शीर्षकहरू

श्री एयरलाइन्सले गर्यो काठमाडौं–भरतपुर परीक्षण उडान

श्री एयरलाइन्सले गर्यो काठमाडौं–भरतपुर परीक्षण उडान

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । 

श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उनीहरूलाई स्वागत गरेका थिए । 

अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उनले जानकारी दिए । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौं र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा रु चार हजार सात सयभन्दा माथि छ । 

यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उनले जानकारी दिए । भरतपुरबाट काठमाडौं उडान भर्दा ५५ जना र काठमाडौंबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उनको छ ।