शीर्षकहरू

‘नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मारिरहेको छ, अबको पाँच वर्षपछि उपचार गर्न विदेश जानु पर्दैन’

‘नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मारिरहेको छ, अबको पाँच वर्षपछि उपचार गर्न विदेश जानु पर्दैन’

पछिल्लो समय नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धिहरू हासिल गरेको छ । विभिन्न जटिल रोगका उपचार समेत नेपालमै सम्भव भएका उदाहरणहरू प्रशस्त छन् । तर, स्वास्थ्य सेवा समावेशी हुन सकेको छैन । यसको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए पनि जनशक्ति विकास तथा सेवाको पहुँच भने चित्त बुझ्दो छैन । भौगोलिक कठिनाइ, औषधि, औजार र उपकरण आपूर्ति गर्न सकिएको छैन । स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन तथा निजी क्षेत्रमा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरबारे अझै पनि प्रश्न उठ्ने गर्छ । नेपालमा स्वास्थ्य क्षेत्रको अवस्था, अवसर र चुनौतीबारे आर्थिकन्युज डटकमले नर्भिक इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:   

यहाँ लामो समय वित्तीय संस्थाहरूमा काम गरिसक्नु भएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा जोडिनु भएको छ । त्यहाँ र यहाँबिचको भिन्नता के पाउनु भएको छ ?  

हरेक क्षेत्रमा व्यवस्थापनको स्वरूप लगभग एउटै हुन्छ । अवसर र चुनौतीहरू केही फरक हुन्छन् । मैले मेरो करिअर सरकारी निकायबाट गरे । सरकारी निकायको व्यवस्थापनको अनुभव पनि भयो । त्यसपछि अन्तर्राष्ट्रिय नियोगहरूमा काम गरे । त्यहाँ काम गर्ने वातावरण र तौरतरिका पनि सिकियो । मिडियामा पनि काम गरे । झण्डै १६ वर्ष बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । त्यसपछि म स्वास्थ्य क्षेत्रमा जोडिए । 

३२/३३ वर्षको दौरानमा म व्यवस्थापन र नेतृत्वदायी भूमिकामै रहे । बैंकिङ क्षेत्र र अस्पतालहरूमा विशेषगरि मैले दुई वटा फरक देखे । अस्पतालमा मुद्दाहरूको विषयमा अस्पतालमा बढी ‘क्रिटिकल’ हुन्छ । यहाँ मानिसको ज्यानसँग जोडिएको हुन्छ । बैंकमा त केही कारणले डुबिहाले पैसा न डुब्ने हो । पैसा र ज्यान फरक फरक चिजहरू हुन् । 

बैंकहरुमा निश्चित समयको जागिर हो । स्वास्थ्य क्षेत्र २४ घण्टे नै भयो । यसमा पनि चुनौती छ । बैंकिङमा तलदेखि माथिसम्म सबै शिक्षित कर्मचारी हुन्छन् । तर, अस्पतालहरूमा भने यो कुरामा पनि निकै फरक छ । सफाइ कर्मचारीदेखि र ठूला डाक्टरहरूलाई समेत मिलाएर व्यवस्थापन गर्नु पर्ने चुनौती हुन्छन् । 

बैंकमा मैले ६ वटा मर्जर एक्विजिसन सम्पन्न गरे । ती संस्थाहरूको मैले जिम्मा बोक्दा मैले समस्याग्रस्त अवस्थामा थिए । ती संस्थाहरूलाई मर्जर वा एक्विजिसनमा नलगेको भए ताल्चा लाग्न सक्थे । उनीहरूलाई म निस्किदा राम्रो निकास दिएर निस्किएको हो । यसमा मलाइ पूर्ण सन्तुष्टि छ ।  

स्वास्थ्य क्षेत्रमा जोडिएर काम गरिरहँदा स्वास्थ्यलाई बुझेका मानिसहरू कतिको भेटाउनु भएको छ ? 

