आजभन्दा २५ वर्षअघि झापा जिल्लाको पश्चिम दक्षिणको ग्रामीण भेगमा स्थित साबिक महारानीझोडा गाविसमा एउटा महिला समूह गठन भयो। जुन समूहमा साना किसान परिवारका महिला सदस्यहरू आबद्ध भए ।
अहिले त्यो समूह मुलुक कै चर्चित र उदाहरणीय सहकारीका रूपमा स्थापित छ । यसले अङ्गीकार गरेका मूल्य मान्यता, किसानको हितलाई केन्द्रमा राखेर व्यवहारिक रूपमा अघि बढाएका परियोजना लगायतका कारण अरू सहकारीभन्दा पृथक पहिचान बनाएको छ, महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले । हुन पनि यसले आफ्नो कार्यमा विविधीकरण गर्न कुनै कसर बाँकी राखेको छैन ।
स्थापनाको कथा
हाल गौरादह नगरपालिका वडा न. ४ र ५ मा रहेको सो ठाउँमा वि. स. २०५५ साल कार्तिक १० गते साना किसान विकास आयोजनाको स्थापना गरिएको थियो । जसमा साना किसान परिवारका महिलाहरूलाई समूहमा आबद्ध गराइएको थियो।
त्यसरी प्रारम्भ गरेको कार्यक्रम समय र विकासक्रम तथा सदस्यहरूको चाहाना अनुसार सहकारी संस्था दर्ता गर्ने तयारी गरियो । सो अनुसार २०५९ पौष १७ मा डिभिजन सहकारी कार्यालयमा विधिवत् रूपमा साना किसान सहकारी संस्था लिमिटेड दर्ता गरियो । उक्त आयोजनाको सम्पूर्ण कारोबार यो सहकारीलाई २०६० वैशाख ३ गते हस्तान्तरण भएपछि महिलाहरूकै नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।
सहकारीकी अध्यक्ष मिना ढकाल महिलाले नेतृत्व गरेर सहकारी सञ्चालन गर्दा त्यसबेला ठूलो चुनौती सामना गरेको सुनाउँछिन् । उनी त्यसबेलाको कुरा स्मरण गर्दै उनी भन्छिन्, ‘त्यो बेला महिलाहरूले बाहिर निस्किएर काम गर्न धेरै नै ठूलो चुनौती थियो । पुरुषहरूले मात्रै बाहिरको काम गर्नु पर्छ, महिलाहरू घरभित्रको काम गरेर बस्नुपर्छ भन्ने गरिन्थ्यो । त्यो अवस्थालाई चिर्दै आज नमुना सहकारी सञ्चालककोरुपमा चिनिँदा खुसी लाग्छ ।’
यस संस्थाले स्थापनाकालमा सदस्य विस्तार र पुँजी निर्माणलाई प्राथमिकतामा राखी सेयर सदस्यहरूलाई स्वरोजगार बनाउन व्यक्तिगत व्यवसाय सञ्चालनका लागि कर्जा प्रदान गर्यो । विस्तारै कृषिसँग सम्बन्धित तालिम र सामाजिक, सामुदायिक तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित कार्यक्रमहरू समेत सञ्चालन गर्न थालेको छ ।
‘सहकारी सुरुवात गर्दाको समय र अहिलेको समयमा धेरै नै फरक छ । त्यसबेला किसानहरूलाई ठूलो पुँजी चाहिँदैन थियो । सुरुवातमा पुँजीलाई नै केन्द्रित गरेको यस सहकारीले बिस्तारै कृषितर्फ बढी जोड दिन थाल्यो’, संस्था स्थापनायता उक्त सहकारीको मुख्य प्रबन्धकको जिम्मेवारी सम्हालिरहेका चिरञ्जीवी भण्डारी सुनाउँछन् ।
