शीर्षकहरू

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र शुरु

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र शुरु

मलेखु । धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ ।  सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ ।

“बाँस निगालोबाट डोका, डालो बुनेर, अम्रिसोबाट कुचो बनाएर हामीले आम्दानी गर्दै आएका छौँ,” स्थानीय सन्तोष अधिकारीले भने, “बर्खायाममासमेत सडक सुचारु हुने भएमा तीन हजार टन आलु उत्पादन गर्ने क्षमता हामीसँग छ ।”

ठेकेदार कम्पनीले सम्झौता मिति अगावै  सम्पन्न गर्नेगरी धमाधम कालोपत्र गरिरहेको छ । अहिले गजुरी गाउँपालिका–६ मलिनटार चोकदेखि वडा नं ७ पर्खालेसम्म चार दशमलव दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । गजुरी गाउँपालिका–६ आदमघाटको मिलनटार चोकदेखि पर्खालेसम्म छ सय मिटर आरसिसी र तीन दशमलव ५९ मिटर आसफाल्ट विधिबाट कालोपत्र गरिएको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङका साइट इन्जिनियर धर्मराज खड्काले बताए ।

आदमघाटदेखि चौतारासम्म करिब ३५ किलोमिटर सडक रहेकामा मिलनटारदेखि कालोपत्र गर्न वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० मा बजेट विनियोजन गरेको हो ।

सडक निर्माणमा अवरोध नभएमा, कच्चा पदार्थ सहज रुपमा उपलब्ध भएमा र काम गर्ने मजदुर अभाव नभएमा तोकेको समय अघि सम्पन्न हुने नाना कन्स्ट्रक्सन प्रालि धादिङ अध्यक्ष नारायणकुमार श्रेष्ठले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले विसं २०८१ पुस १८ गते सम्पन्न गर्ने गरी विसं २०८० असार १३ गते रु २० करोड ४९ लाख ८१ हजार १० मा चार दशमलव दुई किलोमिटर कालोपत्र गर्ने सम्झौता भएको  थियो ।

साबिकको किराञ्चोक गाविसलाई मुख्य राजमार्गसँग जोड्न विसं २०४९ सालबाट पृथ्वीराजमार्गको आदमघाटदेखि महाभारत लेक जोड्ने सडक निर्माण सुरु गरिएको थियो । आदमघाट चौतारासडकको लम्बाइ ३५ किलोमिटर छ ।

गजुरी र गल्छी गाँउपालिकाका एक हजार भन्दा बढी घरधुरी यो सडकबाट लाभान्वित हुने अनुमान छ । मकवानपुरको कैलाश गाउँपालिका र थाहा नगरपालिकाका सर्वसाधारण समेतले यस सडक प्रयोग गर्दै आएका छन् ।