नेपालमा अहिले पनि करिब ४७/४८ प्रतिशत जनसंख्यामा मात्रै स्वास्थ्य सेवा पुगेको छ । त्यो पनि सहरी एरियामा बढी छ । गाउँ गाउँमा अझै पनि स्वास्थ्य सेवा पुग्न सकिरहेको छैन । 

अहिले सरकारले प्रत्येक गाउँपालिकामा १५ बेडको अस्पताल बनाउने भनेर नीति बनाएको छ । साधन स्रोतको अभाव छ । कहीँ बनिसकेका छन् भने कहीँ बन्न बाँकी नै रहेको छ । विस्तारै हामी स्वास्थ्य क्षेत्रको गतिविधिलाई बढाउँदै लगिरहेको चरणमा छौँ । 

स्वास्थ्य जनचेतनाको कुरा गर्ने हो भने सहरी क्षेत्रमा जनचेतना रहेको छ । तर, गाउँमा अझै पनि अभाव रहेको छ । काठमाडौं जिल्ला आसपासका जिल्लाहरूमा नै स्वास्थ्य जनचेतनाको कमी छ । बाहिरको अवस्थामा हामीले सहजै अनुमान गर्न सक्छौँ ।  

बैंकिङ क्षेत्रमा वित्तीय सचेतनाका कार्यक्रम चलाए जस्तै स्वास्थ्य क्षेत्रमा पनि आवश्यक छ । हामी त्यसमा धेरै पछाडि छौँ । सरकार र निजी क्षेत्र मिलेर स्वास्थ्य जनचेतनाका कार्यक्रम चलाउनु पर्ने अति आवश्यक रहेको छ । 

स्वास्थ्य र अर्थतन्त्रलाई कसरी जोडेर हेर्नु सकिन्छ ?

स्वास्थ्य र अर्थतन्त्रका विषयमा धेरै कामहरू भएका छन् । मिलाउनु मात्रै बाँकी छ । मेकानिजम र मोडालिटी अलिकति मिलाउन पर्ने छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्‍यो ।  कतिपय गाउँपालिकाहरूले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम पनि तिरिदिने गरेको छ । एक लाखसम्मको उपचार खर्च स्वास्थ्य बीमाबाट आयो । एउटा गरिब, विपन्न, आम नागरिकका लागि त्यो भनेको ठूलो सहुलियत हो । तर, त्यसलाई व्यवस्थित गर्नु पर्छ  ।

पहिलाभन्दा हामी केही पाइला अगाडी सरिसक्यौं । व्यवस्थित गर्न भने सकेका छैनौँ । यसलाई व्यवस्थित गर्न सक्यौ भने यसले राम्रा नतिजा दिन्छ । स्वास्थ्य बीमा कार्यक्रम प्राथमिकतामा राखेर सरकारले अगाडी बढाउन आवश्यक छ । 

त्यतिले मात्रै सम्भव छ ? 

एक लाख रुपैयाँमा सरकारी अस्पताल जाने हो भने प्रमुख उपचार सम्भव छ । सरकारी अस्पतालमा सर्जरी सम्भव छ । त्यो पर्याप्त रकम हो । निजी अस्पताल आउनु भयो भने त्यो पैसाले केही पनि हुँदैन । महँगो पर्छ । यसको कारण भनेको सरकारी अस्पताल भनेको सरकारको फण्डेड हो । एक लाख बाहेकको सारा खर्च सरकारले उठाएको छ । 

नर्भिकको कुरा गर्ने हो भने ३७ सय रुपैयाँमा बेड उपलब्ध हुन्छ । सरकारी अस्पतालमा त्यो बेड सित्तैमा हुन्छ । त्यो सरकारको कोषबाट हुने भएकोले निःशुल्क यो सुविधा पाइएको हो । तर, निजी अस्पतालले त्यही पैसाबाट सिस्टम चलाउने हो । 

अस्पतालको नाफा कम छ । समग्र व्यवसायलाई हेर्ने हो भने कम नाफा कमाउने कम्पनी भनेको अस्पताल एक हो । अस्पतालको खर्च निकै ठूलो हुन्छ । त्यसैले पनि धेरै चर्चा भइरहेको विषय पनि यो हो की काठमाडौं उपत्यकाका धेरै अस्पतालहरू बन्द हुँदैछन् । सुरु भइसके अझै बन्द हुने क्रममा छन् । यो किन भएको हो भने उनीहरूले खर्च नै थेग्न सकेनन् । 

धेरै देशहरूमा शिक्षा र स्वास्थ्यलाई सरकारले जिम्मा लिएको हुन्छ । तर, हाम्रोमा त्यस्तो छैन । हामीलाई त झनै धेरै यस्तो व्यवस्थाको आवश्यक होला नी होइन ? 

