शीर्षकहरू

विगतमा कडा नीति तय गर्न बाध्य थियौँ, आगामी वर्ष नरम मौद्रिक नीति आउँछ : गभर्नर

विगतमा कडा नीति तय गर्न बाध्य थियौँ, आगामी वर्ष नरम मौद्रिक नीति आउँछ : गभर्नर

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको हितलाई शिरमा राखेर साउनको दोस्रो साता भित्र मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आम व्यवसायीको भावना समेटेर र राष्ट्र बैंकको कार्य क्षेत्रभित्र रहेर मौद्रिक नीति तय गरिने बताएका छन् । उनले विगतमा कडा मौद्रिक नीति तय गर्न बाध्य भएको बताउँदै अब नरम हुँदै  गइरहेको र आगामी आवको मौद्रिक नीति पनि नरम आउने संकेत गरे । उनले भने, 'विगतमा केही समय निकै कडा मौद्रिक नीति तय गर्न हामी बाध्य थियौँ। सन् २०७९र/८० को तेस्रो त्रैमास अघि हामी डेढ वर्ष कडा ढंगले प्रस्तुत भयौं। तर, त्यसपछि भने क्रमशः केही नरम हुँदै गइरहेका छौँ।'

कोभिड महामारीबाट पहिलो वर्ष नै रिकभरीमा आए पनि फेरि खस्किएको उनको भनाइ थियो । उनले भने, 'केहीले त कमाए होला। बजारमा टेस्लको संख्या बढेको छ तर आम रूपमा अर्थतन्त्र शिथिल छ। '

युवा विदेशिएको, उपभोक्ता नभएको र निर्माण क्षेत्र डामाडोल भएकाले त्यसले नै पनि शिथिलता देखाइरहेको उनले बताए । यी सबै कुरालाई ध्यानमा राखेर बजेट आएको छ बताउँदै बजेटलाई सहयोग गर्ने नै मौद्रिक नीति आउने भनाइ उनको थियो ।

'मौद्रिक नीतिको अर्को काम भनेको वित्तीय क्षेत्रको स्थिरता हो । हामीले अहिले संकटको बेलामा पनि व्यवसायी धानेका बैंकहरुले राम्रो काम गरिरहेका छन् । त्यसलाई सहज बनाउनुपर्ने छ,' उनले भने ।

बाह्य क्षेत्र भने राम्रो भएको दाबी उनले गरे । 'बाह्य क्षेत्र राम्रो छ । त्यसले धेरै अवसर दिएको छ। यहाँ एउटा फ्ल्याट नै २४ करोडका समेत किनबेच भइरहेको छ। यसले स्थिति बिग्रिएको छैन भन्ने देखाएको छ,' उनले भने । व्यवसायीहरुलाई नयाँ र रचनात्मक ढंगले काम गर्न पनि उनले आग्रह गरे ।