शीर्षकहरू

घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश

घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश २८ प्रतिशतले घटेको छ । उद्योग विभागबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

तथ्यांकअनुसार जेठमा मात्रै विदेशी लगानीकर्ताले ६८ करोड २३ लाख ७१ हजार रुपैयाँ लाभांश लगेका छन् । चालु आवको ११ महिनामा भने विदेशी लगानीकर्ताले नेपालबाट ९ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपैयाँ लाभांश लगेको देखिएको छ । जुन गत आवको सोही अवधिको भन्दा ३ अर्ब ८५ करोड २६ लाख ३४ हजार रुपैयाँ कम हो । 

गत आवको जेठ मसान्तसम्म नेपालमा लगानी गरेको विदेशी लगानीकर्ताले १३ अर्ब ८२ करोड ५५ लाख ३० हजार रुपियाँ लाभांश लगेका थिए । गत आर्थिक वर्षभरिमा भने १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ लाभांश लगेको विभागको तथ्यांकमा देखिन्छ । 

तर, चालु आवमा उनीहरूले लैजाने नाफाको रकम अर्थात् लाभांशमा भारी गिरावट देखिएको छ । अधिकांश कम्पनीले चैतसम्म लाभांश लगिसकेका हुन्छन् । त्योअनुसार अब लाभांशको तथ्यांक नगन्य मात्रामा मात्रै बढ्छ । विदेशी लगानीका कम्पनीहरुले गत आवहरूमा कमाएको नाफाबाट सो बराबरको लाभांश लगेका हुन् । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण अधिकांश क्षेत्रको व्यापार व्यवसाय प्रभावित भएको छ । आम उपभोक्ताको क्रयशक्ति कमजोर हुँदा मागमा कमी आएको छ, त्यसले व्यापार व्यवसायहरू प्रभावित भइरहेको छ । त्यसले गर्दा कतिपय कम्पनीहरू घाटामा समेत गएका छन् । 

अधिकांश कम्पनीको नाफा घटेको छ । त्यो अवस्था विदेशी लगानीका कम्पनीको नाफा पनि प्रभावित भएको जानकारवालाहरु बताउँछन् । त्यसको असरले यसपालि लाभांश मार्फत बाहिरिने रकममा कमी आएको उनीहरूको तर्क छ । 

रोयल्टीबाट कति बाहिरियो ?

चालु आवमा रोयल्टी बापत पनि विदेशी लगानीकर्ताले ठुलो रकम लगेका छन् । नेपाली रुपैयाँमा मात्रै रोयल्टी बापत दुई अर्ब ५४ करोड ३४ लाख रुपैयाँ ५९ हजार बाहिरिएको छ । यसैगरि अमेरिकी डलरमा १ करोड ८ लाख ७९ हजार ८६५, भारतीय रुपैयाँमा ७३ करोड ७ लाख ९१ हजार र युरोमा २३ हजार ८०० रोयल्टी बाहिरिएको छ । 

सेवा शुल्कबाट कति बाहिरियो ? 

यसैगरि सेवा शुल्क बापत पनि धेरै रकम नेपालबाट बाहिरिएको छ । नेपाली रुपैयाँमा मात्रै त्यस्तो रकम ३० लाख ३३ हजार बाहिरिएको छ । यसैगरि डलरमा ४ लाख १९ हजार ६०३, भारतीय रुपैयाँमा ६ करोड ५८ लाख ८४ हजार, युरोमा १ लाख १ हजार २०२, जापनिज यनमा १० लाख र पाउन्डमा १७ हजार सेवा शुल्क बाहिरिएको छ । 

डेढ महिनामा अटोमेटिक रुटबाट ११ अर्ब विदेशी लगानी स्वीकृत 

सञ्चालनमा आएको केही महिनामै अटोमेटिक रुटबाट ११ अर्ब भन्दा बढी विदेशी लगानी स्वीकृत भएको छ । लगानी सम्मेलनको अवसरमा उद्योग विभागले गत वैशाख १६ गतेबाट यो प्रणाली सञ्चालनमा ल्याएको थियो । त्यसमा जेठ मसान्तसम्म आउँदा ११ अर्ब  १८ करोड ११ लाख ८० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । विभिन्न ९० कम्पनीमा सो बराबरको लगानी स्वीकृत भएको हो । 

जेठमा मात्रै अटोमेटिक रुटबाट ८ अर्ब २७ करोड ९० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । जेठमा ६८ कम्पनीमा विदेशी लगानी स्वीकृत भएको छ । 

यस्तै, जेठमा म्यान्यूअल्ली अर्थात् भौतिक प्रक्रियाबाट ३ अर्ब १ करोड ५६ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । विभिन्न ५२ कम्पनीमा सो बराबरको लगानी स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । 

चालु आवको ११ महिनामा भने यस अन्तरगत ४४ अर्ब ४० करोड ८ लाख २६ हजार विदेशी लगानी स्वीकृत भएको छ । विभिन्न ३५९ वटा परियोजनामा सो बराबरको लगानी स्वीकृत भएको हो । 

यसैगरि शेयर पर्चेच र शेयर सवस्क्रिसन एग्रीमेन्टबाट जेठमा ४६ करोड १० लाख विदेशी लगानी प्रतिबद्धता आएको छ । विभिन्न ९ कम्पनीमा सो बराबरको शेयर पर्चेच र शेयर सवस्क्रिसन एग्रीमेन्ट भएको हो । ११ महिनामा भने यस अन्तरगत ९ अर्ब ५१ करोड ४५ लाख ६८ हजार रुपैयाँ बराबरको सम्झौता भएको छ । 

अटोमेटिक रुट, प्रत्यक्ष विदेशी लगानी तथा शेयर पर्चेच र शेयर सवस्क्रिसन एग्रीमेन्टबाट चालु आवको ११ महिनामा ६५ अर्ब ९ करोड ६५ लाख लगानी स्वीकृत भएको छ । विभिन्न ५०१ परियोजनामा सो बराबरको लगानी आएको हो । उक्त लगानी भित्रिएर सम्बन्धी कम्पनी तथा परियोजना सञ्चालनमा आएमा २० हजार १४६ वटा रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।