यस सहकारीको सञ्चालक, बोर्ड सदस्यहरू, लेखा समितिहरूमा सबै महिलाहरू नै छन् । उनका अनुसार संस्था दर्तापछि २५ रुपैयाँबाट बचत संकलन गर्न थालिएको थियो । ‘संस्था दर्ता सुरु गर्दा जम्मा आन्तरिक स्रोत सात लाख रुपैयाँ मात्रै थियो । महिलाहरू मात्रै शेयर सदस्य रहेका थिए । महिलाहरूले कसरी संस्था चलाउँछन् भन्ने धेरै थिए’, उनले भने ।
बिउ उत्पादनदेखि पाहुना घरसम्म
गौरादह ५ मा रहेको यस सहकारीले सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्रदेखि पाहुना घरसम्म सञ्चालन गर्दै आएको छ । गौरादहको घरघरेमा सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्र यस सहकारीले सञ्चालन गरिरहेको छ ।
बीउको काम गर्ने सहकारीमा पहिलो नम्बरमा महारानी सहकारी पर्ने उनको दाबी छ । भण्डारी भन्छन्, ‘‘यसबारे ठ्याक्कै तथ्यांक त छैन । तर, बीउको काम गर्ने सहकारीको पहिलो नम्बरमा हामी पर्छौ भन्ने हामीलाई लाग्छ।’
उनका अनुसार संस्थाले यो परियोजना सुरु गर्नु अगाडी प्रायसबै धानको बिउ बाहिरबाट आउने र ठूला व्यापारी तथा बिचौलियाहरूको मनमानी बजार मूल्य तोक्ने गरेका थिए । त्यस्तो बीउबाट बेलाबेलामा आउने समस्याहरूका कारण किसानहरू धेरै नै मारमा पर्ने गरेका थिए । किसानहरू कृषि पेसामा हतोत्साहित भई धान, मकै, गहुँ, तोरी, राज्मा, जै घास लगाइ रहेका थिए ।
यसै क्रममा संस्थाले बीउ उद्योगको स्थापना गरी किसानहरूलाई बिउँ उत्पादन गर्न प्रोत्साहन गर्न विभिन्न किसिमका तालीम, गोष्ठी, भ्रमण, प्लान्ट क्लिनिक तथा माटो परीक्षण र गुणस्तरीय मूल बिउ उपलब्ध गराउने गरेको छ ।
यो काम २०७२ सालबाट संस्थाले प्रवर्द्धन गरेको सहकारी तथा चाक्लाबन्धी खेती र स्थानीय अगुवा ५० जना कृषकहरूलाई समेटी करिब ७० हेक्टर क्षेत्रफलमा धानको मूल बिउ वितरण गरी उन्नत बिउ उत्पादनको कार्यबाट सुरुवात भएको हो । हाल धान, मकै, गहुँ, राज्मा, जै घास, तोरी, मुङमास आदी बालीहरूको बिउ उत्पादनका लागि ६०० हेक्टर क्षेत्रफलमा प्रत्यक्ष ३५० किसानसँग जोडिएर काम गरीरहेको अवस्था छ ।
संस्थाले स्थापनाकाल देखिनै कृषिसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । तर, त्यसअघि यसको सामान्य रूपमा मात्र प्रचार प्रसार भएकोमा २०७० सालबाट नेपालमा नै पहिलो पटक नयाँ मोडेलको सहकारी खेतीको कार्यक्रम सुरुवात गरे पश्चात यसप्रति धेरैको चासो बढ्यो । अहिले ठूलो संख्यामा कृषिसँग चासो राख्ने टाढा टाढाका संघसंस्थाहरु साथै सरोकारवाला निकायका मानिसहरू संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । त्यसरी आउने भ्रमणका टोली र स्थानीय आवश्यकतालाई मध्यनजर गरी नमुना पाहुना घर समेत सञ्चालन गरिएको छ ।
किसान केन्द्रित दर्जनौँ कार्यक्रम
