शीर्षकहरू

कर्मचारी जिम्मेवार नबन्दा कबाडखाना बन्यो भन्सार कार्यालय

कर्मचारी जिम्मेवार नबन्दा कबाडखाना बन्यो भन्सार कार्यालय

भैरहवा । यदि तपाई पश्चिम नवलपरासी जिल्लाको महेशपुर भन्सार परिसरका कुनै काम विशेषले छिर्नु भयो भने तपाइ अल्मलिने पक्का छ । तपाइले निःसन्देह एकपटक सोच्नु हुनेछ ‘कतै म भूलवश कुनै कवाडीको गोदाममा त छिरिंन’ ।

यो त्यो भन्सार कार्यालय हो जो दशकौँदेखि छोटी भन्सार कार्यालयको रुपमा रहेको थियो ।बि.स. २०७५ मा  स्तरोन्नति भएर मूल भन्सारको रुपमा रूपान्तरण भएसँगै यहाँको बेथिति झनै बढेर यस्तो अवस्थामा पुगेको छ ।  जसलाई बि.स. २०७५ असोज ७ गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मूल भन्सारको रुपमा उद्घाटन गरेका थिए ।

यो कार्यालय यति बेला अस्तव्यस्त बनेको देखिन्छ । उक्त क्षेत्रबाट कपडा, खाद्यान्न,  मोटरपार्टस र सेनेटरीका समानहरू अत्यधिक रुपमा नेपाल भित्रिने गर्दछन् । तर, पश्चिम नवलपरासी जिल्लाको महेशपुर भन्सार परिसर यति बेला कवाडीले भरिभराउ छ ।

जता हेर्‍यो उतै कवाडी भएका सामान देखिन्छन् । कार्यालयको ढोका अगाडि बोराहरू यत्रतत्र फालिएका छन् । कतिसम्म अस्तव्यस्त छ भने आर्थिक वर्ष २०७७/०७८ देखि उक्त कार्यालयमा राखिएको सामग्री कति हराएका छन्, कति चोरिए, बाँकी कवाडीको रुपमा सड्ने/गल्ने अवस्थामा छन् ।

महेशपुर भन्सार कार्यालयका जिम्मेवार कर्मचारीको ढिला सुस्ती र हेलचेक्र्याइँ करोडौँको राजश्व गुमेको छ । करिब १५० ओटा मोटर साइकल र १८ ओटा गाडी कवाडी बनेका छन् । करिब २ हजार बोरा चिनी अखाद्य बनेको छ । भन्सार प्रमुख बुद्धिकुमार चुडालले तत्कालीन भन्सार प्रमुख रामप्रसाद अर्याल समयमै पहल नगर्दा राजश्व गुम्न पुगेको आरोप लगाउँछन् ।

तर, उनै प्रमुख चुडाल भन्सार प्रमुख भएर आएको पनि १ वर्ष भन्दा बढी भइसक्यो । यसरी हेर्दा उनले  लगाएको आरोपमा पनि धेरै त्यति सत्यता देखिँदैन । आफू भन्दा अगाडिको हाकिमलाई आरोप लगाइरहँदा उनले पनि पुरानै ढंगले काम गरिरहेका छन् ।

नवलपरासीमा खुला सिमानाका कारण दैनिक लाखौँका खाद्यान्न र मोटरपार्टस तस्करी हुन्छ । कहिले कहीँ  प्रहरीले अवैध सामान पक्राउ गर्छ र भन्सारमा बुझाउँछ तर ती सामान भन्सारमै सडने गरेका छन् ।

भन्सार प्रमुख चुडालले भन्सारको बाहिर गेटमा १ सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार गर्ने भनेर सूचना टाँसेका छन् तर त्यो कार्यान्वयन गर्न जिल्लाका राजनैतिक दलका नेताहरूको दबाबले काम गर्न नसकेको गुनासो गर्छन् । उनी गैँडाकोटदेखि मानिसहरू गाडी रिर्जव गरेर सस्तोमा सामान किन्न महेशपुर आउने गरेको बताउँछन् । तर, भन्सारले अवैध सामान बरामद गरेको रेकर्ड भने छैन ।

यसरी भन्सारका कर्मचारीले समयमै लिलामी सूचना ननिकाल्दा  करोडौँको सामान बिग्रँदा राजश्व समेत गुमेको छ । भन्सार कार्यालयमा २ हजार बढी बोरा अखाद्य बनेको छ । भन्सार नियमावली २०६४ को परिच्छेद ७ मा मालवस्तु जफत र लिलाम बिक्री व्यवस्था सम्बन्धमा दफा ३२ को उपदफा १ मा भन्सार गोदाममा आएको मालवस्तु ६० दिन भित्र र सड्ने भएको देखिएमा कार्यालय प्रमुखको तजबिजमा सकार्नु भन्ने उल्लेख छ ।

सोही नियमको दफा ३५ को उपदफा १ मा एक लाख रुपैयाँ भन्दा बढी न्यूनतम मूल्य भएका सवारी साधन वा भारी यन्त्र उपकरण बिक्री गर्न भन्सार कार्यालयले २१ दिनको म्याद सहितको सूचना प्रकाशन गरी सकार्ने भनेको छ । तर, महेशपुर भन्सार कार्यालयका कर्मचारीले नियम कानुनको समेत धज्जी उडाने गरेका छन् ।