शीर्षकहरू

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई अदालतले दियो सफाइ

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई अदालतले दियो सफाइ

इस्लामाबादको एक पुनरावेदन अदालतले पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमुद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्युजले जनाएको छ।

न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, कुरेसी र अवामी मुस्लिम लिग (एएमएल)का प्रमुख शेख रसिद निर्दोष ठहराएकाे जानकारी गराए।

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ। पाकिस्तानका पूर्वप्रधानमन्त्री खान, शाह कुरेसी र अन्यसहित पिटिआईका धेरै नेतालाई प्रहरीले आजादी मार्चसँग सम्बन्धित विभिन्न प्रारम्भिक घटनामा मुद्दा दर्ता गरेको एआरवाई न्युजले जनाएको छ।

रिपोर्टअनुसार प्रहरी र पिटिआई नेताबीच झडप भएपछि हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले वरिष्ठ नेता र कार्यकर्ताविरुद्ध ४२ वटा मुद्दा दर्ता गरेको थियो।

सन् २०२२ मे २५ मा स्वतन्त्रता (हकिकी आजादी)का लागि इमरान खानको पदयात्रा मार्चअघि अधिकारीले धारा–१४४ लागू गरी भेला रोक्ने उपाय गरेको पाकिस्तानी अंग्रेजी पत्रिका डनले जनाएको छ।

आन्दोलनकारीले पदयात्रा अवरुद्ध गर्न प्रमुख मार्गहरूमा ढुवानी कन्टेनरहरू राखेको अधिकारीले बताएका छन्। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गर्दा अश्रुग्यासको सामना गर्नुपरेको र उनीहरूमाथि लाठीचार्ज  भएको डनले जनाएको थियो।

यस महिनाको सुरुमा इस्लामाबाद उच्च अदालतले इमरान खान र कुरेसीलाई गोप्य कागजात सार्वजनिक गरेको आरोप लगाइएको मुद्दामा निर्दोष ठहर गरेको थियो।