शीर्षकहरू

केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैन : श्रममन्त्री अर्याल

केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैन : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी क्षेत्रलाई नराम्रो भन्न नमिल्ने बताएका छन् ।

‘चार खर्बभन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ,' प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले भने, 'पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’

केही व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाई नराम्रो भन्न नमिल्ने मन्त्री अर्यालले बताए । उनले भने, ‘केही मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन् । सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केही व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन ।’

सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नुपर्ने उनले सुझाव समेत दिए । सहकारीले भोलिका दिनमा कसरी काम गर्ने र सहकारीलाई कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनको भनाइ थियो ।