शीर्षकहरू

सगरमाथा आरोही पत्रकार, जो सफल उद्यमी बन्ने प्रयासमा छिन्

सगरमाथा आरोही पत्रकार, जो सफल उद्यमी बन्ने प्रयासमा छिन्

काठमाडौं । पर्यटन पत्रकारितासँगै घरगृहस्थी सम्हालिरहेकी ललितपुरकी कल्पना महर्जन नेपाल र चीन दुवै मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला हुन् । उनले २०७५ जेठ ९ गते नेपालतिरबाट सगरमाथा आरोहण गरेकी थिइन् । त्यसको ठीक एक वर्षपछि २०७६ जेठ ९ गते उनले तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरिन् ।

उनै कीर्तिमानी महर्जन यतिबेला परिवारको व्यवसाय सम्हालिरहेकी छन् । २०५३ मा ससुराले सुरु गरेको तेल व्यवसायमा उनी सक्रिय रुपमा लागेकी छन् । २०५३ मा ससुराले दर्ता गरेको टुचिखा तोरी तेलको मार्केटिङ यतिबेला उनले हेरिरहेकी छन् । व्यवासय दर्ता भए पनि सक्रिय रुपमा सञ्चालन भने हुन सकेको थिएन । त्यसैलाई विस्तार गर्नेगरी आफू परिवारको व्यवसायमा सक्रिय भएको उनी बताउँछिन् ।

'सगरमाथा आरोहण गर्दा परिवारको साथ सहयोग पाएर मैले सफलता हाँसिल गरेँ, परिवारले मलाई त्यसबेला सहयोग नगरेको भए म दुवै मोहडाबाट सगरमाथा आरोहण गर्न आँट्न सक्दैन थिएँ,' उनले भनिन्, 'त्यसैले अब परिवारको व्यवसायमा पनि म सक्रिय भएर अब परिवारलाई सहयोग गर्नुपर्छ भन्ने लागेर व्यवसायमा पनि सक्रिय भएँ ।'

बजारमा पाइने मिसावट गरिएका खानेतेलले दीर्घकालीन समयसम्म स्वास्थ्यमा असर गर्नसक्ने भएकाले शुद्ध तोरीको तेल बजारमा आफूहरुले ल्याइराखेको उनले बताइन् । 'जसले शुद्ध तोरीको तेल खोजिगरिरहनु भएको छ । उहाँहरुलाई लक्षित गरेर यो उत्पादन सुरु गरेका हौँ,' उनले भनिन् ।

हाल तेल उत्पादनका लागि ४ जना कामदार पनि राखिएको र सुरुवाती फेजमै भएकाले व्यवसाय विस्तारै बढ्दै गएको उनले बताइन् । सुरुमा स्थानीय तोरी संकलन गरी उत्पादन सुरु गरिएकोमा अहिले भारतदेखि समेत तोरी आयात गरी तेल उत्पादन गर्ने गरेको उनले बताइन् । 'नेपालमा मात्रै उत्पादन भएको तोरी अपूग हुँदा भारतबाट समेत आयात गरिराखेका छौँ,' उनले भनिन् ।

व्यवसायमा सक्रिय उनी युवापुस्तालाई पनि नवीनतम् उद्यममा लागे नेपालमै सफलता सम्भव भएको बताउँछिन् । आफ्नो खुबी र इच्छाको पहिचान गरी उद्यमशीलतामा लाग्न नयाँ उद्यमीलाई उनको सुझाव छ । युवाले नेपालमै गर्न चाहेमा सरकारले पनि व्यवसायमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।