शीर्षकहरू

स्थानीय उत्पादनबाट उद्यम, वार्षिक बचत ६ लाख बढी

स्थानीय उत्पादनबाट उद्यम, वार्षिक बचत ६ लाख बढी

काठमाडौं । मुस्ताङकी सकुन रशैली बिक मुस्ताङको मार्फादेखि आलुसम्मको स्वाद देशभर चखाइरहेकी छन् । स्थानीय मार्फा स्याउ, मुस्ताङ आलु, सिस्नुको पाउडरलगायत प्रशोधन गरी उनले उद्यम चलाइरहेकी छन् ।

उद्यमीका रुपमा उनको बहुपरिचय छ । उनले  फलफूल प्रशोधन उद्योग सञ्चालन गरेको पनि एक दशक बितिसकेको छ । देउराली होटल एण्ड रेष्टुरेन्टकी मालिक समेत रहेकी उनी महिला उद्यमि संघ मुस्ताङको अध्यक्ष पनि हुन् । यति मात्रै नभएर उनी मार्फा तरकारी तथा फलफूल प्रशोधन उद्योगको प्रोपाइटर पनि हुन् ।

होटल व्यावसाय सञ्चालन गर्दागर्दै उनमा नवीनतम् आइडिया आयो । मुस्ताङमा स्याउ त जताततै पाइन्छ, त्यसको आकार र प्रकार बनाएर किन नबेच्ने? अनि उनले त्यहाँ आउने ग्राहकलाई सुख्खा स्याउ (ड्राई एप्पल) बेच्डन थालिन् । ग्राहकले त्यसको स्वाद निकै मन पराए । त्यसपछि ड्राई एप्पलबाट सुरु भएको उनको व्यवसाय पनि विस्तार हुँदै गयो ।

त्यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोचले ११ वर्षअघि २०७० सालमा उनले जिल्ला घरेलुमा गएर मार्फा फलफूल प्रशोधन उद्योग दर्ता गरिन् । त्यसको एक वर्षमै उद्योग सञ्चालनमा आयो ।

उनले फलफूल प्रशोधन उद्योग सञ्चालन गरेको १० वर्ष भइसकेको छ । उद्योग खोल्नुपूर्व उनी एउटा संस्थामा काम गर्थिन् । संस्थामा रहेर उनले महिला र बालअधिकारको क्षेत्रमा काम गरिन् । त्यसैक्रममा श्रीमान् परदेशिए । संस्थामा ५ वर्ष कार्यकालको सकिएपछि उनी केही समय खालि बसिन् ।

संस्थाको कार्यकाल पनि सकिएपछि यत्तिकै बस्नु हुदैन भनेर होटल व्यवसाय सुरु गरिन् । होटल सञ्चालनकै क्रममा उनले प्रशोधन उद्योग सञ्चालनको सोच बनाइन् र हाल उक्त उद्योगबाट मुस्ताङको आलुबाट चिप्स , सिस्नुको पाउडर , स्थानीय स्तरमा उत्पादन भएका कच्चा पदार्थबाट बनाइएको छोपलगायत १९ प्रकारका सामग्री उत्पादन गरिरहेकी छन् । सिजनमा १० देखि १५ जना महिलालाई रोजगारी समेत दिन्छिन् ।

मुस्ताङ जिल्लामा १२ बजेपछि हावा चल्ने भएकाले आफ्नो उद्योगबाट हाइजनिक तरिकाले प्रशोधन भएका सामग्री उत्पादन हुने उनी बताउँछिन् । हाल उक्त उद्योगबाट कच्चा पदार्थ, ढुवानी, श्रमिक लागत सबै कटाएर वार्षिक ६ लाखभन्दा बढी बचत हुने उनी बताउँछिन् ।

उसो त उद्यम सञ्चालनका सिलसिलामा विभिन्न बाधाहरु नआएका होइनन् । उद्योग सुरु गर्दा ग्लस्स हाउस बनाउँदा ४५ लाख इन्जिनियरिङ लागत आएको थियो । त्यस समयमा उनलाई त्यति पैसा जुटाउन सहज थिएन । तर योजना भएपछि विकल्प अनेक हुन्छन् भनेजस्तै उनले एसियाली विकास बैंकबाट महिला उद्यमशीलतामा उनले सहयोग लिइन् र व्यवसाय सञ्चालन गरिन् ।

हरेक काम गर्न कठिनाइ हुने भए पनि हार नमाने सफलता हासिल गर्न सकिने उनी बताउँछिन् । चाहेको खण्डमा आत्मविश्वासका साथ काम गर्ने हो भने महिला पनि पुरुषभन्दा कम नहुने उनको बुझाइ छ । 'महिला हो भनेर पछाडि हट्ने हैन, अवसर आफैFले सृजना गरेर अगाडि बढ्नुपर्छ,' उनी भन्छिन् ।

हरेक क्षेत्रमा सम्भवान र चुनौती हुने, तिनलाई मिलाएर लान सके सफल भइने उनी बताउँछिन् ।