शीर्षकहरू

नेपालमा पहिलोपटक आँप मेला हुँदै, तीन दिनमा ३० टन आँप बेच्ने लक्ष्य

नेपालमा पहिलोपटक आँप मेला हुँदै, तीन दिनमा ३० टन आँप बेच्ने लक्ष्य

काठमाडौं । नेपालमा पहिलोपटक आँप मेला हुने भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजना असार ७,८ र ९ गते काठमाडौंमा मेला हुन लागेको हो ।

वालनट बिस्ट्रो पानीपोखरीमा मेलाको उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रमपछि काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन नै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्री वितरण गरिने आयोजनकले जनाएको छ ।

मेलामा सर्लाही, सप्तरी, र सिराहाका ५० किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू यो मेलामा प्रदर्शनी गरिनेछ। किसान भेन्चरका अध्यक्ष राजेश कार्कीका अनुसार मेलामा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् । सबै आँप सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्‍याइने उनले बताए ।

फेस्टको प्रमुख उद्देश्य नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउनु रहेको कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ । फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टलहरू रहनेछन्, जहाँ ग्राहकहरूले आँपका विभिन्न उत्पादनहरू जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका वस्तुहरू पनि पाउन सक्नेछन् ।

नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेकाले विषादी प्रयोग गरिएका महँगा आयातित आँप उपभोग गर्नुको सट्टा नेपाली आँपको बारेमा जानकारी प्रदान गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य यस कार्यक्रमको रहेको आयोजकले जनाएको छ ।

आँप फेस्टको दोस्रो दिन, शनिबार उत्पला क्याफेमा भब्य कार्यक्रम हुनेछ । जसमा ३५ सय जना आगन्तुकहरूको सहभागिता हुने लक्ष्य आयोजकको छ । मेला अवधिभर ३० टन आँप बिक्री गर्ने लक्ष्य राखिकएको आयोजकले जनाएको छ ।