शीर्षकहरू

कोशी प्रदेशका उद्योग ४१.७ प्रतिशत क्षमतामा मात्रै सञ्चालन

कोशी प्रदेशका उद्योग ४१.७ प्रतिशत क्षमतामा मात्रै सञ्चालन

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरुको क्षमता उपभोग बढेको छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण मागमा कमी आउँदा उद्योगहरु कम क्षमतामा सञ्चालन भइरहेका छन् । त्यो अवस्थामा कोशी प्रदेशका उद्योगहरुको क्षमता उपभोग सामान्य बढेको हो । 

चालु आवको पहिलो ६ महिनामा त्यहाँका उद्योगहरु औसत ४१.७ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । गत आवको सोही अवधिमा त्यहाँका उद्योगहरु औसत ४०.९ प्रतिशत क्षमतामा सञ्चालन भएका थिए । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–बार्षिक आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । 

राष्ट्र बैंकले बिभिन्न ४३ उद्योगहरुलाई अध्ययनमा समावेश गरेको थियो । त्यसको आधारमा यस्तो आँकडा देखिएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान बिभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । 

विशेषगरी चप्पल, टायर तथा ट्युव, जिआई तार, विस्कुट, चिनी आदि उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा बद्धि भएको राष्ट्र बैंकको भनाइ छ । सोही कारण उद्योगहरुको औसत क्षमता उपयोगमा समेत केही वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरु क्रमशः चप्पल, तोरीको तेल, चाउचाउ, प्रशोधित चिया, विस्कुट र जुटका सामान उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन । समीक्षा अवधिमा चप्पल उद्योग ७८.८ प्रतिशत, तोरीको तेल बनाउने उद्योग ७७.१ प्रतिशत, चाउचाउ उद्योग ७४.२ प्रतिशत, प्रशोधति चिया उद्योग ७३.८ प्रतिशत, बिस्कुट उद्योग ७० प्रतिशत, जुटका सामान बनाउने उद्योग ६७.५ प्रतिशत, धागो उद्योग ६५.१ प्रतिशत, प्लास्टिकका सामान बनाउने उद्योग ६१.३ प्रतिशत, टायर तथा ट्यूव उद्योग ५३.१ प्रतिशत र पशुदाना उत्पादन गर्ने उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन भएको देखिन्छ । 

यस्तै, जिआई तार उद्योग ४६.१ प्रतिशत, सिन्थेटीक कपडा उद्योग ३८.४ प्रतिशत, प्रशोधित दुग्ध उद्योग ३४.२ प्रतिशत, फलामको छड सम्बन्धी उद्योग ३२.५ प्रतिशत, चिनी उद्योग ३०.६ प्रतिशत, चामल उद्योग २३.७ प्रतिशत, सावुन उद्योग २३ प्रतिशत, घरेलु धातुका उद्योग २०.८ प्रतिशत र सिमेन्ट उद्योग १६.३ प्रतिशत क्षमतामा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, कम क्षमता उपयोग गर्ने उद्योगहरुमा वनस्पति घिउ, इट्टा, कच्चा छाला, गार्मेन्ट र भटमासको तेल उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन् । समिक्षा अवधीमा बनस्पती घिउ सम्बन्धी उद्योगहरु ५.९ प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन् । यसैगरि इट्टा उद्योग ८.१ प्रतिशत, कच्चा छाला उद्योग १२ प्रतिशत, गार्मेन्ट उद्योग १४.४ प्रतिशत र भटमासको तेल सम्बन्धी उद्योग १४.५ प्रतिशत क्षमतामा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार अ‍ैसतमा ५० प्रतिशत वा सोभन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरु ११ वटा देखिएका छन् । ५० प्रतिशतभन्दा कम क्षमता उपयोग गर्ने उद्योग समूहहरुको संख्या भने १४ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोशीमा उत्पादनको अवस्था के छ ? 
समिक्षा अवधीम कोशी प्रदेशमा ११ बस्तुको उत्पादन घटेको छ । भटमासको तेल, घरेल धातुको सामान, गार्मेन्ट, सिमेन्ट, चामल, सिन्थेटीक कपडा, सावुन, चाउचाउ, कागज, प्रशोधित चिया र प्रशोधित दुग्धको उत्पादन घटेको छ ।  भटमास तेलको ५५.८ प्रतिशत, घरेल धातुको सामानको ५२.१ प्रतिशत, गार्मेन्टको ५०.३ प्रतिशत, सिमेन्टको ३४.९ प्रतिशत, चामलको १७.२ प्रतिशत, सिन्थेटीक कपडाको १३.२ प्रतिशत, साबुनको ९.२ प्रतिशत, चाउचाउको ८.१ प्रतिशत, कागजको ३.९ प्रतिशत, प्रशोधित चियाको १.६ प्रतिशत र प्रशोधित दुग्धको उत्पादन १.३ प्रतिशतले उत्पादन घटेको छ । 

