शीर्षकहरू

रुपन्देहीमा तस्करीका नयाँ नयाँ काइदा, किसानको नाममा लिन्छन् फाइदा

रुपन्देहीमा तस्करीका नयाँ नयाँ काइदा, किसानको नाममा लिन्छन् फाइदा

भैरहवा । रुपन्देहीको सीमावर्ती मर्चवार क्षेत्रबाट किसानको नाममा नक्कली बिल बिजक बनाएर चामल, गहुँ, धान तस्करी हुने गरेको छ । नक्कली अनलाइन बिल बनाएर, नक्कली क्युआर कोड राखेर प्रहरी प्रशासनलाई झुक्काउँदै व्यापारीहरूले गैर कानुनी  काम गर्ने गरेका छन् । आइतबार बिहान बनगाई चोकमा सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले चामल सहित आएको लु १ त ९७८० नम्बरको ट्याक्टरबाट चेकजाँच गर्दा यस्तो भेटिएको हो ।

शुक्रबार लु ३ च ९८२ नम्बरको बिग्रेको कार जेसिभीले तानेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उक्त गाडीको बोनटमा स्पिकरका समानहरू लुकाई छिपाई ल्याइएको भेटिएको थियो । सो गाडीलाई जेसिभीले तानेर ल्याउँदै गर्दा अकस्मात् आगजनी भएको थियो ।

आगो निभाउन पुगेको प्रहरीले उक्त गाडीमा भन्सार छलेर ल्याएको समान बरामद गरेको हो । उक्त गैर कानुनी कार्य तिलोत्तमा निवासी राजेश कुमार शर्माले गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

यी २ घटनाले के देखाउँछ भने रुपन्देहीमा अहिले नयाँ ढङ्गले चोरी तस्करीको कार्य भइरहेको छ । मूल भन्सारबाट होस् वा अन्य नाका कहीँ पनि तस्करलाई अवैध रुपमा सामान भित्राउन गाह्रो छैन ।

 प्रहरी प्रशासनले दैनिक समान बरामद गरेको तथ्याङ्क सार्वजनिक गर्दछ तर सेटिङमा हुने तस्करी भने चलिरहेको यी २ घटनाले पुष्टि गर्दछन् । सेटिङ नहुने हो भने कसरी ट्याक्टरमा लाखौँको समान बनगाईसम्म निर्बाध आउन सक्थ्यो भन्ने प्रश्न स्थानीयको रहेको छ ।

बनगाईबाट नियन्त्रणमा लिइएको ट्याक्टरमा मर्चवारी गाउँपालिका वडा नं. २ पाण्डे पिपरिहवाबाट साबुद्दिन गल्ला भण्डारले नक्कली बिल बनाएर चामल सप्लाइ गर्ने गरेको तथ्य खुलेको छ । चामल सहित पक्राउ परेको ट्याक्टर राजश्व अनुसन्धान कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसका अतिरिक्त रुपन्देहीका अन्य नाकाबाट  चोरी तस्करी मौलाएको छ । भैरहवा भन्सार कार्यालयमा केही कडाइ गरिएसँगै तस्करहरूले मेउडिहवा, कचरिहवा र दुर्गौलियालाई तस्करीको मुख्य नाकाको रुपमा प्रयोग गर्दै आएका छन् । यो क्षेत्रमा इलाका प्रहरी कार्यालय मझगावा, दुर्गौलिया प्रहरी चौकी, मेउडिहवा प्रहरी चौकी, पिपरिया चौकी छन् ।

यहाँबाट चौबिसै घण्टा चिनी, प्याज, खाद्यान्न र मोटरपार्टस तस्करी भइरहेको छ । तस्करहरूले आफ्नै आन्तरिक सुराकी प्रयोग गरेर सूचना संकलन गर्ने र तस्करीलाई निर्बाध सफल पार्ने गरेको बताइन्छ ।

तस्करी गरी भित्राइएका समान आउने ठाउँमा प्रहरी चौकीहरू छन् । भारतसँग सीमा जोडिएका यी प्रहरी चौकी र सशस्त्र प्रहरीका बिओपीहरुलाई आर्थिक प्रलोभनमा पारेर भन्सार बिनै सामान तस्करहरूले ल्याउने गरेको स्रोतको दाबी छ । स्थानीयका अनुसार यी क्षेत्रबाट राति ११ बजेदेखि बिहान ४ बजेसम्म गाडी र मोटरसाइकलबाट तस्करी हुन्छ भने बिहान ७ बजेदेखि १० बजे समयमा मोटरसाइकल, स्कुटर र साइकलबाट तस्करी हुने गर्छ ।

