शीर्षकहरू

नेपाली कटहर भनेपछि भारतीय हुरुक्कै

नेपाली कटहर भनेपछि भारतीय हुरुक्कै

जनकपुरधाम । नेपालको सीमावर्ती जिल्ला धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण  भइरहेको छ । 

यसरी भारतमा कटहर बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ प्राप्त गरिरहेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीय बताउँछन् । 

सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्याम शङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताए । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न ठाउँका करिब पाँच सय युवा संलग्न रहेको उनले बताए । 

धनुषा जिल्लामा चार सय २८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा  यस पटक चार हजार चार सय ६७ मेट्रिक टन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागवानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा (कोया) समेत  खाने गरिएको उनले बताए।

धनुषामा प्रति हेक्टर २० देखि २५  मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यस वर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खासगरी धनुषाको उत्तरी ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात् खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताए।  

बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसाय तर्फ अन्य युवा  पनि आकर्षित भई आर्थिक लाभ लिँदै आइरहेका छन् । अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्री वितरण गरी अत्यधिक मुनाफा  गरिरहेका छन् । धनुषाका गाउँ गाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरूको गुनासो छ ।

कटहरको व्यावसायिक रुपमा बिक्री वितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ ।