शीर्षकहरू

रुपन्देहीमा तस्करको बिगबिगी, प्रहरी प्रशासन मूकदर्शक

रुपन्देहीमा तस्करको बिगबिगी, प्रहरी प्रशासन मूकदर्शक

रुपन्देही ।  रुपन्देही जिल्लाको मर्चवार क्षेत्रमा चोरी तस्करी मैलाएको छ । भारतसँग सीमा जोडिएको यो क्षेत्रबाट व्यापक चोरी तस्करी भइरहेको भए पनि त्यहाँ खटिएका सुरक्षाकर्मी भने मूकदर्शक झैँ बनेका छन् ।

यो क्षेत्रमा इलाका प्रहरी कार्यालय बेथरी, इलाका प्रहरी कार्यालय मर्चवार, इलाका प्रहरी कार्यालय मझगावा, दुर्गौलिया प्रहरी चौकी लगायतका प्रहरी चौकीहरू छन् । यी चौकीहरूको सामुन्नेको बाटोबाट चौबिसै घण्टा चिनी, प्याज, खाद्यान्न र मोटर पार्टसका सामग्रीहरू तस्करी भइरहेको स्थानीयहरू बताउँछन् ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा उल्लेखित प्रहरी चौकी र सशस्त्र प्रहरीका बिओपीहरु छन् तर तस्करले प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारेर दिन र रातमा सामान ओसारपसार गर्ने गरेको स्थानीयको आरोप छ । त्यसो त सो क्षेत्रमा पुग्ने जो कोहीले साइकल र मोटरसाइकलमा भारततर्फबाट सामानहरू लोड गरेर ल्याइरहेको जुनसुकै समयमा पनि देख्न सक्छ ।

त्यसमा पनि दुर्गौलिया प्रहरी चौकीको नाका तस्करी हुने मुख्य नाकाको रुपमा चर्चित छ । त्यहाँ तस्करले चोक चोकमा आफ्ना मान्छे राखेर तस्कर गर्ने गरेको बताइन्छ । सीमा क्षेत्रका सशस्त्र प्रहरी र नेपाल प्रहरी तस्करलाई पक्राउ गर्ने कार्यमा चासो राख्ने गरेका छैनन् ।

मर्चवारका यी इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको प्रमुख हुन जिल्लामा मोलमोलाइ गरेर प्रमुख भएर जाने गरेको जिल्ला प्रहरी कार्यालय स्थित स्रोत बताउँछ ।