यी क्षेत्रबाट आउने तस्करहरू कोही गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिबाट गल्लामण्डी आएर सामान गोदाम गर्ने गर्छन् भने कोही बनगाइबाट उचमी हुँदै मणिग्राम र बुटवलसम्म सामना पुर्‍याउने गर्छन् । कतिपय तस्कर गुरवनीयाबाट निस्केर बुटवल र सालझण्डी पुग्ने गरेका छन् । तस्करका नाइकेहरूले उच्च ओहोदाका प्रहरीसँग सेटिङ मिलाएको भन्दै क्यारिङवालाले प्रहरी जवानहरूलाई थर्काउँदै हिँड्ने गरेको ड्युटीमा रहेका प्रहरी जवानहरू बताउँछन् ।

यसरी तस्करी मौलाउँदा भैरहवा भन्सार कार्यालयमा लक्ष्य अनुसारको राजश्व उठ्न सकेको छैन । तर प्रहरीले भने कहिलेकाहीँ केही मात्रामा समान पक्रेकोमा नै गर्व गर्ने गरेको छ ।चोरी तस्करी बढ्दा त्यसको प्रत्यक्ष असर भन्सार राजस्व संकलनमा परेको हो ।

भैरहवा भन्सार कार्यालयले ११ महिनामा लक्ष्यको ५७.६६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यस कार्यालयले ७३ अर्ब ७१ करोड ३० लाख ८५ हजार राजस्व सङ्कलन गरेको हो । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ३ करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

सो भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा ९ अर्ब ३ करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै, कार्तिकमा ४ अर्ब ४९ करोड ४ लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड ३ लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघमा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार, फागुनमा ६ अर्ब ७८ करोड ८५ लाख १६ हजार, चैतमा ६ अर्ब ७४ करोड ८५ लाख २४ हजार वैशाखमा ६ अर्ब ८२ करोड ८१ लाख ३२ हजार जेठमा ७ अर्ब ८० करोड, ५९ लाख ८८ हजार राजश्व संकलन भएको छ ।

अब एक महिनामा लक्ष्यमा पुग्न नसक्ने पक्का छ । गत आर्थिक वर्षमा भैरहवा भन्सार कार्यालयबाट ७८ अर्ब ८९ करोड ५ लाख ९८ हजार राजश्व संकलन भएको थियो ।भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले चोरी नियन्त्रणका लागि निरन्तर लागेको बताउँदै चोरी गर्नेहरूका लागि कानुन अझ बलियो चाहिने बताए ।

खुला क्षेत्र भएकोले मोटरसाइकल, कार र ठुला गाडीबाट रातिमा ओसार पसार गर्ने र नक्कली बिल बिजकको प्रयोग गर्ने गरेको भन्सार प्रमुख गौतमले बताए । भन्सार कार्यालयले पछिल्लो समय मालसामान, प्रयोग भएका गाडी र मानिस समेत पक्राउ गरी मुद्दा चलाउने गरेको प्रमुख गौतमको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सई प्रकाश रावतको कमान्डमा ४ जनाको टिम सूचना संकलकको रुपमा खटाएको छ तर ती प्रहरीहरूबाट चोरी तस्करीको लागि न्यूनीकरण गर्न पहल भएको देखिँदैन । अवैध क्रियाकलापमा संलग्न गिरोहले सीमावर्ती भारतीय क्षेत्रबाट मर्चवारमा गोदाम गर्ने र नक्कली बिलविजक बनाएर सामान बजारमा पठाउने कार्य भइरहेको छ ।

असार महिना सुरु भएसँगै तस्करहरूले रासायनिक मलको पनि तस्करी गरिरहेका छन् । मल अभावले किसान छटपटाइ रहेको बेलामा तस्करहरूले युरिया र डिएपी मलको कारोबार गरि रहेका छन् । तर, यसरी अवैध रुपमा भित्रने मल गुणस्तरीय नहुने गरेको जानकारहरूको भनाई छ ।

किसानको आवश्यकतामा रहेका बस्तुको  कारोबार गर्न तस्करहरूलाई सहज छ । नेपालमा मल अभाव भएसँगै सीमा क्षेत्रमा किसानहरूलाई मल ल्याउँदा कडाइ गरिँदैन । त्यसको फाइदा भने तस्करहरूलाई भएको छ ।