यस सहकारीले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गरेको छ । जहाँबाट रासायनिक मल, जैविक मल, विषादी, बिउ, साना कृषि औजार, पशुको आहारा, चोकर, गाईदाना बिक्री गर्नुका साथै माटो परीक्षण सेवा समेत प्रदान गर्ने गरिएको छ ।
संस्थाले बचत तथा ऋण कारोबार साथै वैदेशिक तथा आन्तरिक रेमिट्यान्सलाई सहज बनाउन ती क्षेत्रसँग सम्बन्धित सेवा पनि दिइरहेको छ । सहकारीले हिमाल, वेष्टन युनियन, प्रभु रेमिट, आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, ईसेवा मनी ट्रान्सफर, आईएमई पेको सेवा समेत सञ्चालनमा ल्याएको छ ।
पशुपालन व्यवसायलाई प्रवर्धन गर्नका लागि कर्जा लगानी, पशुबीमा, नश्लसुधार लगायतका कार्यक्रमहरू सञ्चालनका साथै उत्पादन भएको दूधको बजारीकरणको व्यवस्था गर्न दुग्ध संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । गौरादह ५, स्कूलचौन बजारमा स्थानीय स्तरमा रहेका ३ वटा सहकारीहरूबिचको सहभागिता र यस संस्थाको प्रवर्धनमा दुग्ध संकलन केन्द्र सञ्चालन गरिएको हो ।
यो केन्द्रसँग जोडिएका महारानीझोडा साकोस र जनहित साकोसलाई संस्थाहरूले लगानी गरेको शेयर र कोषसमेत फिर्ता गरि सकेको छ । सदस्यहरूलाई समेत सेवा प्रदान गर्न वडा नं. ४ को मझुवा स्थित दुर्गाचोकमा चिस्यानसहितको दुग्ध संकलन केन्द्र पनि सञ्चालन गरेको छ ।
सहकारीले गौरादह नगरपालिकाका किसानहरूबाट उत्पादित कृषि तथा पशुपालनजन्य वस्तु खरिद बिक्री केन्द्रका लागि किसानको बजार सञ्चालन गरिरहेको छ । स्वास्थ्य दूधको उत्पादन वृद्धिका लागि गुणस्तरीय साइलेज उत्पादन गर्ने उद्देश्यले यस संस्थाले कृषकहरूलाई व्यावसायिक बनाउनका लागि साइलेज उत्पादन गरिरहेको छ । यसरी उत्पादित साइलेस मुलुकका विभिन्न स्थानमा सञ्चालित गाईपालन फर्महरूले खरिद गर्ने गरेका छन् । जसको अन्तर्राष्ट्रिय बजार खोज्ने काम पनि भइरहेको छ ।
यस सहकारीले बीमा तथा प्राविधिक सेवा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । सहकारीका सदस्यहरूले संस्थाबाट ऋण लिई खरिद गरेका तथा सदस्यको गोठमा रहेको पशुधनहरूको संरक्षणका लागी पशुधन बीमा र प्राविधिक सेवा कार्यक्रम गरिरहेको छ ।
‘एक दुई वटा गाई, भैँसी पाल्ने किसानहरूको बीमा भएको हुँदैन । त्यस्ता किसानहरूलाई मध्यनजर गर्दै हाम्रो सहकारीले बीमा गरिदिने गरेको छ’, उनले अगाडी भने, ‘क्षति भएमा तुरुन्तै राहत पनि दिने गरेका छौँ ।’
एकपछि अर्को कार्यक्रमहरू थप्दै यस सहकारीले नयाँ काम गर्दै आएको छ । ‘एक पछि अर्को आवश्यकता बढ्दै जान्छ । हिजो हामीले बीउ उद्योग स्थापना गर्यौँ । त्यसपछि बिस्तारै अरू कार्यक्रमहरू थप्यौँ । यसरी नै भोलीका दिनमा त्यहाँको आवश्यकता अनुसार आगामी योजना बनाउँदै जान्छौँ’, भण्डारीले भने ।