युरोप, अमेरिका, विकसित अर्थतन्त्र भएका मुलुकहरूमा सबै बीमाले थेगिदिएको छ । स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । स्वास्थ्य बीमा जसले किनेको छैन उसले उपचार गराउन सक्दैन । 

अमेरिकामा त झन् स्वास्थ्य बीमा गरेको भए पनि उपचार गराउन सक्ने अवस्था छैन । बीमाले शतप्रतिशत कभर गर्दैन । ८०/९० प्रतिशत कभर गरिदिँदा त १० प्रतिशत तिर्न सक्ने पैसा हुँदैन त्यहाँ । अमेरिकामा बस्ने व्यक्तिहरू मुख्य अपरेसन जस्ता उपचारको लागि अन्य देशमा जान्छन् । हामीले देखेजस्तो त्यस्तो सजिलो छैन । त्यहाँको हेल्थ केयर महँगो छ । 

यदि हामीले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने हो भने बीमाको गतिविधिहरूलाई प्रमाेट गर्नु पर्छ । क्यासलेस इन्स्योरेन्स सिस्टममा हामी जानु पर्छ । त्यसको लागि वातावरणहरू तयार हुँदैछन् । नेपालमा पनि विस्तारै रिफर्मका चिजहरू नभएका होइनन् । स्पिड कम छ । सरकारसँग साधन र स्रोतको अभाव छ । विस्तारै अगाडी बढाउने हो । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी क्षेत्रले ठूलो भूमिका खेलेको छ । 

नेपालीहरू पनि उपचारको लागि विदेश जाने गरेका छन् । यहाँ सुविधा नभएर हो की विश्वास कम भएर हो ? 

पहिले सामान्य उपचारको लागि पनि विदेश जानु पर्ने अवस्था थियो । पहिलेको भन्दा अहिलेको ट्रेन्ड फेरिएको छ । सामान्य उपचारको लागि अहिले नेपालीहरू विदेश जाँदैन । कुनै जटिल रोग लाग्यो भने त्यसको क्रम चुक गर्न जाने परिपाटी अहिले पनि छ । 

नेपाली बजारमा भन्दा भारतमा लेटेस्ट टेक्नोलोजीको प्रयोग बढी भइरहेको छ । केही वर्ष अगाडीसम्म पेट स्क्यान नेपालमा थिएन त्यसका लागि बाहिर जानु नै पर्ने थियो । तर, अहिले त्यो नेपालमै उपलब्ध भइसक्यो । पहिले किमोथेरापी हुँदैन थियो तर अहिले हुन्छ । नेपालमा नहुने केही पनि छैन । तथापि बाहिर क्रस चेकका लागि रेफर परिपाटी छ ।

हिजोका दिनमा सामान्य केही हुँदैमा जान्थे भने अहिले जटिलतामा जाने गरेका छन् । अबको पाँच वर्षपछि त्यसको लागि पनि जानु पर्दैन । स्वास्थ्य क्षेत्रले नेपालमा राम्रो फड्को मारिरहेको छ । नेपालमा राम्रा राम्रा डाक्टरहरू छन् । स्रोत र साधन पर्याप्त हुने हो भने जस्तो उपचार पनि नेपालमै सम्भव छ । 

बाहिरबाट उपचार गर्न नेपाल आउने वातावरण बनाउन सकिँदैन ? 

बाहिरबाट नेपालमा उपचार गर्न आउने वातावरण बनिसकेको छैन । तर, भोलीका दिनमा सम्भावना छ । नर्भिकमै पनि झण्डै ५२ देशका नागरिकहरूले उपचार गराएको हामीसँग रेकर्ड छ । केही दिन अघि मात्रै ९ देशका नागरिक नर्भिकमा उपचारको लागि आएका थिए । उनीहरूले नर्भिकको उपचारबाट खुसी भएका छन् । 

नेपाली कल्चर अनुसार नर्सिङ केयर जुन छ त्यसबाट विदेशीहरू खुसी हुन्छन् । उनीहरूको देशमा यतिको केयर पाउँदैनन् । त्यसैले नेपाल स्वास्थ्य उपचारको राम्रो गन्तव्य बन्न सक्छ । त्यसको लागि हामीले निजी क्षेत्रले मात्रै गरे हुँदैन । सरकार पनि मिलेर अगाडी बढ्नु पर्छ ।