शीर्षकहरू

सेबोन अध्यक्षको अन्तर्वार्तामा 'तीन भाइ' अनुपस्थित, सिफारिस नै रद्द हुनसक्ने

सेबोन अध्यक्षको अन्तर्वार्तामा 'तीन भाइ' अनुपस्थित, सिफारिस नै रद्द हुनसक्ने

काठमाडौं । नेपाल  धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि बुधबार बोलाइएको अन्तर्वार्तामा पनि तीन भाइ अनुपस्थित भएका छन् । आवेदन दिएरसर्टलिस्टमा परेका पाँच जनामध्ये दुई जना मात्रैले गत आइतबार अन्तर्वार्ता दिएका थिए ।

तर, तीन जना भने अन्तरवार्ताका लागि गएनन् । उनीहरुलाई बुधबारका लागि कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बुधबार बिहान ९ बजे बोलाइएको थियो । तर उनीहरु तीनै जना अनुपस्थित भएका हुन् ।

आइतबारको अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै सहभागी भएका थिए । अन्य तीन जना डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की भने अन्तरवार्ताका लागि गएनन् ।  

सेबोनको अध्यक्षमा आफूले चाहेको व्यक्ति छनोट गर्न नसक्ने अवस्था बन्दै गएपछि यसको सिफारिस प्रक्रियालाई नै रोक्दै आएका अर्थमन्त्री वर्षमान पुन ठूलो दबाब पछि प्रक्रिया अगाडी बढाउन सहमत भए पनि भित्रिरुपमा भने यो प्रक्रियालाई टुंगोमा नपुर्‍याउने योजनामा लागेको स्रोतको भनाइ छ ।

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम् नै अग्रसर बनेर सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षमा नियुक्त दिनुपर्ने अडान लिएपछि जटिलता सिर्जना भएको बताइन्छ । ओलीका कुरा टार्न पनि नसकिने र मान्न पनि गाह्रो पर्ने अवस्था सिर्जना भएपछि अर्थमन्त्री पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादीसँग निकट सम्बन्ध रहेको मानिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ कृष्ण बहादुर कार्की, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अर्थमन्त्रीलाई सहयोग पुग्नेगरि अन्तरवार्तामा उपस्थित नभएको स्रोतले बतायो ।  

कर्मकाण्डी अन्तर्वार्ता लिन लागिएको भन्दै तीन जना अन्तर्वार्तामै अनुपस्थित भएका हुन् ।  सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नुपर्छ । तर दुई जना मात्रै उपस्थित भएकाले अब सिफारिस प्रक्रिया नै रद्द हुने सम्भावना देखिएको छ ।