शीर्षकहरू

सेबोन अध्यक्षका लागि उम्मेदवारको अन्तर्वार्ता जारी, तीन जनाको नाम सिफारिस गरिने

सेबोन अध्यक्षका लागि उम्मेदवारको अन्तर्वार्ता जारी, तीन जनाको नाम सिफारिस गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता जारी छ । सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारलाई  १५-१५ मिनेट समय दिइएको छ ।

राष्ट्रिय योजना आयोगको सभाहलमा उनीहरुले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरिरहेका छन् ।

गत चैत २५ गते अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्ट गर्ने काम सम्पन्न भैसकेको अवस्थामा प्रक्रिया स्थगित गरिएको थियो । दुई महिनापछि अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढेको हो । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गत माघ ३ गते गठन भएको थियो । 

उक्त समितिले पाँच उम्मेदवारबाट ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिसमा परेकाबाट सरकारले एक जनालाई अध्यक्ष पदमा नियुक्त गर्नेछ । सोमबारको मन्त्रिपरिषद्‌ बैठकले उनीहरुबाट अध्यक्षका लागि नियुक्त गर्नसक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

गत फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन संकलन गरेको सिफारिस समितिले तोकिएको अवधिभित्र आवेदन दिएका १९ आवेदकमध्ये ५ जनाको नाम सर्टलिष्ट गरेको छ । बोर्ड अध्यक्षका लागि छनोटमा परेका पाँचजनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ रहेका छन् । 

बोर्ड अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।