संस्थाका सेयर सदस्यहरूको मुख्य व्यवसाय भनेकै कृषि रहेकोले पनि संस्थाले सदस्यहरूलाई कृषि पेसा मार्फत रोजगार र संवृद्धि ल्याउनका लागि व्यक्तिगत, संस्थागत तथा सदस्य र संस्थाबिचको सहकार्यबाट परियोजना सञ्चालन गर्ने रणनीति लिएको छ । संस्था स्थापनाको करिब २ दशककाबीचमा संस्था मार्फत कृषि क्षेत्रमा भएका प्रयासहरूकै कारण पनि सिंगो साना किसान विकास अभियानको नै पहिचान बन्न सफल भएको उनको दाबी छ ।
अध्यक्ष ढकालका अनुसार संस्थाका शेयर सदस्यहरूले घरेलु उद्योगहरू पनि सञ्चालन गरिरहेका छन् । अचार उद्योग, भुजिया, आलु चिप्स, दूधका परिकारहरू पनि बनाउने गरेका छन् । जसका लागि संस्थाले तालिम दिएको थियो । त्यो उत्पादनको बजारीकरण भएन भने बजारसम्म लगिदिने काम पनि संस्थाले गरिदिने गरेको छ ।
संस्थाले आफ्ना सदस्यहरूलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरी कृषि तथा पशुको उत्पादन, उत्पादकत्व वृद्धिदर उत्पादित बस्तुहरूको अद्यौगीकरण र बजारीकरण गर्ने एक नमुना सहकारी हुने परिकल्पना अगाडि सारेको छ । यस संस्थाले आगामी दिनमा ग्रामीण बचत तथा कृषि ऋण परिचालन, नयाँ प्रविधि र सिपको प्रयोग र सहकारी खेतीको माध्यमबाट कृषि र पशु उत्पादन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्य अगाडि बढाएको छ । यसैगरी, संस्थाले स्थानीय श्रम, सीप र पुँजीको विकास गरी सो को परिचालनबाट कृषि तथा पशुधनको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनीकरण गर्ने सहकारीको जोड रहेको उनको भनाई छ ।
सहकारीको पुँजी उत्पादनमा
हिजोका दिनमा जति सहकारी खुले ती सबै आवश्यकताका हिसाबले खुले । सहकारी बुझेर लागे । बिस्तारै पुँजी बढाउने अनि ठूला सहकारी बनाउने भन्नेमा सहकारीहरू लागे । यो बिचमा कतिपय सहकारीलाई व्यवस्थापन गर्न समस्या भएको देखिन्छ । तर, महारानी झोडा साना किसान सहकारीलाई भने त्यस्तो समस्या नरहेको भण्डारीको दाबी छ।
‘सहकारी सहकारीबिचमा अस्वस्थ प्रतिस्पर्धा भयो । टार्गेट पुर्याउने दबाबमा काम गरियो । नाफालाई महत्त्व दिइयो । त्यसको पछाडि लाग्दा गुणस्तर खस्किन पुग्यो’, भण्डारीले भने । तर, महारानीझोडाको यो सहकारीलाई त्यस्तो समस्या छैन ।
सहकारीले पुँजीको काममा मात्रै जोड दिन नहुने उनको भनाई छ । ‘हामीहरू आज यो सहकारीको पुँजी कति, अर्कोको कति भन्नेमा ध्यान दिन थाल्यो । हिजोका दिनमा पुँजी आवश्यक थियो । अहिले पुँजीको काम गर्ने बैंकहरु छँदैछन् । पुँजी पनि चाहिन्छ । तर, त्यो पुँजीलाई उत्पादनसँग जोड्नु पर्छ’, उनले भने ।
सहकारी समस्यामा आउनुमा सञ्चालकको मात्रै कमजोरी जिम्मेवार नभएको उनको तर्क छ । कतिपयले सहकारी नबुझी ब्याजको लोभमा लाग्दा उनीहरूको पैसा सहकारीमा डुबेको उनको भनाई छ ।
