमा रहेको मूलतः हिउँको श्रोत भएको पानीको उपयोग गर्नको लागि आवश्यक  प्राविधिक जनशक्तिहरू सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ सम्बन्धी स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको मन्त्रीलाई जानकारी गराइएको थियो ।  प्रिन्सिपल ई. डा. समित थापाले कलेजले अध्ययन अध्यापनको साथसाथै विद्यार्थीहरूलाई इन्टर्नसिप र जब प्लेसमेण्टमा समेत सहयोग गरिरहेको जानकारी दिएका थिए ।

कलेजले  विभिन्न निजी तथा सरकारी निकायहरूसँग सम्झौता गरेर काम गरिरहेको र यो अवधिमा दुई वटा इण्टरनेशनल कन्फिडेन्स सम्पन्न गरेको पनि जानकारी दिइएको थियो । विगतमा "ऊर्जा सङ्कट र समाधानका उपायहरू" विषयक अन्तरक्रिया कार्यक्रम गरी सो क्रममा प्राप्त सुझाव ऊर्जा मन्त्रालयमा पेस गरिएको र ती मध्ये अधिकांश सुझावहरू कार्यान्वयन भएको स्मरण गराइएको थियो ।

प्रिन्सिपल थापाले अहिले हिलसाइड कलेजले छुट्टै रिसर्च सेन्टर स्थापना गरी कलेजका विद्यार्थी, फ्याकल्टी तथा विषय विज्ञलाई समावेश गरी सम्भाव्यता अध्ययन गराउन अरुण काबेली हाइड्रो ग्रुपसँग सहकार्य गरिसकेको ब्यहोरा पनि जानकारी गराएका थिए ।

त्यसैगरी उक्त कम्पनीले नयाँ प्रोजेक्टहरूको अध्ययन गर्ने, डिपिआर तयार गर्ने, नक्सा डिजाइन तयार गर्ने र निर्माण भैसकेका परियोजनाहरूको नियमित मर्मत सम्भार गरी अरबौँ रुपियाँ बिदेसिनबाट रोक्न प्रयास भइरहेको पनि जानकारी गराइयो । नेपालमा इन्जिनियरिङ र मेडिकल कार्यक्रमहरूको अध्ययन, अध्यापन उत्कृष्ट भएकोले र पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गरी समसामयिक बनाइएकोले नेपाली विद्यार्थी मात्रै  होइन विदेशी विद्यार्थीको लागि समेत शैक्षिक हब  बनाउन सम्भावना रहेको हुँदा सरकारले वातावरण बनाइदिन आग्रह गरिएको थियो ।

मन्त्री बस्नेतज्यूले हिलसाइड कलेज अफ इन्जिनियरिङले गरिरहेको प्रयासको उच्च प्रशंसा गर्दै भने “१० वर्षमा १५ हजार मेगावाट क्षमताको हाइड्रोपावर विकास गर्ने लक्ष्य  लिएको हुँदा त्यसको निम्ति आवश्यक पर्ने हजारौँ सङ्ख्याको जनशक्ति उत्पादन गर्न नेपालका विश्वविद्यालय तथा कलेजहरू तयार रहनुपर्ने आजको आवश्यकता हो ।" अहिले नै प्राविधिक जनशक्ति अपुग भइरहेको अवस्थामा नेपालमा जे पढे पनि रोजगारी पाइँदैन, त्यसैले यता पढ्नुभन्दा विदेश नै जानु बेश भन्ने किसिमको नकारात्मक धारणाको विकास भइरहेकोले धेरै विद्यार्थीहरू खरबौँ रकम लिएर विदेश पलायन हुँदा केही वर्षमै दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरा बढेकोले सरोकारवालाहरू बीच यसको समाधानको विषयमा खरो छलफल गरी निकास निकाल्नुपर्ने उनको धारणा रहेको थियो ।

कलेजको तर्फबाट रिसर्च कोअर्डिनेटर डा. रामहरि पौडेलले नेपालको ऊर्जा  क्षेत्र सम्बन्धी पेस गर्नुभएको  कार्यपत्र माथि टिप्पणी गर्दै  ऊर्जा मन्त्रीले अबको १२ वर्षमा २८,५०० मेगावाट  क्षमताको हाइड्रोपावर निर्माण गर्ने सरकारको लक्ष्य रहेको हुँदा सिभिल, इलेक्ट्रीकल, मेकानिकल र कम्प्युटर इन्जिनियरहरूको लागि ठूलो अवसर हुने बताए ।  उनले अगाडी थपे, “तर, त्यो बेला जनशक्तिको खाँचो हुनसक्ने सम्भावना टड्कारो रुपमा देखिँदै छ, यस बारेमा ठोस सल्लाह सुझाव प्राप्त गरी हालको सरकारी नीतिमा समेत पुनर्विचार गर्नुपर्ने हुन्छ ।“