शीर्षकहरू

साइवर सुरक्षामा नेपाल कमजोर, प्राप्ताङ्क २८.५७ मात्रै

साइवर सुरक्षामा नेपाल कमजोर, प्राप्ताङ्क २८.५७ मात्रै

काठमाडौं । साइवर सुरक्षामा नेपालको अवस्था अत्यन्त कमजोर देखिएको छ । इ–गर्भरमेन्स एकेडेमी नामक एक अन्तर्राष्ट्रिय संस्थाले तयार गरेको नेशनल साइबर सुरक्षा सूचकाङ्कमा यस्तो देखिएको हो ।

इ–गर्भरमेन्स एकेडेमीको पछिल्लो तथ्याङ्कले साइवर सुरक्षा सम्बन्धी नेपालको सूचकाङ्क १०० मा २८.५७ मात्रै छ, जसले नेपालमा साइवर सुरक्षा अत्यन्त कमजोर भएको देखाउँछ । स्थानको आधारमा समेत नेपाल १०९ औँ नम्बरमा देखिएको छ ।

यो सन् २०२३ अक्टोबरसम्मको तथ्याङ्कमा आधारित रिपोर्ट हो । त्यो बेला एक नम्बरमा भने बेल्जियम रहेको थियो । त्यसबेला उसको नेशनल साइवर सेक्युरिटी इन्डेक्स ९४.८१ थियो ।जसले उक्त मुलुकमा साइवर सुरक्षा बलियो भएको देखाउँछ।

सन् २०२४ को अद्यावधिक तथ्याङ्कमा भने चेक रिपब्लिक पहिलो स्थानमा छ । अहिले उसको नेशनल साइवर सेक्युरिटी इन्डेक्स ९८.३३ रहेको छ । बेल्जियम भने अहिले १० नम्बरमा झरेको छ, उक्त देशको यस्तो साइवर सेक्युरिटी इन्डेक्स पनि ८० मा झरेको छ । तर, सन् २०२४ मा तथ्याङ्कमा नेपाललाई भने  समावेश गरेको देखिँदैन ।

रिपोर्टमा नेपालको डिजिटल डेभलपमेन्ट लेभल पनि ३०.५८ प्रतिशत मात्रै देखिएको छ । राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको वित्तीय स्थायित्व नामक प्रतिवेदनमा पनि यो विषय उल्लेख गरिएको छ । नेपालमा साइबर सुरक्षालाई बढवा दिन आवश्यक रहेको राष्ट्र बैङ्कले प्रतिवेदनमा उल्लेख गरेको छ ।

इ–गर्भरमेन्स एकेडेमीको वेबसाइटमा प्रकाशित विवरणअनुसार नेपालको ग्लोबल साइवर सेक्युरिटी इन्डेक्स भने ४५ प्रतिशत हाराहारी छ । त्यसमा नेपाल ९४ औ स्थानमा छ ।

यस्तै, नेपालको आइसिटी डेभलपमेन्ट इन्डेक्स भने २९ प्रतिशत मात्रै रहेको छ, त्यसमा नेपालको स्थान भने १४० नम्बरमा रहेको छ । नेपालको नेटवर्क रिडनेस इन्डेक्स भने २ प्रतिशत मात्रै छ, यसमा नेपालको इन्डेक्स भने ११५ औँ नम्बरमा छ । यसरी समग्रमा उक्त तथ्याङ्कले नेपाल साइवर सुरक्षामा कमजोर  रहेको देखाएको छ ।

इ–गर्भरमेन्स एकेडेमीको वेबसाइट अनुसार जनरल साइवर सेक्युरिटी इन्डीकेटर पनि नेपालको कमजोर देखिएको छ । साइवर सेक्युरिटी पोलिसी डेभलपमेन्टमा नेपालले ७ मा शून्य नम्बर पाएको छ । त्यस्तै, साइवर थ्रेट विश्लेषण र सूचनामा पनि नेपालले ५ मा शून्य नम्बर नै पाएको छ । शिक्षा तथा व्यावसायिकता विकासमा ९ मा ६ (६७ प्रतिशत) र ग्लोबल साइवर सेक्युरिटी योगदानमा ६ मा १ (१७ प्रतिशत) अङ्क प्राप्त गरेको छ । 

यसैगरी, बेस लाइन साइवर सेक्युरिटी इन्डीकेटर तर्फ प्रोटेक्सन अफ डिजिटल सर्भिसमा शून्य, प्रोटेक्शन अफ इनीसियल सर्भिसमा १७ प्रतिशत, विश्वसनीय सेवामा ४४ प्रतिशत र व्यक्तिगत तथ्याङ्क सुरक्षामा २५ प्रतिशत मात्रै अङ्क नेपालले पाएको छ ।

यस्तै, साइवर दुर्घटनामा उद्धारमा ५० प्रतिशत, साइवर क्राइसिस व्यवस्थापनमा २० प्रतिशत, साइवर क्राइम विरुद्धको लडाइँमा ४४ प्रतिशत र सैनिक साइवर अप्रेसनमा १७ प्रतिशत अङ्क नेपालले पाएको देखिन्छ ।

नेपालमा साइबर अपराधका घटनाहरू बढ्दै गएका छन् । अनलाइनबाटै वित्तीय ठगी बढ्दै गएको छ । बैङ्क खाताहरू ह्याक गर्ने, सामाजिक सञ्जाल ह्याक गर्ने लगायतका साइवर अपराध नेपालमा भइरहेका छन् । अनलाइनबाट वित्तीय अपराध गर्ने प्रवृत्ति नेपालमा उच्च मात्रामा कायमै  छ । त्यसले गर्दा नेपालमा साइवर सुरक्षा कमजोर रहेको विज्ञहरू बताउँछन् ।

अब नेपालमा साइवर सुरक्षालाई बलियो बनाउँदै लैजानुपर्ने पनि उनीहरू बताउँछन्  । त्यसका लागि  शिक्षा र जनचेतना अत्यन्तै महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।

डिजिटल साक्षरता र जनचेतनाको अभावले मानिसहरूलाई साइबर अपराधको शिकार बनाएको बताइन्छ । त्यसले गर्दा जनचेतना आवश्यक रहेको विज्ञहरू बताउँछन् । साथै,  सरकारले यस क्षेत्रमा नीतिगत स्तरमा पनि सुधार गर्न आवश्यक रहेको विज्ञहरूको भनाई रहेको छ ।