शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सूर्योदय वोमी लघुवित्तको ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ । यस अधि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असार १० गतेदेखि विक्रीमा आएको हो । 

प्रतिकित्ता ३०८ रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले असार १७ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले कम्पनीले प्रस्ताव गरेको १४ दशमलव शून्य ७७ प्रतिशत बोनस शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । 

साथै असार १० गतेपछि कम्पनीले हकप्रद शेयर वा लाभांश घोषणा गरेमा सो समेत प्राप्त गर्न यी शेयर खरीदकर्ता योग्य हुने भनाई कम्पनीको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । 

यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौं वा शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ ।