शीर्षकहरू

ठूला बीमा कम्पनीमा नै सबैभन्दा बढी लघुबीमा कारोबार, लघुबीमा कम्पनीकै व्यवसाय भने कति ?

ठूला बीमा कम्पनीमा नै सबैभन्दा बढी लघुबीमा कारोबार, लघुबीमा कम्पनीकै व्यवसाय भने कति ?

काठमाडौं । नेपालमा लघुबीमा कारोबार गर्न छुट्टै कम्पनी सञ्चालनमा छन् । चार निर्जीवन र चार जीवन लुघबीमा कम्पनी गरेर सात वटा लघुबीमा कम्पनी चालु आर्थिक बर्ष २०८०/८१ बाट सञ्चालनमा छन् । यसरी लघुबीमा कम्पनी नै सञ्चालन हुदाँ पनि ठुला बीमा कम्पनीहरुले पनि लुघ बीमाको कारोबार कायमै राखेका छन् । 

चालु आवको जेठ महिनासम्म मात्रै ११ निर्जीवन बीमा कम्पनीले एक करोड ७४ लाख २३ हजार रुपैयाँ बराबरको लघुबीमा कारोबार गरेका छन् । लघु बीमा अन्तरगत उनीहरुले १९ हजार २३२ वटा पोलिसी बिक्री पनि बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आवको जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यसमा जीवन बीमा कम्पनीको तथ्यांक समावेश छैन । 

यद्यपि, ठूला निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमा यसको हिस्सा एक प्रतिशतभन्दा पनि कम छ । जेठ मसान्तसम्म ठूला बीमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यसमा लघुबीमा मार्फत संकलन भएको बीमा शुल्कको हिस्सा ०.०४ प्रतिशत मात्रै छ । 

बीमालेख संख्याको आधारमा यसको हिस्सा ०.७३ प्रतिशत देखिन्छ । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २६ लाख ८ हजार ७९२ वटा पोलिसी बिक्री गरेका छन् । त्यसमा १९ हजार २३२ वटा मात्रै लघुबीमाको पोलिसी रहेको छ । 
हाल नेपालमा १४ वटा ठूला निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा ११ वटा निर्जीवन कम्पनीले लघुबीमाको पनि कारोबार गरेका छन् । यद्यपि, उनीहरुलाई लघुबीमाको कारोबार गर्न कुनै रोक भने छैन । तर, यसले लघुबीमा कम्पनीहरुलाई भने चुनौती थपेको विज्ञहरु बताउँछन् । 

ठूला कम्पनी मध्ये सबै भन्दा धेरै लघुबीमा कारोबार शिखर इन्स्योेरेन्सले गरेको छ । संख्याको आधारमा यो कम्पनीले धेरै लघुबीमाको पोलिसी बिक्री गरेको छ । समिक्षा अवधिमा उक्त कम्पनीले १२ हजार २२० वटा लघुबीमाको पोलिसी बिक्री गरेर १७ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । 

रकमका आधारमा भने नेको इन्स्योरेन्स अग्र स्थानमा छ । समिक्षा अवधीमा उसले १ करोड २३ लाख १८ हजार रुपैयाँ बराबरको लघुबीमा कारोबार गरेको छ । ५ हजार ५०१ वटा मात्रै पोलिसी बिक्री गरेर कम्पनीले सो बराबरको बीमाशुल्क संकलन गरेको हो । बीमांकको आकार फरक फरक हुने भएकाले शुल्क पनि फरक फरक लाग्छ । त्यो अवस्थामा पोलिसी संख्या थोरै भएपनि बीमाशुल्क धेरै हुन सक्छ । पोलिसी संख्या धेरै हुदाँ पनि बीमाशुल्क कम संकलन हुन सक्छ । 

समिक्षा अवधीमा दि ओरिएन्टलले १४, नेशनलले ४, प्रभुले ७३५, एनएलजीले ३६, हिमालय एभरेष्टले २, सानिमा जिआईसीले १४४, सिद्धार्थ प्रिमियरले २२२, सगरमाथा लुम्बिनीले २८१ र युनाइटेड अजोडले ७३ वटा लघुबीमाको पोलिसी बिक्री गरेका छन् ।

 त्यसमा ओरिएन्टलले ३६ हजार, नेसनलले १ हजार, प्रभुले १६ लाख ३३ हजार, एनएलजीले ७ हजार, हिमालयन एभरेष्टले १ हजार, सानिमा जिआईसीले ३ लाख ३८ हजार, सिद्धार्थ प्रिमियरले ५ लाख ३ हजार, सगरमाथा लुम्बिनीले ६ लाख ४८ हजार र युनाइटेड अजोडले १ लाख ४२ हजार रुपैयाँ बीमशुल्क संकलन गरेका छन् । 

लघुबीमा कम्पनीकै व्यवसाय कति ? 
समीक्षा अवधिमा लघुबीमा नै गर्ने ४ निर्जीवन लघुबीमा कम्पनीले भने २३ करोड ९१ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कुल १ लाख ४ हजार २७९ वटा पोलिसी बिक्री गरेर सो बराबरको बीमाशुल्क संकलन भएको तथ्यांकमा उल्लेख छ । 

हाल नेपालमा ४ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ४३ हजार १९७ वटा पोलिसी बिक्री गरेर ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरि प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स कम्पनीले २५ हजार १३५ वटा पोलिसी बिक्री गरेर ७ करोड ४९ लाख १३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले भने ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधीमा उक्त कम्पनीले २६ हजर ५८९ वटा पोलिसी बिक्री गरेको छ । 

यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले दुई करोड २० लाख ६९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा यो कम्पनीले ९ हजार ३५८ वटा पोलिसी बिक्री गरेको छ । यसरी समीक्षा अवधिमा कुल २५ करोड ६५ लाख ४२ हजार रुपैयाँको लघु निर्जीवन बीमा व्यवसाय भएको छ । त्यसमा १ लाख २३ हजार ५११ वटा पोलिसी बिक्री भएको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधिमा कुल निर्जीवन बीमाशुल्क संकलन भने ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसैगरि पोलिसी बिक्री संख्या भने २७ लाख १३ हजार ७१ वटा  भएको तथ्यांकमा उल्लेख छ ।