यी बाहेक १४ बस्तुको उत्पादन बढेको छ । प्लाष्टिकको सामानको ०.६ प्रतिशत, तोरीको तेल ३ प्रतिशत, धागोको ६.६ प्रतिशत, बिस्कुटको ६.७ प्रतिशत, कच्चा छालाको ७.५ प्रतिशत, जुटका सामानको ७.८ प्रतिशत, बनस्पति घिउको १५.८ प्रतिशत, फलामको छड÷पत्तिको १९ प्रतिशत, चिनीको ३५.७ प्रतिशत, चप्पलको ३८.९ प्रतिशत, जिआई तारको ४२ प्रतिशत, पशुदानाको ७३.९ प्रतिशत, टायरको ९७ प्रतिशत र इट्टाको १२८ प्रतिशतले उत्पादन बढेको छ ।

विगतमा नेपाली बजारभन्दा भारतीय बजारमा उत्पादन लागत बढी भएका कारण नेपालबाट भटमासको तेल निर्यात भइरहेको थियो । केही वर्षदेखि भारतीय बजारको उत्पादन लागत कम भएका कारण नेपालमा उत्पादित भटमासको तेल निर्यात गर्न नसकिने अवस्था छैन । त्यसैले यसको उत्पादन घटेको बताइन्छ । 

टायर तथा ट्युव उत्पादन गर्ने उद्योगले उत्पादनमा विविधिकरण गर्दै देशभरी आपूर्ति गर्न थालेका कारण टायर तथा ट्युवको उत्पादन बढेको देखिन्छ । पशुदाना उत्पादन गर्ने उद्योगले नयाँ प्लाण्ट सञ्चालनमा ल्याएका कारण उत्पादन बढेको देखिन्छ । जि.आई. तार, चप्पल, फलामे छड तथा वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरुको आधार अवधिको उत्पादन न्युन रहेका कारण उत्पादनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, उखु किसानले समयमै भुक्तानी पाउन थालेसँगै उखुको उत्पादनमा वृद्धि भएका कारण चिनीको उत्पादन बढेको बताइन्छ । यस्तै, अनियमित विद्युत आपूर्ति, आयातित वस्तुसँगको प्रतिस्पर्धात्मक क्षमतामा कमी, दक्ष कामदारको अभाव, घरेलु बजारमा मागमा आएको कमी तथा गत वर्षको मौज्दात बाँकी रहेका कारण घरेलु धातुका सामान, गार्मेण्ट, सिन्थेटिक कपडा आदिको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख  छ । 

ठूला आयोजनाहरुको निर्माणले गति लिन नसक्नुका साथै सार्वजनिक निर्माणमा आएको कमीका कारण सिमेण्टको उत्पादन घटेको देखिन्छ भने भारतबाट धान आयात गरी चामल उत्पादन गर्नुपर्ने र भारतीय चामलसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकोले मूल्य प्रतिस्पर्धी हुन नसकेका कारण चामलको उत्पादन घटेको प्रतिवदेनमा उल्लेख छ । तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा खासै अन्तर नभएकोले उत्पादन लागत बढ्न गई बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण साबुनको उत्पादन घटेको बताइएको छ । 

समिक्षा अवधिमा यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरुमा १७ हजार ७२० जना श्रमिक कार्यरत रहेका छन् । ्जुन गत वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले बढी हो । गत पहिलो ६ महिनामा त्यहाँ १७ हजार ५५८ जना श्रमिक कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।