शीर्षकहरू

सरकारलाई बोर्ड अध्यक्ष नियुक्तिमा चलखेल नगर्न लगानीकर्ताको चेतावनी

सरकारलाई बोर्ड अध्यक्ष नियुक्तिमा चलखेल नगर्न लगानीकर्ताको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियुक्ती प्रक्रिया अघि बढीरहदाँ चार लगानीकर्ता संघहरूले चलखेल नगर्न चेतावनी दिएका छन् । जनरल इन्भेष्टर एशोसिएसन, नेपाल शेयरधनीसंघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले असार १ गते विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बोर्डजस्तो सम्वेदनशिल नियामक निकायमा नेपाल सरकारले लामो समय अध्यक्ष पद रित्त गराउनु लज्जाको विषय भने संघहरूको भनाई छ । विभिन्न सञ्चारमाध्यमहरूमा अध्यक्ष नियुक्तीको विषयलाई लिएर ठुलो आर्थिक चलखेल भएको कुरा सार्वजनिक भएकाप्रति संघहरूले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । 

केहि व्यवसायिक घरानाका व्यक्तिहरू आफ्नो निहित स्वार्थको लागि बोर्ड अध्यक्षमा आफ्नो नजिकको मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिइरहेको भन्ने सुन्नमा आएकोमा संघहरूले चिन्ता व्यक्त गरेका छन् । बोर्ड एउटा स्वायक्त नियका हुनु जरुरी रहेको उल्लेख गर्दै यस निकाय पार्टीगत भागबण्डा, पैसा र शक्तिको आडमा गरिने यस्ता कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना नहुने विज्ञप्तीमा उल्लेख छ । 
अनुभवी, स्वतन्त्र, राष्ट्रिय, अन्तराष्ट्रिय पूँजी बजार सम्बन्धि राम्रो ज्ञान भएको विज्ञ व्यक्तिलाई सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरोस अन्यथा तथ्यगत प्रमाणको आधारमा लगानीकर्ताले कदम चाल्न बाध्य हुने चेतावनी संघहरूले दिएका छन् ।

गत माघदेखि अघि बढीको बोर्ड अध्यक्ष नियुक्तीका लागि अन्तिम छनोटमा परेका पाँच जनाको अन्तरवार्ता आईवार लिइएको छ । विहान ९ बजेदेखि अन्तरवार्ता सुरु भएको हो । बोर्ड अध्यक्षका लागि छनौटमा परेका पाँचजनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ रहेका छन् । 

कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा सिफारिस समितिले पाँच जनामध्येबाट तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ । तीन जनामध्येबाट १ जना सोमवारको मन्त्रिपरिषदको बैठकबाट अध्यक्षका लागि नियुक्त गर्नेछ ।