शीर्षकहरू

चिनियाँ इभीलाई युरोप र अमेरिकामा रोक्नुको यस्तो रहेछ खास कारण

चिनियाँ इभीलाई युरोप र अमेरिकामा रोक्नुको यस्तो रहेछ खास कारण

काठमाडौं । केही समयअघि अमेरिकी सरकारले आफ्नो मुलुकमा भित्रने चिनियाँ विद्युतीय सवारीको कर तीन गुणाले बढायो ।  जसका कारण २५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब चिनियाँ गाडीमा अमेरिकाले शत प्रतिशत भन्सार लाग्ने भएको छ ।

उता, युरोपेली युनियनले पनि  आफ्ना मुलुकमा भित्रने चिनियाँ विद्युतीय सवारीमा  ३८ प्रतिशतसम्म कर लगाउने निर्णय हालै गरेको छ । जसका कारण युरोपको बजारमा पनि चिनियाँ विद्युतीय सवारीको मूल्य बढ्ने भएको छ ।

यसरी किन चिनियाँ सवारीलाई युरोप र अमेरिकाले निरुत्साहित गर्दैछ त ? यो प्रश्नको जवाफ फेला परेको छ । खासमा चिनियाँ उत्पादनले विश्वव्यापी बिक्रीमा अमेरिकालाई पछि पारेपछि उनीहरू आत्तिएर यस्तो निर्णयमा पुगेका रहेछन् । सन् २०२३ मा बिक्री भएका चिनियाँ गाडीको तुलनामा अमेरिकी गाडीहरू पछि परेपछि पश्चिमाहरू असहिस्रुण बनेको एक तथ्यांकले देखाएको छ ।

चिनियाँ अटो उत्पादकहरूले पहिलो पटक आफ्ना अमेरिकी प्रतिद्वन्द्वी तुलनामा विश्वव्यापी रूपमा धेरै कारहरू बेचेका छन् । अनुसन्धानकर्ता जाटो डाइनामिक्सले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा चिनियाँले अमेरिकीलाई यसरी पछि पारेका हुन् ।

चीनको सेन्जेनमा रहेको चिनियाँ ब्रान्ड बिवाईडीले गत वर्ष १ एक करोड ३४ लाख ३० हजार वटा नयाँ गाडी बिक्री गरेको तथ्यांकले देखाएको छ । उता अमेरिकी ब्रान्डले भने सो वर्ष करिब १ करोड १९ लाख ३० हजार गाडी मात्र बिक्री गरेका थिए।

सर्वाधिक गाडी बिक्री गर्नेमा भने जापानी कम्पनीहरू रहेको देखिएको छ । जापानी ब्रान्डहरूले आफ्नो बलियो स्थिति कायम राख्दै विश्वव्यापी बिक्रीमा २ करोड ३५ लाख ९० हजार गाडी बिक्री गरेका छन् ।

प्रतिवेदनले यो पनि संकेत गरेको छ कि चिनियाँ मूलका कम्पनीहरूको बिक्रीको वृद्धि अमेरिकाको तुलनामा २३ प्रतिशतले बढेको छ । अमेरिकी फर्महरूले भने ९ प्रतिशत वृद्धि मात्र हासिल गरेको देखिएको हो।

जाटोका वरिष्ठ विश्लेषक फेलिप मुनोजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्, "परम्परागत अटोमेकरहरूको लापरबाही, जसले कारको मूल्य लगातार बढेको छ, अनजानमा उपभोक्ताहरूलाई थप किफायती चिनियाँ विकल्पहरूतर्फ धकेलिएको छ।"

प्रतिवेदन अनुसार चिनियाँ कार ब्रान्डको बजार हिस्सा मध्यपूर्व, युरेसिया र अफ्रिका जस्ता क्षेत्रहरूमा बढेको छ । त्यसैगरी, ल्याटिन अमेरिका र दक्षिण पूर्व एसियामा पनि वृद्धि भएको छ। चिनियाँ कार ब्रान्डहरूले युरोप, अष्ट्रेलिया, न्युजिल्यान्ड र इजरायल लगायत विकसित अर्थतन्त्रहरूमा पनि हिस्सा पाएका छन्।

जाटोको रिपोर्टका अनुसार बिवाईडीको कम्प्याक्ट सेडान क्विन सबैभन्दा लोकप्रिय चिनियाँ मोडेल थियो। चिनियाँ घरेलु बजारले "मन्दीको संकेत" देखाउँदा त्यहाँका उत्पादकहरूले "विदेशमा बजार" खोजिरहेका थिए। त्यसको प्रतिफल स्वरूप यस्तो तथ्यांक तयार भएको देखिन्छ ।

चिनियाँ ब्रान्डहरू उदीयमान अर्थतन्त्रहरूमा सजिलो पहुँच, कम व्यापार अवरोध उपभोक्ताहरू बीच उच्च मूल्य संवेदनशीलताका कारण सफल भएको रिपोर्टको निष्कर्ष छ ।

"२०२३ मा उदीयमान अर्थतन्त्रहरूमा १ करोड ७५ लाख भन्दा बढी नयाँ कारहरू बिक्री भएका थिए। यो वर्षमा अमेरिका वा युरोपमा कुल बिक्री भन्दा बढी हो," मुनोजले औँल्याए। चीन र पश्चिमबिचको बढ्दो व्यापारिक तनाव, उच्च ब्याजदर र सवारीसाधनको बढ्दो मूल्यजस्ता अन्य कारकहरूका बाबजुद यो वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

हालै इयुले चीनको इलेक्ट्रिक वाहन (इभी) निर्माताहरूलाई ३८ प्रतिशत सम्मको भारी कर लगाएर आफ्नो बजारमा रोक्न खोजेको छ । बेइजिङले यसको प्रतिक्रिया स्वरूप चेतावनी दिएको छ कि यसले उड्डयन र कृषि क्षेत्रलाई लक्षित गर्नेछ। ब्रसेल्सको यो कदमले अमेरिकाले चिनियाँ ईभीमा चार गुणा शुल्क बढाएर १०० प्रतिशत पुर्‍याउने नीतिलाई समर्थन गरेको देखिन्छ।

टर्कीले पनि सप्ताहान्तमा चीनबाट सवारी साधनहरूमा ४० प्रतिशत अतिरिक्त शुल्कहरू घोषणा गरेको छ । बेइजिङले यस्तो निर्णयको कडा आलोचना गर्दै अंकारालाई यसप्रकारका भेदभावपूर्ण शुल्कहरू तुरुन्त हटाउन आग्रह गरेको छ।