शीर्षकहरू

कतारका शेख आउन केही घण्टा बाँकी, धमाधम टालिँदैछ राजा हिँड्ने सडक (फोटोफिचर)

कतारका शेख आउन केही घण्टा बाँकी, धमाधम टालिँदैछ राजा हिँड्ने सडक (फोटोफिचर)

काठमाडौं । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै छन् । उनको स्वागतका लागि काठमाडौंका मुख्य सडकहरू चिटिक्क पारिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, जमल, लैनचौरलगायत क्षेत्रमा स्वागतद्वार बनाइएको छ । यी क्षेत्रका सडकहरू सफाइ गरिएको छ ।  

कतारका राजा अवतरण गर्न केही घण्टा मात्रै बाँकी रहँदा समेत मुख्य सडकका खाल्डाहरू पुर्ने तथा उक्किएको पिच टाल्ने काम चलिरहेको छ । 

हुनत यो सिलसिला पञ्चायत कालदेखि नै चल्दै आएको हो । काठमाडौंबासीहरु अहिले पनि सम्झन्छन् की पहिलो पटक सडक टल्काइएको र खाल्डाखुल्डी नदेखिनेगरि पुरिएको घटना तेस्रो सार्क सम्मेलन नेपालमा आयोजना हुँदा तत्कालीन पञ्चायती शासकहरूले गरेका थिए । गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्दा समेत झन्डै चार दशकअघिकै विकासे नीति सडकमा छल्किदा उपत्यकावासीहरू दिग्दार मानिरहेका छन् । 

काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झन्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । 

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतल निवास, राजा बस्ने पाँचतारे सोल्टी होटेल, कार्यक्रम हुने स्थल द्वारिकाज होटेलसम्मको सडक चिटिक्क पारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउने भएका हुन् ।