शीर्षकहरू

एनआईसीको अफर : असारभित्र किस्ता तिरे ३५ प्रतिशतसम्म ब्याज छुट

भाखा नाघेको धेरै समय भएका ग्राहकलाई बढी छुट

एनआईसीको अफर : असारभित्र किस्ता तिरे ३५ प्रतिशतसम्म ब्याज छुट

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक शिथिलताका कारण ऋण लिने ग्राहकमा असर परेको भन्दै त्यो असरलाई न्यूनीकरण गर्न ब्याज छुट योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार सूचना सार्वजनिक गरी २०८० चैत्र मसान्तसम्म कर्जा नतिर्ने ग्राहकका लागि असार मसान्तभित्र ब्याज किस्ता तिरे ३५ प्रतिशतसम्म ब्याज छुट दिने बताएको छ ।

बैंकले किस्ता उठाउन भाखा नाघेको बढी समयावधि भएका ग्राहकलाई बढी छुट दिएको छ । ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेकालाई १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म भाखा नाघेकालाई २५ प्रतिशत र भाखा नाघेको ३६५ दिनभन्दा बढी भएका ग्राहकलाई ३५ प्रतिशत ब्याज छुट दिने बताएको छ ।

यस्तो अफर मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा लागू हुने बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।'

यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने र देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरण हुने विश्वास बैंकले लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले बताएका छन् ।