काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटलमा हुने गरेको छ । यसबाहेक नेपालीहरूले पनि पछिल्लो समय विभिन्न कार्यक्रम, सभा/सम्मेलन तथा गोष्ठीहरू गर्न तारे होटल नै रोज्न गरेको पाइन्छ । खासगरी विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस्ता होटलहरूको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ।
हाल नेपालमा पाँच तारे होटलको संख्या २२ पुगेको छ । चालू आर्थिक वर्षमै चार वटा नयाँ पाँच तारे होटल सञ्चालनमा आएका छन् । होटल ल्हासा इन्टरनेशनल, अकामा होटल, सिद्धार्थ होटल र बुढानीलकण्ठ हेरिटेज होटल यस आवमा थपिएका नयाँ पाँच तारे होटल हुन् ।
यसरी संख्या सँगै होटलमा लगानी समेत बढेको छ । एउटा तारे होटल खोल्न समेत निकै नै ठूलो लगानीको आवश्यकता हुने हुँदा खर्बौं लगानी यी होटलहरुमा भएको छ ।
त्यसो त नेपालमा पाँच तारेमा समेत उच्च श्रेणीको एउटा ‘पाँच तारे डिलक्स होटल’ पनि सञ्चालनमा रहेको छ । झापाको धुलाबारीमा पवित्र कुमार कार्कीले सञ्चालन गरेको होटल मेची क्राउन एक अर्ब ५ करोड लगानीमा खुलेको हो ।
यससँगै नेपालमा आठ वटा 'हेरिटेज बुटीक' पनि सञ्चालनमा रहेका छन् । २ अर्ब ७८ करोड लगानीमा सूर्य हेरिटेज होटलदेखि दी होटल द्वारिकाज, बसेरा बुटीक होटल यस श्रेणी अन्तर्गतका होटलहरु हुन् । उल्लेखित सबै हेरिटेज बुटीक होटलहरु काठमाडौं उपत्यकामा रहेका छन् ।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी कालीबहादुर भुजेलका अनुसार अहिले धेरै होटलहरु निर्माणाधीन अवस्थामा समेत रहेका छन् । कतिपय भने निर्माण सुरु गर्ने तयारीमा रहेका छन्। नेपालमा यसरी होटल खोल्ने क्रम कोरोना महामारीपछि तीव्र बनेको हो । कोरोना महामारीपछि पर्यटक आगमनमा वृद्धि भएका कारण पनि नेपालमा होटलको लगानी बढेको हो ।
‘कोरोना महामारीपछि होटलमा लगानी तीव्र छ । अहिले नेपालमा पाँच तारे होटल २२ वटा पुगेका छन् । केही सञ्चालनको तयारीमा छन् भने केही निर्माणाधीन अवस्थामा छन् । होटलमा आएको लगानी हेर्दा तारे होटलको संख्या थप बढ्ने देखिन्छ’, उनले आर्थिकन्युजसंग भने ।
बैंकहरुको दुई खर्ब बढी लगानी
पर्यटनको सम्भावना वृद्धि भएसँगै होटलहरुमा बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी निरन्तर बढ्दो देखिन्छ । चालू आर्थिक वर्षको आठ महिनाको मात्रै तथ्यांक हेर्ने हो भने होटलहरुमा बैंक तथा वित्तीय संस्थाहरूले खर्बौ लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले दुई खर्ब २५ अर्ब १२ करोड रुपैयाँ होटलमा लगानी गरेका छन् । वाणिज्य बैंकहरुले मात्रै यस अवधिमा एक खर्ब ९३ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन् । यस अवधिमा विकास बैंकहरुले २६ अर्ब ७३ करोड रुपैयाँ र फाइनान्स कम्पनीले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका छन् ।
पछिल्ला केही वर्ष यता होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी उल्लेख्य बढेको छ । सन् २०१६ मा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रले ३९ अर्ब ९० करोड रुपैयाँ मात्र लगानी गरेका थिए । सन् २०१७ मा यस्तो लगानी ५० अर्ब ९२ करोड पुगेको थियो भने सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ थियो ।
सन् २०१९ मा बैंक तथा वित्तीय संस्थाले होटलहरुमा ९१ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका थिए । उक्त लगानी सन् २०२० मा बढाएर एक खर्ब १३ अर्ब ८९ करोड पुर्याए ।
सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गर्यो । त्यसबेला २० लाख विदेशी पर्यटक ल्याउने सरकारको लक्ष्य थियो । तर, कोरोना महामारीको कारण भ्रमण वर्ष स्थगित भयो । तथापि, त्यसपछि बैंक तथा वित्तीय संस्थाहरूले होटलहरुमा लगानी भने निरन्तर बढाउँदै गएको देखिन्छ ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले लगानी बढ्यो । सन् २०२२ मा बैंक तथा वित्तीय संस्थाको एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ लगानी गरे । सन् २०२१ मा बैंक तथा वित्तीय संस्थाहरूले होटलहरुमा १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका थिए ।
पर्यटकको सम्भाव्यता भन्दा होटलको अधिक क्षमता
होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह होटलमा बढिरहेको लगानीको तुलनामा प्रतिफलको सुनिश्चितता नभएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘‘नेपालमा एक पछि अर्को तारे होटलहरु सञ्चालनमा आइरहेका छन् । राष्ट्रिय बजेटको भन्दा बढी लगानी होटलमा भइसकेको छ । तर, यो लगानीले प्रतिफल दिने सुनिश्चित भने भएको छैन ।’
व्यवसायीहरूका अनुसार यदि होटलमा रहेको कुल बेड संख्याको ५० प्रतिशत भन्दा बढी सेवाग्राहीले भरिएनन् भने सो होटलले आफ्नो लगानी सुरक्षित गर्न सक्दैन । यस्तो अवस्थाको आंकलन नगरी एकपछि अर्को होटलमात्रै बनाउने क्रम बढेकोले त्यसबाट प्रतिफल नपाउने अवस्था आएको बताउँदै उनले भने, ‘गत वर्ष हाम्रोमा दश लाख पर्यटक भित्रिएका थिए । तर, हाम्रो होटलको क्षमता यसको तेब्बर सङ्ख्या अर्थात् ३० लाख सम्मलाई सेवा दिन सक्ने छ । हाम्रोमा क्षमता धेरै भयो, पर्यटक भित्रिने संख्या कम भयो । डिमाण्ड कम सप्लाई धेरै भएको अवस्था छ ।’
उनका अनुसार पर्यटक बढाउने योजना नहुने हो भने होटलका अवस्था थप खस्किँदै जाने देखिन्छ । व्यवसायीहरू सरकारसँग पर्यटक बढाउने कुनै ठोस योजना नै नभएको बताउँछन् । केही योजना बनाएका भए पनि ती कार्यान्वयन हुन वर्षौँ लाग्ने उनीहरूको गुनासो छ । हुन त सरकारका कतिपय योजना त कार्यान्वयन नै हुँदैन । सरकारले ठोस योजना ल्याएर पर्यटक बढाउन नसक्ने हो होटलको लगानी थप धराशायी बन्ने देखिन्छ ।
अन्य व्यवसायी होटलमा ‘डाइभर्ट’!
विशेषगरि फलामे डण्डी, सिमेन्ट, बीमा क्षेत्र, अटोमोबाइल्स लगायतमा जमेको शंकर ग्रुपले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा हात हालेको छ । यो ग्रुपले काठमाडौंको नक्सालमा साढे आठ अर्ब लगानी गरेर पाँच तारे होटल हिल्टन निर्माण गरिरहेको छ । आगामी असार २८ गतेदेखि यो होटल सञ्चालन गर्ने तयारीमा सञ्चालकहरू रहेका छन् ।
चौधरी ग्रुप (सिजी)ले पनि होटल क्षेत्रमा लगानी बढाइरहेको छ । खाद्य तथा पेय, विद्युत् तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कुललगायतका क्षेत्रमा लगानी गरिरहेको यो समूहले पनि पछिल्लो समय होटलमा लगानी बढाइरहेको छ । यस समूहले पाँच तारे होटल र बिजनेस होटलमा लगानी गरेको छ ।
केही सातायता भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले पनि होटलमा लगानी गर्ने चर्चा चलिरहेको छ । दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्णमा गुरुङले आठ अर्ब रुपैयाँ लगानी गर्ने समाचारहरू सार्वजनिक भइरहेका छन् ।
यसरी हेर्दा अन्य व्यवसाय गरिरहेका व्यवसायीहरू पनि पछिल्लो समय होटलमा आकर्षित भएका देखिन्छन् । ‘शंकर ग्रुप, सिजी ग्रुपहरूका अन्य व्यवसाय हुँदाहुँदै होटलमा लगानी गर्न हात हालेका छन् । एनआरएनहरू पनि होटलमा लगानी गरिरहेका छन् । होटल क्षेत्रमा आकर्षण बढेको देखिन्छ । लगानी अनुसार पर्यटक आएनन् भने यो लगानी जोखिममा पर्छ’, विभाग स्रोत भन्छ ।
विमानस्थल देखेर गरिएको लगानी जोखिममा
