शीर्षकहरू

सहकारी रोजगार मेला सुरु

सहकारी रोजगार मेला सुरु

काठमाडौं । 'मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता' भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीन दिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ । युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गइरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यसक्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उदेश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेलाको उद्घाटन समारोहमा बोल्दै भूमि, व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम अधिकारीले युवाहरुको भावना अनुरुप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाहरुबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे । यसैगरी मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीनवटा सहकारीको संचालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको समेत धारणा राखे । अर्थतन्त्रको एक मुख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो ।

सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मेवारी अबदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए । कार्यक्रमबारे प्रष्ट पार्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर विदेश जाने युवाहरुलाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधासहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् ।

अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमितामा नराखेको गुनासो गरिन् । सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ॠणको व्यवस्थापन सरकारले नगर्दा यसक्षेत्रका किसानहरु विस्थापित हुने अवस्थामा रहेको उनको भनाइ थियो । साथै सहकारीले २५ बढी चिया उद्योग सञ्चालन गदै आएको, दैनिक २५ हजार लिटर बढी दुध उत्पादन गदै आएकोमा त्यसका लागि बजार नभएको सरकारको त्यसतर्फ ध्यानाकार्षण हुनुपर्ने अध्यक्ष मल्लले धारणा राखिन् ।

सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टलहरु रहेका छन् भने मेला अवधिभर पाँच हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाको छ । यसै सन्दर्भमा महासंघले 'सहकारीको वर्तमान रोजगारी स्थिति र भविष्यका संभावना' विषयक कार्यपत्र पनि प्रस्तुत गरेको छ । कार्यपत्र प्रस्तुत गदै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले सहकारी क्षेत्रमा एक लाखले प्रत्यक्ष रोजगारी र १० लाख व्यक्ति अप्रत्यक्ष तथा रोजगार र स्वरोजगार बनेको जानकारी दिइन् ।