शीर्षकहरू

देशकै नमूना नगरपालिकाको यस्तो हाल !

देशकै नमूना नगरपालिकाको यस्तो हाल !

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरूबाट २ पटक उत्कृष्ट नगरपालिका घोषित स्थानीय तह हो ।

स्थानीय तहहरूको छाता संगठन नेपाल नगरपालिका संघद्वारा सहरी सेवा प्रवाह तथा सुशासन क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेको आर्थिक वर्ष २०७६/७७ र गत आर्थिक वर्ष २०७७/७८ मा तिलोत्तमा पुरस्कृत भएको हो । सञ्चार माध्यममा पनि उक्त विषयलाई व्यापक प्रचारप्रसार गरियो र तिलोत्तमा एकाएक देशैभर चर्चामा आयो ।

तर बाहिर चर्चामा देखिए पनि नगरपालिकाभित्रै भने सवारीसाधन सडकमा होइन, खेतको बाटोमा कुदाउनुपर्ने अवस्था छ ।

तिलोत्तमा नगरपालिकाको मंगलापुर कान्छीबजार जाने सडकमा दैनिक हजारौं गाडीहरु गुड्छन् । उक्त क्षेत्रमा अहिले बाटो नबन्दा यस क्षेत्रमा चल्ने सवारी साधन खेतबाट हिँड्न बााध्य छन् । उद्योगको कच्चा सामान बोक्ने र यात्रुवाहक गाडी यो सडकमा २४ औं घण्टा गुड्ने गर्छन् । तर, त्यही सडकमा अहिले ठेकदारको लापरवाहीले गर्दा यात्रा प्रभावित बनेको छ ।

२०७९ असार २४ गते ४६ करोड ५९ लाख ९८ हजार ७१ रुपैयाँमा शर्मा सगुन जेभी बुटवलले सडक निर्माणको जिम्मा लिएको थियो । तर ठेकेदार कम्पनीले सडक भत्काए यत्तिकै छाड्दा 'सफा र चिटिक्क' सहरका नामले ख्याति कमाएको यो नगरपालिका कुरुप र कष्टकर बन्न थालेको छ ।

विश्व बैंकको लगानीमा निर्माण हुन लागेको सडक २०८१ भदौ २२ गते सम्ममा सम्पन्न गर्नेगरी भएको ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायी सहदेव खड्काको सञ्चालनमा रहेको शर्मा सगुन जेभी नामक निर्माण कम्पनीले ठेक्का लिएता पनि कामलाई निरन्तरता नदिँदा निर्धारित समयमा नसकिने पक्का भएको छ । सडकको बीच बीचमा कल्भर्ट बनाउने भन्दै दुई महिनायता सडकमा खाडल खनिएका छन् । तर कल्भर्ट नबनाइ यसै छाडिएको छ, यसले आवतजावतमा समस्या देखिएको छ ।

वैकल्पिक सडक नभएको ठाउँमा ठेकदारले मनपरी सडक खनेर अलपत्र पार्दा यात्रुहरु खेतबाट यात्रा गर्न बाध्य छन् । खडेरी समयमा खेतबाट यात्रा गरेका यात्रु वर्षायाम सुरु भएसँगै लामो समय घुमाउरो सडक खोज्दै हिँड्न बाध्य छन् । सडक निर्माणको जिम्मा लिएका खड्काको उक्त कम्पनीले ठेक्का लिएको बेलहिया बुटवल व्यापारिक मार्गको सडक मर्मतको काम पनि अलपत्र पारेको छ । तिलोत्तमामा कल्भर्ट राख्ने बहानामा खनिएका सडक महिनौ दिन सम्म अलपत्र पारि रहेका छन् । उता भैरहवको आँखा अस्पताल परिसर पनि उनले भत्काएर ६ महिना देखि अलपत्र अवस्थामा छोडेका छन्

स्थानीयहरु ठेकेदारको उक्त कार्यसँग आक्रोशित बनेका छन् । कल्भर्ट बनाउने भन्दै सडक खनेर यत्तिकै छाड्दा गाडीहरु खेतबाट हिँड्न थालेको र यसले खेती गर्न समस्या भएको स्थानीय तिर्थ पन्थी बताउँछन् । उनले वैकल्पिक सडक नदिइ जथाभावी खन्दा यात्रुहरुलाई समस्या परेको बताए । खडेरीमा खेतको प्रयोग भए पनि वर्षाको समयमा धान लगाउने भएकाले खेतलाई सडक बनाउँदा भत्किएको जमिन ठेकेदारले बनाइदिनुपर्ने उनको भनाइ छ । खेतबाट गाडी गुड्दा खेत भत्किएको गुनासो उनले गरे । यसको जिम्मा नगरपालिकाले लिनुपर्ने उनले बताए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य किशोर पंगेनीले सडक बनाउने ठेकेदारको लापरवाहीले गर्दा सडकमा गुड्ने मालवाहक र यात्रुवाहक गाडीले सास्ती व्यहोर्नु परेको बताए । उद्योगलाई चाहिने कच्चा पदार्थ अभावले मंगलापुर कान्छीबजारका उद्योग महिनौँदेखि सञ्चालन गर्न नसकिएको जानकारी उनले दिए । सडक बनाउँदा बैकल्पिक बाटो नदिँदा उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यसैगरी करहिया टोल विकास समितिका अध्यक्ष श्यामसुन्दर शर्माले मङ्गलापुर कान्छीबजारको सडकमा कल्भर्ट बनाउने क्रममा ठेकदारले गरेको ढिलासुस्तीले स्थानीय समस्यामा परेको बताए । स्थानीयसँग सहकार्य नगरी ठेकेदारले मनपरी ढंगबाट सडक खनेको उनको भनाइ छ । ठेकेदारको लापरबाहीले स्थानीयले दु:ख पाइरहेको उनी बताउँछन् ।

