शीर्षकहरू

नेपालबाट औपचारिक रूपमै बाहिरियो साढे ५ अर्ब रेमिट्यान्स

नेपालबाट औपचारिक रूपमै बाहिरियो साढे ५ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालबाट ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । नेपालमा काम गर्न आएका विदेशी कामदारले सो बराबरको रकम आफ्नो देश पठाएका हुन् ।

यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा १.०६ प्रतिशतले कम हो । गत आवको १० महिनामा नेपालबाट ५ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । गत आर्थिक वर्षमा  बाहिरिएको रेमिट्यान्स भने ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ थियो ।

 नेपाल राष्ट्र बैंकको चालु आवको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । नेपाल सरकार (श्रम विभाग) बाट श्रम स्वीकृत लिएर नेपालमा काम गर्न आएका विदेशी कामदारले आफ्नो कमाई रेमिट्यान्स मार्फत आफ्नो देश पठाएका हुन् । नेपालमा रोजगारीका लागि आउने विदेशी कामदारले आम्दानीको ७५ प्रतिशतसम्म रकम आफ्नो देश पठाउन सक्छन् । बाँकी रकम भने उनीहरूले नेपालमा बसोबास गर्दा खर्च गर्नुपर्ने हुन्छ ।

श्रम विभागको तथ्यांकअनुसार हालसम्म २ हजार ८०० जना विदेशी कामदारले नेपालमा काम गर्ने स्वीकृत लिएका छन् । नेपालमा ७० भन्दा बढी देशका नागरिक कामदारका रुपमा छन् । नेपाल सरकारले दिने वर्क पर्मिटको म्याद १ वर्षको हुने गर्छ । म्याद सकिएपछि नवीकरण गर्नुपर्छ ।

 नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी, जलविद्युत आयोजना, पूर्वाधार निर्माण आयोजना, विदेशी लगानीका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका निकायमा विदेशी कर्मचारीहरू समेत कार्यरत छन् । डाबर नेपाल र युनिलिभर नेपाल जस्ता मल्टीनेशनल कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । जलविद्युत् परियोजना, पूर्वाधार निर्माणमा पनि विदेशी प्राविधिक तथा इन्जीनियरहरु कार्यरत छन् । नागढुंगा सुरुङमार्गमा जापानका इन्जीनियरहरु कार्यरत छन् । यसैगरि, सुनकोसी मरिन डाइभर्सन टनेल निर्माणमा पनि चिनियाँ प्राविधिक कार्यरत छन् ।

थुप्रै जलविद्युत् परियोजनामा भारतीय तथा चिनियाँ प्राविधिक छन् । विदेशी कम्पनीले ठेक्का पाएका जलविद्युत् परियोजना, सडक लगायतको पूर्वाधारको निर्माणमा विदेशी कामदारहरूले काम गरिरहेका छन् । चिनियाँले ठेक्का पाएको पोखरा–मुग्लिङ, बुटवल–नारायणगढ लगायतका सडक परियोजनामा नेपालीसँगै चिनियाँ कामदारहरू पनि कार्यरत छन् ।

यसैगरि, स्टयान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, एसबीआई बैंक, मेट लाइफ, एलआईसी नेपाल, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल जस्ता विदेशी स्वामित्वको बैंक तथा बीमा कम्पनीमा पनि विदेशी कर्मचारी छन् । हिमालयन रि इन्स्योरेन्समा पनि विदेशी कर्मचारी छन् ।

नेपालका तारे होटलहरुमा पनि विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालमा कमाउने पैसा रेमिट्यान्स मार्फत आफ्नो देश पठाउने गर्छन् । नेपालमा उपलब्ध नभएका सिपयुक्त कर्मचारी विदेशबाट ल्याउने गरिन्छ ।

अनौपचारिक क्षेत्रमा कार्यरत विदेशी (बिशेषगरि भारतीय) कामदारले भने नगदमै पैसा पठाउने गर्छन् । नेपालमा थुप्रै भारतीय नागरिक आएर श्रम स्वीकृत नलिई अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूले कमाएको पैसा भने औपचारिक रुपमा लैजान पाइँदैन । उनीहरूले नगद पैसा आफ्नो देश लैजाने गर्छन्, जुन उल्लेखित तथ्यांकमा समावेश छैन । साथै, त्यसबापत कति रकम जान्छ भनेर कुनै अध्ययन पनि भएको छैन । तर, केही वर्ष अघि गरिएको एक अध्ययनमा भारतमा रेमिट्यान्स पठाउने मुलुकहरूको सूचिमा नेपाल समेत अग्र स्थानमा रहेको देखिएको थियो ।

यद्यपि, नेपालबाट बाहिरिने भन्दा नेपालमा भित्रिने रेमिट्यान्स धेरै छ । चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब ६० करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । त्योअनुसार रेमिट्यान्स आदान–प्रदानमा नेपाल ११ खर्ब ९३ अर्ब १२ करोड ८३ लाखले रुपैयाँले नाफामा देखिन्छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । गत आवको समीक्षा अवधिमा नेपालमा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आवभर भने १२ खर्ब २० अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

 वैदेशिक रोजगारमा गएका नेपालीले कामदारले आफ्नो कमाई रेमिट्यान्स मार्फत नेपाल पठाएका हुन् ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो ।