शीर्षकहरू

रुसी सेनामा भर्ती भएकाहरूका आफन्तजन १३ बुँदे माग सहित अनसनमा (फोटो फिचर सहित)

रुसी सेनामा भर्ती भएकाहरूका आफन्तजन १३ बुँदे माग सहित अनसनमा (फोटो फिचर सहित)

काठमाडौँ । रुसी सेनामा भर्ती भएका आफ्ना आफन्तको स्वदेश फिर्तीको लागि पहल गरिदिन माग गर्दै परिवारजनले आज (शुक्रबार) देखी काठमाडौँको माइतीघर मण्डलामा अनसन सुरु गरेका छन् ।

सुर्खेतका किसन थापा पनि अनसनमा छन् । उनका साला (श्रीमतीका भाइ) विगत छ महिना देखी रुसी सेनामा भर्ती भएर सम्पर्क विहीन अवस्थामा छन् ।

त्यसैगरी, अनसनमा आफ्ना रुसी सेनामा भर्ती भई बेपत्ता भएका श्रीमान्को खोजी र स्वदेश फिर्तीको माग गर्दै काखमा दुधे बालक बोकेका महिलाहरू पनि छन् ।

हाल ६ जना अनसनमा बसेकामा अधिकांश महिला रहेका छन् । उनीहरूका अनुसार सम्पर्कविहीन भएका व्यक्तिका थप अन्य आफन्तहरू पनि सो अनसनमा समेत हुँदैछन् ।   

यस्ता छन् मागहरू:
१. रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर ।
२. करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका नागरिकहरूलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर ।

३. युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर ।
४. युक्रेनको कब्जामा रहेका ५ जना युद्ध बन्दीको सकुशल उद्धार गर ।
५. मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवा सुविधा नेपाल ल्याउने व्यवस्था गर ।
६. बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर ।
७. रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर ।
८. प्रलोभनमा पारि रुस पठाउने र नेपाल ल्याइदिन्छु भनी पैसा उठाउने बिचौलियाको पहिचान गरी कारबाही गर ।
४. रुसी सेनामा कार्यरत रहँदा पाउने तलब, भत्ता, सुविधा सहित घाइतेले प्राप्त गर्ने क्षतिपूर्ति नेपालबाटै पाउने व्यवस्था गर ।
१०. पीडित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर ।
१. विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर ।
१२.रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित परिवारको उचित हेरचाह गर ।
१३.कूटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौता विना सैन्य सेवामा भर्ती नगर्न पहल गर ।