शीर्षकहरू

जीबी राई भगाउन गृहमन्त्री लामिछाने नै सक्रिय !

जीबी राई भगाउन गृहमन्त्री लामिछाने नै सक्रिय !

काठमाडौं । बिहीबार भरतपुर विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एउटा सनसनीपूर्ण खबर सार्वजनिक गरे– मलेसियामा जीबी राई रहेको ठाउँ पत्ता लागिसक्यो ।

यो खबरभित्र वास्तवमा अर्को खबर छ, त्यो हो गृहमन्त्रीले सहकारी ठगी प्रकरणका प्रमुख आरोपी राईलाई सुरक्षित रहन दिएको सन्देश । यदि, राईलाई पक्राउ गर्ने नै नियत गृहमन्त्रीको हुँदो हो त पहिले पक्रिन्थे, अनि सार्वजनिक गर्थे । र, समाचारको भाषा हुन्थ्यो– मलेसियामा जीबी राई पक्राउ परिसके, नेपाल ल्याउने तयारी हुँदैछ ।

तर, उनले त्यस्तो भनेनन् । उनले आफूलाई जीबी राई बसेको ठाउँ थाहा भइसकेको र अब पक्रेर नेपाल ल्याउने कुरा गरे । यसको अर्थ हो– जीबी तपाईं बसेको ठाउँ मलेसियाले पत्ता लगाइसक्यो, भाग्नुस् । किनभने यदि, जीबीलाई पक्राउ गर्ने उनको नियत हो भने अनुसन्धानका क्रममा रहेको यति गम्भीर विषय र फरार अभियुक्तलाई सूचना मिल्नेगरी कुनै पनि जिम्मेवार सरकारको प्रतिनिधिले बोल्दैन । बोल्न मिल्दैन ।

तर यहाँ अवस्था फरक छ । यदि जीबी पक्राउ परे भने त्यसको प्रत्यक्ष असर गृहमन्त्री स्वयंलाई पर्नेवाला छ । किनकि तथ्य र प्रमाणले पुष्टि गरिसक्दा पनि उनको इन्कारी बयानले मात्र अहिलेसम्म रवि लामिछाने सहकारी ठगी प्रकरणमा जीबीका मतियार पुष्टि हुन बाँकी छन् । जब मतियारले मुख खोल्छ त्यसपछि उनको बच्ने कुनै उपाय बाँकी रहँदैन । आपराधिक घटनाको यस्तो गम्भीर विषयमा फरार अभियुक्तलाई फाइदा पुग्नेगरी गृहमन्त्रीले दिएको यो अभिव्यक्ति जीबी भगाउने सक्रियताका रुपमा बुझ्न सकिने यथेष्ट कारणहरु छन् । 

प्रथमत: जीबी गृहमन्त्री लामिछानेसँग काँध जोडिएका 'पार्टनर' हुन् । जीबी तिनै व्यक्ति हुन् जसलाई साहू बनाएर रविले ग्यालेक्सी टेलिभिजन खोलेका थिए । अवैध नेटवर्किङको व्यवसायमा सक्रिय रहेको र शङ्कास्पद आर्थिक कारोबारमा संलग्न रहेको जगजाहेर रहँदा पनि त्यस्ता विवादित व्यक्तिसँग सहकार्य गर्न रविलाई कुनै अप्ठ्यारो लागेको थिएन ।

दुई वर्षअघि सञ्चारकर्म छाडेर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे र २०७९ मंसिरमा प्रतिनिधिसभा निर्वाचनमा सम्मानजनक २० सिट (उपनिर्वाचनमा थप एक) सहित संसद् छिरे । यता जीबी राई समूहले सहकारी बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरी नेटवर्किङ व्यवसाय चलाइरहेको सार्वजनिक भयो । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मीलगायत आधा दर्जन बढी सहकारीको हजारौं बचतकर्ताको पैसा ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडियालगायतका संस्थामा प्रयोग गरी ठगी गरेको समाचार बाहिरियो । उक्त सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम पनि जोडिएको छ ।

रवि लामिछानेद्वारा गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको, बुटवलको सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङद्वारा रवि लामिछानेमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा १ करोड रुपैयाँ जम्मा गरेको, गोर्खा मिडियाबाट लामिछाने अलग हुँदा शेयर बेचेबापत उनको खातामा १ करोड ८० लाख जम्मा भएको भौचर कम्पनी रजिस्ट्रारको कार्यालयमा  भेटिएको, रवि लामिछानेले लिएको १ करोड रुपैयाँ पुलेसो (ब्रिज) ऋण गोरखा मिडिया नेटवर्क प्रालिले पेस्की फर्छ्यौट गरेको लगायत रवि लामिछानेसँग जोडिएका दर्जनौँ समाचार बाहिरिएका छन् । सधैँ विवादित पात्रको छवि बनाएका रवि सर्वसाधारणले पसिना बगाएर थोपा-थोपा बचत ठगी गरेको आरोपको चाङमाथि उभिएका छन् ।

यस विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुले माग गर्दा पनि रास्वपा रविको नाममा छानबिन गर्न कसैगरी तयार भएको थिएन । पछि रविको नाम नलिइ छानबिन गर्नेगरी सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति भई अहिले उक्त विषयमा छानबिन चलिरहेको छ ।

यस्तो बेलामा गृहमन्त्री लामिछानेलाई नै आरोपीलाई सार्वजिनक रुपमा सूचना सम्प्रेषण गर्ने तथा फरार अभियुक्तलाई पक्राउ गर्नुको साँटो भगाउन सहयोग गर्नेगरी प्रस्तुत हुनु शंकाको विषय बनेको छ ।