शीर्षकहरू

दक्षिणी भारतमा विषाक्त रक्सी सेवन गर्दा तीन दर्जनको मृत्यु

दक्षिणी भारतमा विषाक्त रक्सी सेवन गर्दा तीन दर्जनको मृत्यु

एजेन्सी । दक्षिण भारतको तमिलनाडुमा बिहीबार विषाक्त मदिरा सेवनबाट ३४ मजदुरको मृत्यु भएको छ भने सयभन्दा बढी बिरामी परेका छन् । कल्लाकुरिची जिल्लाको करुणापुरम बस्तीका दैनिक ज्यालादारी मजदुरको एक समूहले बुधबार विषाक्त मदिरा सेवन गरेको बताइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार उनीहरूले मिसावटयुक्त मदिरा ‘प्याकेट अर्क’ सेवन गरेका थिए । सो रक्सीमा मिथानोल मिसिएको कारणले मृत्यु भएको अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले पनि यस क्षेत्रका विभिन्न अस्पतालमा सयभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ ।

राज्यका मुख्यमन्त्री एमके स्टालिनले घटनाको छानबिन गर्न सेवा निवृत्त न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न आदेश दिएका छन्। स्टालिनले मृतकका परिवारलाई भारु १० लाख रुपैयाँ (करिब १२ हजार डलर) दिने घोषणा गरे भने उपचार गराइरहेकाहरूले भारु ५० हजार रुपैयाँ (६०० डलर) पाउनेछन् ।

"कल्लाकुरिची घटना जसले मलाई धेरै पीडा दिएको छ त्यो त्यस्तो हुनु हुँदैन थियो," उनले एक्स (पहिले ट्विटर) मा पोस्ट गरे। स्टालिनको नेतृत्वमा रहेको द्रविड मुनेत्र कझगम (डीएमके) पार्टीको शासनमा किन यस्ता घटनाहरू भइरहेका छन् भन्ने प्रश्न गर्दै विपक्षी राजनीतिज्ञहरूले क्रोधित प्रतिक्रिया दिएका छन्।

सन् २०२३ मा, सोही राज्यको विल्लुपुरम र चेंगलपट्टु जिल्लाहरूमा भएका यस्तै घटनामा २२  जनाको मृत्यु भएको थियो। अवैध मदिरा उत्पादन र बिक्री रोक्न स्थानीय सरकारको ‘असक्षमता’ भन्दै विपक्षी दलले प्रदर्शन गर्ने गरेका छन् । इजाजत पत्र प्राप्त पसलहरूबाट मदिरा किन्न नसक्दा मुख्यतया दक्षिण एसियाली मुलुकका तल्लो सामाजिक-आर्थिक हैसियतका मानिसहरूले नक्कली मदिरा सेवन गर्छन्।