स्थानीय हरिराम यादवले सडकको निर्माणलाई समयमै पूरा नगर्दा सवारीसाधन आवतजावतमा प्रत्यक्ष असर गरेको बताए । उनले ठेकेदारले खाडल खनेर छोड्दा मोटरसाइकल तथा साइकलहरु खाडलमा परेर दुर्घटना बढेको पनि जानकारी दिए । 

यस्तै स्थानीय रामजित पालले  सुख्खा समय भएकाले खेतको बाटोलाई गन्तव्य बनाएको तर बर्षासम्म सडक निर्माण नभए दिनचर्या प्रभावित बन्ने चिन्ता व्यक्त गरे । उनले खडेरीमा खेतबाट भए पनि यात्रा गरेको बताउँदै वर्षामा यो क्षेत्रमा यात्रा गर्न नसकिने बताए ।

स्थानीय रामकेश साहानीले सम्बन्धित निकायको ध्यानाकर्षण नहुँदा स्थानीय जनताले समस्या खेपिरहनु परेकोमा दुःख व्यक्त गरे । उनी भन्छन्, “हामी दैनिक यो सडकमा यात्रा गर्छौँ, कति कष्ट व्यहोर्नु परेको छ, यहाँ जनप्रतिनिधि र ठेकेदारलाईले अनदेखा गर्दा हामीले दु:ख पायौँ ।'

मंगलापुरका हरिप्रसाद रेग्मीले सडक निर्माणको काममा ठेकेदारको ढिलासुस्तीका कारण मानिसहरुको आवतजावत पनि घटेको र यसले व्यापार व्यवसाय समेत ठप्प भएको बताए । जसकारण विदेश पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । विगतमा दैनिक बीस हजारको हाराहारीमा व्यापार हुने ठाउँमा अहिले मुस्किलले पाँच हजारको व्यापार हुने गरेको उनको भनाइ छ । अहिले घरभाडा तिर्न समेत हम्मेहम्मे परेको गुनासो उनले गरे ।

मंगलापुर कान्छीबजार सडक खण्डका सवारी चालक बाबुराम पराजुलीले सडकको अवस्थाले यातायात  व्यवसायमा पनि  प्रत्यक्ष असर गरेको जानकारी दिए । खेतको बाटो हुँदै गाडी चलाउँदा गाडीहरु अत्यधिक बिग्रने गरेको उनको भनाइ छ ।

अटो चालक तामलाल कुमालले सडकमा भएका खाल्डाखुल्डीले अटो चलाउन गाह्रो भएको बताए । घुमाउरो बाटो हिँड्दा लागत बढ्ने, यात्रुहरु झिज्जिने र भाडा दिन समेत आनाकानी गर्ने गरेको गुनासो उनले गरे ।

मिलिजुली टोल विकास समितिका अध्यक्ष बाबुराम रेग्मीले बारम्वार ठेकदार इन्जिनियरलाई सडक र नाली निर्माणको लागी दबाब दिँदा पनि सडक विकासमा ध्यान नदिएको गुनासो गरे । उनले दैनिक हजारौं गाडी गुडने ठाउँमा दुई महिनादेखि सडक भत्काएर काम नगर्नु भनेको ठेकेदार गैरजिम्मेवार हुनु भएको बताए । यसविरुद्ध कानुनी उपचार खोज्नुपर्ने उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ७ का अध्यक्ष देवीप्रसाद पंगेनीले मंगलापुर कान्छीबजार सडक खण्डको लागि ठेकेदारको लापरबाहीले यात्रुले सास्ती भोगेको बताउँदै ठेकेदारले पालिकाको निर्देशन समेत अटेर गरेको बताए । जनप्रतिनिधिहरुलाई समेत ठेकेदारले नटेर्दा स्थानीयले दुःख पाएको पंगेनीको भनाइ छ ।

स्थानीयहरुले समस्या सिर्जना गरेको गुनासो गरे पनि ठेकेदारलाई नियमन गर्ने निकाय तिलोत्तमा नगरपालिका भने जिम्मेवार बन्न सकेको छैन । ठेकेदारले सुरुमा कच्चा पदार्थको अभाव देखाउँदै आएको र पछिल्लो समय काममा नै ढिलासुस्ती गरेको नगरका प्रमुख रामकृष्ण खाण बताउँछन् । सडकमा यात्रुहरुलाई सहजता प्रदान गर्नको लागि पालिकाले पहल गरिरहेको उनको भनाइ छ ।

यता ठेक्का पाएको सगुन जेभी बुटवल कम्पनीले भने  पालिकाको कारण काममा समस्या सिर्जना भएको आरोप लगाउँदै आएको छ ।

मंगलापुर कान्छीबजार सडक खण्ड निर्माणका इन्जिनियर शैलेन्द्र भण्डारीले भने सडक निर्माणको काम ढिलाइ भएको स्वीकार गर्दै कल्भर्ट निर्माणका लागि खनिएका खाडल छिट्टै पुर्ने बताए । स्थानीयबाट कुनै गुनासो आफूसमक्ष नआएको बताउँदै अन्यत्रको सडकमा काम गर्न कामदार लागेकाले ढिला भएको उनको भनाइ छ । वर्षा सुरु नहुँदै सडकमा भएका खाल्डा पुरेर हिँड्न लायक बनाइने उनले बताए ।