शीर्षकहरू

आज बजेट पारित गर्दै सरकार

आज बजेट पारित गर्दै सरकार

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्ने तयारी गरिएको छ ।

संघीय संसद सचिवालयको पाक्षिक संसदीय क्यालेन्डरअनुसार प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बजेट पास गर्नुअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको जवाफपछि बजेट पास गर्ने तयारी गरिएको छ । अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न नेकपा एमाले, माओवादी‍ र नेकपा एसले ह्विप जारी गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । सरकारले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१  प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४  प्रतिशत विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।