शीर्षकहरू

सेबोन अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै सहभागी, बुधवार फेरि हुने

सेबोन अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै सहभागी, बुधवार फेरि हुने

काठमाडौं । अर्थ मन्त्रालयले आइतबार नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्तामा सहभागी नभएका उम्मेदवारहरूलाई बुधवार अन्तरवार्तामा बोलाएको छ । राजनीतिक नेतृत्व र व्यावसायिक घरानाका व्यक्तिहरूको दबाबका कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अन्योल बनिरहेको छ ।

गत चैत २५ गतेपछि रोकिएको बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया दुई महिनापछि अघि बढेको हो । असार २ गते छनौटमा परेका पाँच जनालाई अन्तरवार्ताका लागि बोलाइएकोमा तीन जना सहभागी नभएपछि अर्थ मन्त्रालयले बुधवारका लागि अन्तरवार्ता तय गरेको हो । 

बोर्ड अध्यक्षका लागि छनौटमा परेका पाँच जनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र सन्तोष श्रेष्ठ रहेका छन् । 

यी मध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागी भएको सिफारिस समितिले जानकारी दिएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । 

दुई महिना रोकिएको बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया राजनीतिक भागबण्डा मिलाउँदै सन्तोष श्रेष्ठलाई अध्यक्ष बनाउने सहमतिपछि अघि बढेको स्रोतको दाबी छ । अन्तरवार्ता अघि नै अध्यक्ष नियुक्तिमा सहमति जुटेको खबर बाहिरिएसँगै उम्मेदवारहरू असन्तुष्ट बनेका थिए । प्रक्रिया पुरा गर्नका लागि मात्र अन्तरवार्ता लिन लागेको भन्दै असन्तुष्ट उम्मेदवारहरूले अन्तरवार्ता नै बहिष्कार गरेको बुझिएको छ । 

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने अवस्थामा दुई जना उम्मेदवार मात्र अन्तरवार्तामा सहभागी भएकाले थप एक जनाका लागि पुनः अन्तरवार्ताको प्रक्रिया अघि बढाएको अनुमान समेत उम्मेदवारहरूले लगाएका छन् । राजनीतिक भागबण्डा मिलाउन नसकेपछि अर्थमन्त्री वर्षमान पुनले आफ्नो पक्षका उम्मेदवारलाई भने आगामी दिनमा सहज वातावरण बनाउने गरी सहयोग गर्ने आश्वासन दिएको स्रोतले जानकारी दिएको छ ।