एकातिर अन्य व्यापार व्यवसायमा निकै जमेका व्यापारिक घरानाहरूले होटलमा लगानी बढाइरहेका छन् भने केही निर्माणाधीन होटलहरु योजना ‘डाइभर्ट’ गरेर अन्य प्रयोजनका लागि भवन उपयोग गर्ने तयारीमा लागेका छन् । बिशेषगरी लुम्बिनी र पोखरामा नयाँ विमानस्थल बनेपछि त्यसैलाई लक्षित गरेर होटलमा लगानी गरेकाहरूले योजना परिवर्तन गरिरहेको अवस्था छ ।
नयाँ विमानस्थल अपेक्षाकृत रुपमा नचलेको हुँदा ती क्षेत्रमा ठूलो लगानी गरेर होटल संचालन गरेकाहरू अहिले समस्यामा परेका छन् । होटल बनाएर सेवा नै सुरु गरिसकेकाको हकमा अब के गर्ने भन्ने समस्या बनेको छ भने होटल बनाउन सुरु गरेका लगानीकर्ताहरूले यस क्षेत्रमा जोखिम देखिएपछि ती भवनहरूलाई अस्पताल, कलेज लगायतमा परिणत गरेको समेत पाइएको छ । यसै सिलसिलामा बन्द अवस्थामा रहेको अन्नपूर्ण होटललाई मल्टिपर्पोज बिल्डिङ बनाउन लागिएको देखिएको छ । जहाँ होटलका अलावा अन्य धेरै व्यावसायिक कारोबार हुनेछ ।
त्यसो त यसबिच केही ठूला होटलहरु बन्द समेत भएका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् । ‘कोरोना महामारीको चरणमा पनि होटलहरु निर्माण भए । केही होटलहरु कोरोनाका कारण निर्माण हुन सकेनन् । केही निर्माण भए । निर्माण सम्पन्न भएका होटलहरुको संख्या पनि हाम्रोमा धेरै छ’, विभागका सूचना अधिकारी भुजेलले भने ।
काठमाडौं बाहिर पनि होटलमा लगानी बढिरहेको छ । विशेषगरि पोखरा र भैरहवामा होटलहरु धेरै खुलिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यस क्षेत्रमा होटलमा लगानी बढेको देखिन्छ । पर्यटनको सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर भने निराश छन् ।
यसको उदाहरणको रुपमा भैरहवाको पवन प्यालेस होटललाई लिन सकिन्छ । पाँच वर्ष अघि सञ्चालनमा आएको होटल अहिले चल्न नसक्ने स्थितिमा पुगेको छ । गत वर्ष बैंकको लिलामीमा परेको यो बैंक बिक्रीमा समेत राखिएको थियो ।
यो होटल सवा दुई अर्ब लागतमा निर्माण गरिएको थियो । बैंकको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि होटल लिलामीमा परेको हो । ‘विमानस्थललाई मध्यनजर गर्दै होटल सञ्चालन गरिएको थियो । विमानस्थल पनि चलेन, सोचेजस्तो व्यापार भएन । लगातार वित्तीय अवस्था कमजोर बन्दै गयो । चलाउनै नसक्ने स्थितिमा पुगियो’, होटल स्रोतले भन्यो ।
पवन प्यालेस मात्रै होइन, अर्बौ लगानी गरेर सञ्चालन गरेका अन्य होटल व्यवसायी पनि लगानीको प्रतिफल कसरी आउला भन्ने चिन्तामा छन् । केही सञ्चालक होटल छाडेर समेत हिँडेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान हुन्छन्, विदेशीहरू आउँछन् भनेर व्यवसायीहरू होटलमा लगानी गर्न हौसिए । तर, ती विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यसले गर्दा पनि होटलको लगानी जोखिममा परेको व्यवसायीहरू बताउँछन् ।
‘अध्ययन नै नगरी सम्भावना छ भन्दै धमाधम होटलहरु खोल्दा लगानी जोखिममा परेको छ । व्यवसायी मात्रै पनि फसेका छैनन् । कतिपय बैंकहरुले होटलमा गरेको लगानी पनि फसिरहेको छ’, पर्यटन विभाग स्रोतले भन्यो ।
त्यत्रो लगानी गरेर विमानस्थल बनेका छन् । सञ्चालन हुन सकेका छैनन् । बाटोघाटो राम्रो छैन । पूर्वाधारमा सरकारले लगानी गरेर पर्यटन क्षेत्रको लगानी राज्यले बचाउनु पर्ने व्यवसायीहरूको माग छ । पूर्वाधारको विकास र विश्व बजारमा प्रचारप्रसार नहुने हो भने होटलहरुमा भइरहेको लगानीले प्रतिफल दिन नसक्ने व्यवसायीहरू नै बताउँछन् ।
‘पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने हो भने पर्यटकको संख्या बढ्न सक्छ । सडक प्रयोग गरेर घुम्ने पर्यटकका लागि हाम्रोमा पूर्वाधार राम्रो छैन । पूर्वाधारको पनि विकास गर्नु पर्छ । सरकारले चासो राख्ने हो भने तेब्बर नै पर्यटक भित्र्याउन सकिने सम्भावना छ’, हानका अध्यक्ष शाहले भने ।