शीर्षकहरू

सुन्डी माध्यमिक विद्यालयमा अनियमितता !

सुन्डी माध्यमिक विद्यालयमा अनियमितता !

भैरहवा । रुपन्देहीको एक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजाबाट बञ्चित गरेको पाइएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ४ सुन्डिमा रहेको सुन्डी माध्यमिक विद्यालयले यस विद्यालयमा अध्ययनरत करिब ६ सय जना विद्यार्थीलाई दिवा खाजा नदिएको हो । 

चालु शैक्षिक सत्रमा यस विद्यालयका विद्यार्थीले राज्यबाट पाएको सुविधा लिनबाट वञ्चित छन् । विद्यालयमा भएको राजनीतिका कारण बालबालिका सेवा सुविधाबाट समेत बञ्चित हुन पुगेका हुन् । 

उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको लडाइ छ । विद्यालय अभिभावक विहीन छ । विद्यालय क्षेत्रमा भएको राजनीतिका कारण गत चैत २६ गते विद्यालयका प्रधानाध्यापक शतिशचन्द्रमणी त्रिपाठी सरुवा भएर गए । उनी विद्यालयबाट सरुवा भएर अन्यत्र गएपछि बालबालिकाले राज्यले दिएको खाजा सुविधाबाट बञ्चित बन्न पुगेका हुन् । 

अहिले विद्यालयमा तिलकराम विश्वकर्मा सहायक प्रधानाध्यापकको रूपमा छन् । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा विद्यालयको काम काजको लागि निमित्त व्यक्ति समेत तोकिएको छैन । विद्यालयमा जिम्मेवार प्रशासन प्रमुख नहुँदा बालबालिका सिकार बन्न पुगेका हुन् । मित्रराष्ट्र कोरिया सरकारले यस विद्यालयमा ठूलो लगानी गरेको छ । 

विद्यालयको भौतिक संरचना बनाउनेदेखि डिजिटल प्रविधिका लागि कम्प्युटरको व्यवस्था छ । भौतिक रूपमा सम्पन्न र डिजिटल रूपमा प्रशस्त कम्प्युटर भएको ठाउँमा प्रयोगमा ल्याउन नसक्दा कम्प्युटर कवाड बनेका छन् । भैरहवा लुम्बिनी सडक खण्डको हुलाकी राजमार्गसँग जोडिएको उक्त विद्यालयमा व्यवस्थापन समितिमा को आउने भन्ने विषयलाई राजनीतिकरण गर्दा विद्यालयमा प्रधानाध्यापक नियुक्त हुन समेत सकेका छैनन् ।

शिक्षाको मन्दिर भनेर चिनिने विद्यालयमै अनियमितता र भ्रष्टाचार भएको सामाजिक व्यक्ति सञ्जय मिश्रा बताउँछन् । सुन्डी माध्यमिक विद्यालयमै नयाँ शैक्षिक वर्ष सुरु भए देखि विद्यार्थीले दिवा खाजा नपाएको बताउँदै राज्यले दिएको दिवा खाजाको रकम विद्यालयले हिनामिना गरेको मिश्राको आरोप छ ।

मिश्राले लामो समय देहि विद्यालयले बाल अधिकार हनन गरेको बताउँदै दोषीलाई कारबाही हुनु पर्ने बताए । सुन्डी माविका कम्प्युटर शिक्षक अजय यादवले विद्यालयमा कोही जिम्मेवार व्यक्ति नभएका कारण विद्यालयमा भएका ३५ वटा कम्प्युटर मध्ये ३ ४ वटा बाहेक सबै कम्प्युटर बिग्रिएको बताए । बिग्रिएका कम्प्युटर मर्मत नहुँदा आफू नियुक्त भएर आए देखि पूर्ण रूपमा प्रयोगात्मक शिक्षण गर्न नपाएको बताए ।

सुन्डी माविका कर्मचारी बरमदेव तिवारीले १ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा ६ सय जना दिवा खाजा खाने विद्यार्थी रहेको बताउँदै विद्यालयमा दिवा खाजा वितरण हुन नसकेको बताए ।

स्थानीय ओमप्रकाश साहानीले सबै विद्यार्थी सम्पन्न परिवारबाट नभएता पनि दिवा खाजाले समानताको माहोल सृजना गरेको अवस्थामा अचानक विद्यालयले दिवा खाजा वितरण नगर्दा विद्यार्थी र अभिभावकमा निराशा छाएको बताए ।

राजेन्द्र प्रसाद साहानीले विद्यालयमै विद्यार्थीको जीवन सँग राजनीतीकरण भएको बताए । उनले विद्यालयमा व्यवस्थापन समितिको पदका लागि हुने होडबाजीमा विद्यार्थी मिचिएको बताए ।

विद्यालयमा प्रधानाध्यापक नहुँदा विद्यालय अभिभावक विहीन भएको बताए । उनले विद्यालयमा सहायक प्रधानाध्यापक भएता पनि विद्यालय प्रतिको कुनै जिम्मेवारी असल ढङबाट ननिभाउँदा विद्यालय व्यवस्थापन समिति सदस्यद्वारा कुटाइ समेत खाएको साहानीले बताए ।

स्थानीय कोइला मल्लाहाले विद्यालयले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको बताउँदै नियमित दिवा खाजा वितरण नहुनु भनेको विद्यार्थी माथी सरासर अन्याय भएको बताउँछन् ।

सुन्डी माविका सहायक प्रधानाध्यापक तिलकराम विश्वकर्मा माथी स्थानीयले दोषीको आरोप लगिरहँदा उनले भने विद्यालयमा व्यवस्थापन समिति नभएको र विद्यालयका लेखा श्रवण कुमार तिवारी माथि आरोप लगाउँछन् ।

मायादेवी गाउँपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद लामिछानेले विद्यालयले गरेको अनियमिततामा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गरे ।

यस विद्यालयमा भौतिक संरचना कोरिया सरकारले अनुदानमा बनाइ दिएकोले भौतिक रूपमा सम्पन्न छ । त्यसको नेतृत्व लिन स्थानीयहरू बिच हानथाप हुँदा त्यसको मारमा विद्यार्थीहरू पर्ने गरेका छन् ।