शीर्षकहरू

एसियन बुद्ध होटलद्वारा नियम विपरीत क्यासिनो संचालन, सार्वजनिक सडकसमेत कब्जा

एसियन बुद्ध होटलद्वारा नियम विपरीत क्यासिनो संचालन, सार्वजनिक सडकसमेत कब्जा

भैरहवा । भैरहवाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८,  बसडिलवामा गुपचुप रुपमा गत हप्तादेखि एउटा क्यासीनो सन्चालनमा आयो । क्यासीनो सञ्चालन हुनु नेपाली पर्यटन बजारको लागि सुखद विषय हो । कोभिडले थलिएको पर्यटन व्यवसायको पुर्नउत्थानकोलागि क्यासीनोले धेरै सहजता सृजना गरेको छ ।  विदेशी मुद्रा भित्राउन टेवा दिएको छ ।

तर, कानुन विपरीत क्यासिनो संचालनमा ल्याउनु त्यो पनि चारतारे होटलले चाहिँ दुखद पक्ष हो । पर्यटन व्यवसायको नाममा जानी जानी सन्चालकहरुले कानुनको धज्जी उडाउनु  राज्य विरुद्धको अपराध पनि हो ।

यस्तो काम गर्ने चारतारे होटल हो, होटल एसियन बुद्ध । जसले आफ्नो कम्पाउन्ड बाहिर एलिगन इन्टरटेनमेन्ट नामक क्यासीनो हालै स्थापना गरेको छ । यसरी होटलले आफ्नो कम्पाउन्ड बाहिर क्यासिनो खोल्नै पाउँदैनन् । तर, यो  क्यासीनोले क्यासिनो संचालन नियमावली २०७०  को धज्जी उडाएको छ ।

क्यासीनो नियमावली २०७० को चौथो संशोधन २०७६ को परिच्छेद २, दफा ६ को (घ) मा  प्रस्ट रुपमा उल्लेखित नियम उलंघन भएको हो । परिच्छेद २, दफा ६ को घ मा ‘धार्मिक वा सांस्कृतिक महत्वको दृष्टिले संवेदनशील मानिएको क्षेत्रमा क्यासीनो स्थापना गर्न नपाइने उल्लेख छ ।‘

तर, नयाँ क्यासिनोसँगै यो क्षेत्र कै प्रसिद्ध शिवालय मन्दिर रहेको छ । जुन मन्दिर पश्चिम नेपालको शिवालयहरू मध्ये सबैभन्दा पुरानो मानिन्छ । यसको प्रसिद्धिको प्रमाण होटलको सम्पर्क ठेगानामा नै देख्न पाइन्छ जहाँ उल्लेख गरिएको छ- सिद्धार्थनगर-८ भैरहवा, शिव मन्दिर रोड ।

यसै गरी, सोही नियमावलीको परिच्छेद  २ को दफा ५ को (ख) मा तारे होटलको एउटै कम्पाउन्ड भित्र मात्रै क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान उल्लेख छ । तर, होटल एसियन बुद्ध प्रा.लि.को कम्पाउन्ड भन्दा बाहिर एलिगन इन्टरटेनमेन्ट नामक क्यासीनो सन्चालनमा आएको छ । होटल र क्यासीनोको बिचमा २० फुटे सार्वजनिक सडक रहेको छ । यसरी सडक पारी क्यासीनो सञ्चालन गर्नु गैर कानुनी भएको क्यासीनोको अनुमति दिने नेपाल सरकारको नियामक निकाय पर्यटन विभागका अधिकारी समेत बताउँछन् ।

होटल सञ्चालकले राजधानी सहर काठमाडौँमा रहेको नेपाल सरकारको नियामक निकाय पर्यटन विभागका अधिकारीलाई समेत झुक्काएर क्यासीनो सञ्चालन गरेको स्थानीयले आरोप लगाएका छन् । सार्वजनिक जग्गा, धार्मिक स्थल, विद्यालय (१०/१५) मिटर नजिक हुँदा हुँदै होटलले चैत ९ गतेबाट क्यासीनो कसरी सञ्चालन अनुमति कसरी पायो भन्दै स्थानीयहरू आश्चर्य चकित छन् ।

