शीर्षकहरू

अनलाइनबाट बीउबिजन प्रमाणीकरण

अनलाइनबाट बीउबिजन प्रमाणीकरण

नारायणगढ । अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ ।  बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय बीउबिजन प्रयोगशाला हेटौँडाअन्तर्गत रहेको प्रयोगशालाले अनलाइन प्रणालीबाट प्रमाणीकरणको प्रक्रिया सुरु गर्न थालेपछि किसानलाई विभिन्न प्रक्रियामा सहज भएको हो ।

प्रयोगशालाका प्रमुख राजन ढकालले अनलाइन सूचना प्रणालीको विकास गरेपछि कृषक कार्यालय नै आउनुपर्ने बाध्यता हटेको बताए । उनले प्रयोगशालामार्फत बीउबिजनको गुणस्तर नियमन खाद्य बाली निरीक्षण, नमूना सङ्कलन, नमूनाको प्रयोगशाला परीक्षण र बीउ प्रमाणीकरणलगायतका काम हुने बताए । उनले यी विभिन्न प्रक्रियाका लागि किसानले घरबाटै अनलाइन फारम भरेर काम अगाडि बढाउन सक्ने बताए ।

उनका अनुसार अनलाइनमार्फत सम्पर्क नम्बर र ठेगानाबाट नै कार्यालयले बीउ उत्पादकलाई सम्पर्क गर्छ । प्रणालीमार्फत प्रतिवेदन पनि तयार हुन्छ । उनले भने, “किसान कार्यालयसम्म आउनु पर्दैन र हामीलाई फिल्डमा जान पनि थप सहज हुन्छ”, उनले कुनै पनि बाली उत्पादन वृद्धिका लागि गुणस्तरयुक्त बीउको ठूलो भूमिका रहने बताए ।

भरतपुर महानगरपालिका–१४ पटिहानीका हिसान एवं उन्नत बिज वृद्धि कृषक समूहका अध्यक्ष उमनाथ पौडेलले किसानका लागि सरकारी स्तरबाट दिइएको अहिलेसम्मकै राम्रो सेवा अनलाइन प्रणाली भएको बताए । पहिले हातले भरेर आफैँ उपस्थित भई बुझाउनुपर्ने फारम अहिले अनलाइनबाट हुँदा निकै सहज भएको उनले बताए।

उनले भने, “बीउका प्रतिवेदन र रिपोर्ट यहीँबाट भरेर पठाउँछौँ, हेटौँडासम्म पुग्नु पर्दैन, यो समयको बचत र प्रविधिको उच्चतम प्रयोग हो ।” उनले अनलाइनमा फारम भर्नका लागि पहिले प्रयोगशालाका कर्मचारीले सिकाएको र आजकाल आफूहरुले नै भरेर पठाउने गरेको तथा त्यसपछि प्रयोगशालाका कर्मचारी फिल्ड रिपोर्टका लागि मात्र आउने बताए ।

उनले कृषक समूहबाट विगत दुई दशकयता वार्षिक १२ देखि १३ सय मेट्रिक टनसम्म धान, मकै, गहुँ र तोरीलगायतका बीउ उत्पादन हुन्छ । उनि भन्छन्, “आजकालको अनलाइन प्रणालीले काम गर्न र बीउ बिक्री वितरणमा निकै सजिलो भएको छ ।”