शीर्षकहरू

खोलामा खन्यायो आयल निगमले पैसा, कमिसनको चक्करमा यस्तो गरियो लुम्बिनीमा

खोलामा खन्यायो आयल निगमले पैसा, कमिसनको चक्करमा यस्तो गरियो लुम्बिनीमा

भैरहवा । रुपन्देहीको रोहणी खोला किनारमा आज वैशाख ५ गते बुधबार बिहान तामझामका साथ भूमि पूजा भयो । नेपाल आयल निगमले तेल भण्डारण गृह निर्माणको लागि खरिद गरेको जग्गामा रोहणी र ओमसतिया गाउँ पालिकाका अध्यक्षले खोला किनार पुर्ने र पर्खाल लगाउने कामको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न भयो ।

तर, आजको पूजामा देखिएको तामझाम भित्र लुकेको ठूलो कमिसनको खेलबारे भने त्यहाँ कसैले चर्चा गरेन । न त आयल निगमको पैसामा खोलाको जग्गा पनि खरिद भएको कुरा नै कसैको स्मरणमा आयो । यहाँ त्यो कौडीको मूल्यको जग्गा कसरी हिराको दाममा खरिद भएको थियो भन्ने वृत्तान्त प्रस्तुत गरिएको छ ।

मुलुकका ७ वटै प्रदेशमा तेल भण्डारण गर्ने उद्देश्यले नेपाल आयल निगमले जग्गाको खोजी गर्‍यो । त्यसको लागि बोलपत्र नै आव्हान गर्‍यो ।

त्यसैअनुसार २०७३ मङ्सिर २९ गते लुम्बिनी प्रदेशकोलागी रुपन्देहीमा पनि जग्गा चाहिएको भन्दै बोलपत्र सार्वजनिक भयो । बोलपत्रमा जग्गाको विवरण उल्लेख गर्दै रुपन्देही जिल्लाको नेपाल भारत सीमा बेलहिया भन्सारदेखि करिब ५ किलोमिटर पछि भैरहवा परासी सडकखण्डको १६ किलोमिटरभित्रको समथर जग्गा उल्लेख गरिएको थियो ।

आयल निगमले बोलपत्रमै तोकेअनुसार करिब २० विगाह क्षेत्रफलको जग्गा उपलब्ध गराउने भन्दै तोकिएको अवधिमा २ वटा बोलपत्र परेका थिए । स्रोतका अनुसार लक्ष्मण पन्थीको नामबाट धकधई पूर्वको एउटा जग्गा थियो । जसको दायांबाया २ वटा इट्टा भट्टा छन् ।

अर्कोचाहिँ हरिप्रसाद पोखरेलको नामबाट रोहिणीको बगर थियो । सुरुमा धकधइ पूर्वको जग्गा स्वीकृत भएको थियो । पछि पुनः एक पटक स्वीकृत भइसकेको जग्गा रद्ध गरी रोहिणी बगरको जग्गा स्वीकृत गरियो । जबकी रोहिणी बगरको जग्गाको २० विगाहको नक्सा पनि थिएन ।

स्पष्ट छ, बगरको जग्गा सस्तो पाएको हुँदा जग्गा दलालहरूले त्यसो गरेका थिए । त्यति मात्रै होइन दलालसँगको मिलेमतोमा रोहिणी खोला बगिरहेको ठाउँ समेत खरिद गरिएको थियो ।

आयल निगमले कागजी हिसाबले बोलपत्र आव्हान गरेको भएता पनि सिधै दलाल मार्फत निजी घर सम्पत्ति किनेजस्तैगरी भैरहवामा जग्गा किनेको देखिन्छ । तत्कालीन समयका आपुर्तिमन्त्री दीपक बोहरा विभागीय मन्त्री भएकाले उनकै निकटस्थ व्यक्तिहरूले भैरहवामा जग्गा खोज्न दौडधुप गरेका थिए ।

पछि जग्गा व्यापारी सुरेश घिमिरेले आयल निगमको मुख्य एजेन्ट भएर काम गरे । अधिकारीले आफू नदेखी कोमुद ढुंगाना मार्फत भैरहवाको जग्गा खरिद भएको हो । ढुंगानाले रामग्राम ८ नवलपरासीका हर्षलाल भरलाई जग्गा खोज्ने जिम्मा दिएका थिए । 

प्रतिकट्टा ५० हजार कमिसन पाउने आन्तरिक लिखित सहमति गरेर रोहिणी क्षेत्रका ४ जना स्थानीय एजेन्ट मार्फत करिब ८ महिना लगाएर बगरको जग्गा किनबेच भयो ।  लालपुर्जा नक्सा जुटाउनेदेखि जग्गाधनीसँग मोलतोल गर्ने गरी भरले बढीमा साढे ३ लाखमा प्रतिकट्टा जग्गा किन्ने गरी स्थानीय एजेन्टलाई जिम्मा दिए । स्रोतका अनुसार जग्गाका मुख्य एजेन्ट कुमुद ढुंगाना र हर्ष भरले प्रतिकट्टा ५० हजार कमिसन दिनेगरी स्थानीय एजेन्टलाई सहमति गरे । र , पेस्की स्वरूप २० लाख पनि दिए ।

आयल निगमले केही जग्गा हरिप्रसाद पोखरेल र अनन्त घिमिरे मार्फत पास गरेको छ । उनीहरूले स्थानीयसँग जिल्ला अदालत रुपन्देहीमा गई वारेस लिएका थिए ।  केही जग्गा सिधै जग्गाधनी किसान मार्फत पास गरेको देखिन्छ । वारेस लिएर जग्गा पास गर्दा पनि मालपोत राजस्वमा ठगी भएको देखिएको छ । पोखरेल रोहिणी बगरको जग्गाको टेन्डर हाल्ने व्यक्ति हुन् । 

आयल निगमको नाममा २०७३ असार २८ गते  ८ बिगाहा ९ कठ्ठा र त्यसभन्दा अगाडि ५ विगाह ४ कठ्ठा रजिस्ट्रेसन पास भएको छ । निगमलाई चाहिएको २० विगाह हो । अन्य जग्गाको लालपुर्जा र नक्सा जुटाउन स्थानीय एजेन्टहरू दौडधुप गरिरहेका छन् ।

जग्गा पास गर्नकोलागी जग्गा दलालहरूले माथिदेखि तलसम्म सेटिंग मिलाएको देखिएको छ । सो प्रक्रियामा सहभागी भएकाहरू भन्छन्, ‘     जिल्ला मालपोत कार्यालयको टोली रोहिणी खोला नजिकै रहेको प्रेम ढावामा बसेर जग्गा पास भएको थियो । नेपाल आयल निगम लि. बबरमहलको नाममा साबिक पट्खौली, वसन्तपुर, धकधइ क्षेत्रमा पर्ने विभिन्न व्यक्तिको  नाममा रहेको विभिन्न कित्ताको जग्गा पास गरेको छ ।

नेपाल आयल निगमले प्रतिकट्टा १० लाख ७५ हजारका दरले १४ विगाह ७ कठ्ठा जग्गा रोहिणीको बगर खरिद गरेको छ । उक्त जग्गा खरिद बापत आयल निगमले जग्गा दलाललाई ३० करोड ४२ लाख २५ हजार मूल्य नगद भुक्तानी दिएको चर्चा छ ।

१० लाख ७५ हजार रुपैयाँ प्रतिकठ्ठामा जग्गा खरिद गरेको भएता पनि जग्गाधनीलाई प्रतिकट्टा १ लाखदेखि बढीमा ३ लाख ५० हजारसम्म भुक्तानी दिइ पास गरिएको छ । जसबापत दलालले किसानहरूलाई लगभग साढे ८ करोड दिएका छन् । बाँकी साढे २२ करोड जग्गाको सेटिंग टिमले कमिसन बापत राखेको बुझिएको छ । उक्त सेटिंगमा तत्कालीन विभागीय मन्त्री, आयल निगमका अधिकारी देखी स्थानीय एजेन्टसम्म रहेको सो प्रक्रियामा सहभागी एक एजेन्टले बताएका छन् । आयल निगमले जग्गा खरिद हेर्ने जिम्मा कार्यालयका अधिकृत रवीन्द्र शर्मालाई दिएको थियो ।

हो, त्यही जमिनमा आज निकै तामझामका साथ नेपाल आयल निगम लिमिटेडले भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माणको शुभारम्भ गरेको छ । काठमाडौँबाट जहाज नै चार्टर गरेर तारे होटेलमा बसेर अर्को दिन नदीको किनारमा भन्डारा लगाएर माटो सम्याउने कामको शुभारम्भ गरिएको हो ।

तीन अर्ब बजेट विनियोजन गरिएको लुम्बिनी प्रादेशिक डिपोमा नेपाल आयल निगम लिमिटेडका उपनिर्देशक प्रदीप यादवको संयोजकत्वमा टोली आएको थियो । उक्त कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख एवम् सरोकारवाला निकायका व्यक्ति र स्थानीयलाई खबर नै थिएन ।

२०८१ भित्र शिलान्यास गर्ने २०८३ भित्र सम्पन्न गर्ने योजना ल्याएका छन् । तर दुई ओटा गाउँपालिकाको सङ्गममा रहेको जग्गा छुट्याइएको छैन । २० बिगाहा जग्गा आवश्यक पर्ने ठाउँमा १४ बिगाहा मात्रै खरिद भएको छ । अहिले १ बिगाहा नदीमा परेको छ । निगमलाई अझै ६ बिगाहा जग्गा आवश्यक छ । त्यसमा के कति कमिसनको खेल हुने हो त्यो भने हेर्ने बाँकी नै छ ।