सफल सहकारी हुनका लागि सदस्य केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने भण्डारी बताउँछन् । उनी भन्छन्, ‘सदस्य केन्द्रित कार्यक्रम हुनुपर्छ । संस्थाले ल्याएको कार्यक्रममा सदस्यहरूलाई लाभ हुन्छ की हुँदैन भन्ने कुरा हेर्नु पर्यो । कर्मचारी, सञ्चालक, सदस्य जो भए पनि जिम्मेवार हुनुपर्छ ।’
असफल सहकारीको अध्यक्ष हुनुभन्दा सफल सहकारीको सदस्य बन्नु नै राम्रो रहेको उनले सुझाव दिए । जुन उद्देश्यले सहकारी खोलिएको छ त्यही अनुसार काम गर्न सकेमा भागेर हिँड्नु पर्ने परिस्थिति नआउने उनको भनाइ छ ।
राम्रो काम गर्दा सरकारले पनि साथ सहयोग गर्ने अध्यक्ष ढकालले सुनाइन् । उनले भनिन्, ‘राम्रो काम गरेका सहकारीलाई सरकारले पनि साथ दिन्छ । आज हामी नमुना सहकारी बनिरहँदा सरकारले सहयोग गरिरहेको छ । सरकार र अन्य ठाउँबाट राम्रो काम गरेको भनेर अवलोकन गर्न आउने गरेका छन् ।’
पछिल्लो समय सहकारीमा आएका समस्याबाट यो सहकारीलाई भने प्रभाव नपरेको अध्यक्ष ढकाल सुनाउँछिन् । उनी भन्छिन्, ‘‘हाम्रो सहकारीमा त्यस्तो कुनै समस्या छैन । बरु हाम्रोमा अरू सहकारीबाट पैसा निकालेर राख्न आइरहनु भएको छ । थप राम्रो गर्दै लैजाने हाम्रो योजना छ ।’
वित्तीय अवस्था
जामा ७ लाख रुपैयाँ बाट सुरु गरिएको यो सहकारीको शेयर पुँजी अहिले चार करोड ६ लाख रुपैयाँ पुगेको छ । यस सहकारीको कार्यक्षेत्र भने वडा नं ४ र ५ को आधा भाग मात्रै रहेको छ । यस कार्यक्षेत्र भित्र रहेको घरधुरी सङ्ख्या नै करिब २६ सय छन् । जसमध्ये ८० प्रतिशत भन्दा बढी यसका शेयर सदस्य छन् ।
कार्यक्षेत्र विस्तार गर्ने योजना छैन भन्ने प्रश्नमा भण्डारी भन्छन्, ‘कार्यक्षेत्र विस्तार गर्ने योजनामा हामी छैनौँ । विस्तार गर्नु पर्छ भन्ने पनि लागेको छैन । जति छ त्यसमा राम्रो गर्ने योजनामा छौँ ।’
हाल यसले ग्रामीण कृषि कर्जा तथा बचत कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘भावनाले मात्रै सहकारी चल्दैन । पुँजी आवश्यक पर्छ भनेर हामीले ग्रामीण कृषि कर्जा तथा बचत कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो सहकारीले ३० करोड रुपैयाँ बचत रहेको छ’ भण्डारीले भने ।
हाल यस संस्थामा १३ वटा अन्तर समुह आबद्ध छन् । संस्थामा ३०४ वटा साना किसान समुह गठन भई दुई हजार एक सय ९५ जना महिला सदस्यहरू आबद्ध छन् । यसले संस्थामा आबद्ध सदस्यहरूको संख्यामा वृद्धि, कारोबारमा वृद्धि तथा जनशक्ति र व्यवस्थापन क्षमतामा समेत विकास गरी कृषिसँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
अध्यक्ष ढकाल भन्छिन्, ‘नेपालमा कृषिकर्म गर्न त्यति सहज छैन । तरपनि हामी कृषिमा जोडिएका छौँ । कृषिसँग सम्बन्धित उद्योगसँग सहकारीलाई जोडेर काम गरिरहेका छौँ । किसानहरूका लागि काम गरिरहेका छौँ ।’