शीर्षकहरू

कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम

कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो । 

कोदोको मःम, सेलरोटी, मदिरा, फापरको रोटी, सिस्नोको सुप, बेलको जुसलगायत स्थानीय स्रोतबाट उत्पादन गरी बजारीकरण सहज बनाइने गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । खाद्य स्वच्छता कायम गर्न ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारालाई व्यावहारिक कार्यन्वयनका लागि कोदोलगायतका स्थानीय उत्पादनलाई बढावा दिन लागिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमले पशु सेवा तथा प्रसार कार्यक्रमअन्तर्गत अध्यक्षसँग पशु कार्यक्रम सञ्चालन गरिने छ । 

घरेलु तथा साना उद्योगतर्फका विभिन्न कार्यक्रम समावेश गरिएको छ । उनले भने, “स्थानीय सीप स्रोत, साधन एवं प्रविधिको प्रयोगलाई बढवा दिई व्यावसायिक उत्पादन गर्न अग्रसर गराउने योजना रहेको छ ।” 

स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटीमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रम गाउँपालिकाले लिएको छ । पर्यटन, सहकारी विकास, बैंक तथा वित्तीय क्षेत्रका विषय समेटिएका छन् । स्वास्थ्य क्षेत्रतर्फ ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई स्वास्थ्यको मूल आधार बनाइएको छ । अपाङ्गता, ज्येष्ठ नागरिक र अन्यतर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडेर अघि बढाइने जनाइएको छ ।