क्यासीनो सञ्चालकले २०/२५ मिटर टाढाका मानिसलाई त यसबारे जानकारी दिएनन् दिएनन् क्यासीनो हलसँगै जोडिएको सधिंयार समेत रहेका घरका स्थानीय बासिन्दा पदम बहादुर कुँवरलाई पनि क्यासीनो सञ्चालन गर्ने कुराको पत्तो नै दिएनन् । ‘उनीहरूले चारकिल्ला बनाउँदा कसरी बनाए ? छिमेकीको सहमति बेगर कसरी सहमति लिए ? एकै पटक भिडभाड देखेपछि म त आश्चर्यमा परेँ ।‘ कुँवर अचम्म मान्दै सुनाउँछन् ।

गाउँ समाजको बिचमा क्यासीनो सञ्चालन गर्नु पूर्व स्थानीय सँधियारलाई खबर गर्नु पर्नेमा होटलले स्थानीयसँग समन्वय नै नगरी संचालन गरेको उनीहरू बताउँछन् । आफ्ना बालबालिका एस.ई.ई र १२ को परीक्षा दिई रहेको बेला भारतीय नागरिकले मदिरा सेवन गरी सडकमा जथाभाबी बोल्दा, हो-हल्ला गर्दा बालबालिकाको पढाइमा प्रत्यक्ष असर परेको स्थानीयको गुनासो छ ।

स्थानीय कृष्ण शाहले होटलले स्थानीयको सहमति बेगर क्यासीनो सञ्चालन गरेको बताए । उनले हल्ला र जथाभाबीको फोहर मैलाले हप्ता दिनमै समस्या सृजना गरेको गुनासो गरे । अर्का स्थानीय इन्दिरा कुँवर क्यासीनोमा हुने हो-हल्लाका कारण रातीको समयमा सुत्न नसकेको बताउँछिन् । उनी दिन रात क्यासिनोको कोलाहलले घरमा बस्ने वातावरण नभएको दुखेसो गर्छिन् ।

विद्यालय र मन्दिरको नजिकै मापदण्ड विपरीत क्यासीनो सञ्चालन भइराख्दा समाजमा नकारात्मक असर पर्ने तथा साना बालबालिकामा नराम्रो असर पर्ने डरले स्थानीयहरू चिन्तित हुँदै आन्दोलित नै भएको स्थानीय बासिन्दा अर्जुन कार्की बताउँछन् । यसै गरी अर्का स्थानीय सन्जु कुँवरले आफ्नो घर क्यासीनोसँग जोडिएको कारण त्यहाँ आउने सबैले धूम्रपान गर्ने र चुरोटका ठुटा र गुट्खा खाइ थुग्दा घर वरिपरिको बातवरण निकै फोहोर पारिदिएको बताउँछिन् ।

क्यासिनो सञ्चालनसँगै सृजना भएको विवाद र नियम विपरीत सञ्चालन गरिएको क्यासीनोको बारेमा होटलका निर्देशक तिलकराम घिमिरेसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । अपरेसन इन्चार्ज जीपीले भने आफुले यसबारे टिप्पणी गर्न नमिल्ने बताउँदै पन्छिए । होटल सञ्चालक पक्षले भने आफुले सरकारबाट अनुमति प्राप्त गरेको बताउँदै स्थानीयहरूले क्यासीनोमा जागिर नदिएको झोँकमा विभिन्न बहाना बनाएर समस्या सृजना गरेको आरोप लगाउँदै आएका छन् ।

सार्वजनिक सडकलाई समेत होटलले कब्जा गरी पाकिंङ बनाएको छ ।  क्यासिनो सञ्चालनको लागि चाहिने मापदण्ड भन्दा बाहिर गएर सञ्चालन भएको एलिगन इन्टरटेनमेन्ट क्यासिनोको कारण नजिकै रहेको  फ्युचरलाइट माध्यमिक विद्यालय र यस क्षेत्रकै पुरानो शिव मन्दिरलाई समेत नराम्रो असर पर्ने देखिएको छ ।