शीर्षकहरू

जसले बाउबाजेले दिएको ज्ञानलाई पेसा बनाए

जसले बाउबाजेले दिएको ज्ञानलाई पेसा बनाए

काठमाडौं । सिन्धुपाल्चोक स्थायी घर भएका बद्रिप्रसाद लामिछानेको पेसा आयुर्वेद हो । उनले यही क्षेत्रमा २७ वर्ष बिताइसकेका छन् । उनले कुनै इन्स्टिच्युट वा युनिभर्सिटीमा गएर यो ज्ञान सिकेका होइनन्, यो उनको पुर्खाले सिक्दै र गर्दै आएको परम्परागत ज्ञान हो । त्यही ज्ञानलाई उनले पेसा बनाएका छन् ।

२०५३ सालमा करिब ६० हजार लगानीमा उनले यो पेसा सुरु गरेका थिए । भाडाका २ कोठाबाट सुरु भएको उक्त व्यवसाय फैलिँदै गएको उनी बताउँछन् । कोरोना अघिसम्म उनले व्यवसायका लागि सहायक कर्मचारी पनि राखेका थिए । तर अहिले परिवारका सदस्यले नै सहयोग गरिरहेको जानकारी उनले दिए ।

क्याम्पस पढ्दै गर्दा राष्ट्रगुरु योगी नरहरिनाथको समेत संगत गर्न पाएको र त्यसपछि नै आफू यस क्षेत्रतर्फ आकर्षित भएको उनी बताउँछन् । उनी सिन्धुपाल्चोककै माथिल्ला लेकहरुबाट जडिबुटी संकलन गर्छन् । र, घरेलु स्तरबाट प्रशोधन गरी औषधि बनाउँछन् । अनि काठमाडौंसहित देशभर आयुर्वेदिक विधिअनुसार विभिन्न रोगहरुको उपचारमा खटिन्छन् । उनले पायल्स, दम, पुरानो खोकी, निमोनिया, ग्याष्ट्रिक लगायत रोगको औषधि बनाएका छन् । ४० प्रतिशतसम्म रोगको उपचार आफैँले पनि गर्ने उनको भनाइ छ ।

उनी भन्छन्, 'आयुर्वेदिक भनेको आयुलाई बढाउने? कसरी दीर्घजीवी हुने भनेर जडिबुटीजन्य रआहारविहार सूक्तिजन्य शास्त्र हो ।  सबै किसिमको समस्याको समाधान आयुर्वेदभित्र छ।'  सरकारले सहयोग गरेमा सबै रोगको उपचार आर्युवेदमा हुने पनि उनी बताउँछन् । तर सरकारले यस क्षेत्रलाई सहयोग नगरेको उनको आरोप छ । 'केमिकलजन्य पदार्थबाट बन्ने कडा एन्टीबाइटिक औषधि उद्योगले खाद्य जडिबुटीबाट बन्ने औषधिलाई नियमन गरिराखेको छ । यो आर्युवेद क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो,' उनी भन्छन् ।

जडिबुटीको उपलब्धता, पर्याप्त जनशक्ति र सरकारी सहयोग हुने हो भने आर्युवेद अबको एक मात्रै उत्तम विकल्प हुने उनले बताए ।सरकारी सहयोग नहुँदा अझैँ पनि आर्युवेद व्यवसायका रुपमा नफैलिसकेको तर परम्परागत ज्ञान बाँच‌ोस् र पुस्तान्तरण होस् भनेर आफू यस क्षेत्रमा खटिएको उनले बताए ।