शीर्षकहरू

पटेरले फेर्‍यो कृष्णकुमारीको जीवनशैली

पटेरले फेर्‍यो कृष्णकुमारीको जीवनशैली

हातमा सिप र आत्मविश्वास हुनेका लागि अर्थोपार्जनका अनेकौँ अवसर छन् भन्ने कुराको उदाहरण बनेकी छिन्, कृष्णकुमारी चौधरी । नवलपरासी सुस्ताकी चौधरीको फेरिएको जीवनशैली त्यसको प्रमाण हो । आफ्नो आर्थिक अवस्था उकास्न उनले खोला किनार र सिमसार क्षेत्रमा उम्रने पटेरलाई सहारा बनाएकी छिन् ।  

पटेर नेपालको तराइ तथा भित्री मधेसको सिमसार तथा खोला बगर क्षेत्रमा पाइन्छ । यो करिब तीनदेखि १० फिटसम्म उचाइ हुने हरियो रङको वनस्पति हो । घरेलु औजारले यसलाई स-साना रेसामा परिणत गरी विभिन्न सामानहरू तयार गर्न गरिन्छ। हो, यहि पटेरले कृष्णकुमारीको परिचय नै फेरिदिएको छ ।  

पटेरका कारण उनको परिचय गृहिणीबाट उद्यमीमा परिणत भएको छ । विगत एक दशकदेखि उनले पटेरबाट गुन्द्री, ढाकी, चकटी, चप्पल, झोला, टोपी, पिर्का लगायतका सामाग्रीहरू बनाउँदै आएकी छिन् । घरायसी प्रयोगका लागि परम्परागत रुपमा एक दुई वटा यस्ता सामाग्री बनाउने गरेकी उनले पछिल्लो समय भने त्यसलाई व्यवसायको रूप दिएकी हुन्।

उनले १२ वर्षअघि कम लगानीमा उद्योग खोल्ने योजना बनाइन् । जसको कच्चापदार्थको रुपमा पटेरलाई रोजिन्। सोही अनुसार शिवशक्ति पटेर उद्योग दर्ता गरिन् ।

‘म सानैदेखि खर/पातको काम गर्दै आएको थिएँ । घरमा प्रयोग गर्न गुन्द्री, पिरा बनाउने गरेको थिएँ । पछि उद्योग नै खोल्ने सोच आयो, अनि उद्योग खोलेँ र उद्यमीको परिचय बनाएँ’, उद्यमशीलताको यात्रा खुसी हुँदै उनले सुनाइन् । 

सानैदेखि गुन्द्री पिराहरू बनाउने गरेपनि उनलाई अन्य सामाग्री भने बनाउन खासै आउँदैनथ्यो । पिरा र गुन्द्री बनाएर मात्रै नहुने रहेछ भन्ने लागेपछि उनले थप तालिम लिइन् । तालिमपछि भने पटेरबाट विभिन्न प्रकारका सामानहरू बनाउन थालेको उनले सुनाइन् । 

मिहिनेत, लगनशीलता र दृढ संकल्प लिएर अगाडी बढेमा जस्तो सुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्छिन्, कृष्ण कुमारी । ‘सबैभन्दा ठूलो सम्पत्ति भनेको नै सिप रहेछ । सीप भयो भने जहाँ गए पनि काम गर्न सकिन्छ, भोकले मर्नु पर्दैन रहेछ’, उनी सुनाउँछिन् ।

सिपले दिएको खुसी

एक दशकभन्दा अघि उनको दैनिकी घर खेतमा बित्थ्यो । तर, खेतीपातीको कामबाट उनी सन्तुष्ट भने थिइनन् । उनलाई केही गर्न पाए, आत्मनिर्भर बन्न सके हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

‘खेतीपातीको काम गर्दा आफैँ केही गर्न पाए हुने नि भन्ने लाग्थ्यो । दुई चार रुपैयाँ चाहियो भने पनि श्रीमानसँग माग्नु पथ्र्योँ । भनेको बेलामा त्यही पनि हुँदैनथ्यो’दंग पर्दै  उनले अगाडी थपिन्,  ‘अहिले आफूले कमाउने भएपछि त कसैसँग हात थाप्नु नै पर्दैन । अहिले त उल्टै श्रीमानलाई मैले पो पैसा दिने गरेको छु ।’ 

उनी यो काममा खुसी रहेको बताउँदै भन्छिन्, ‘‘म त नपढेको आइमाई । पौढ शिक्षा पढेर सामान्य हिसाब गर्न बाहेक केही आउँदैन । नपढे पनि म अहिले पटेरको काम गरेर राम्रो कमाइरहेको छु ।’  

बल्ल पाइन् बजार 

उनले उद्योग खोल्दा त्यस्ता उत्पादनको खासै बजार थिएन । एउटा दुइटा अरूलाई दिँदा उनीहरूले मन पराएर पछि फेरि किन्न आउँछन् की भन्ने आसमा उनले धेरैलाई उपहार नै दिइन् । तर, त्यसले उनको व्यापारमा सहयोग भने पुगेन । 

घरेलु उद्योग संघमा काम गर्ने एक जनासँग उनको भेट भयो । सो भेटमा उनले आफूले बजार नपाएको गुनासो गरिन् । ‘घरेलु उद्यममा काम गर्ने सरसँग भेट भएको बेलामा मैले बनाएको सामान बिक्री भएन भनेर सुनाएँ । सामान बनाएर मात्रै भएन, बजार पाइन, खोजिदिनु भनेर अनुरोध गरेँ’, उनी त्यो क्षण सम्झँदै भन्छिन् ।

ती व्यक्तिले उनलाई नेपाली उत्पादनहरूको बिक्री गर्ने पसलहरूमा आफ्नो सामान बिक्रीका लागि राखिदिन आग्रह गर्न सुझाए । सोही अनुसार कृष्णकुमारीले विभिन्न व्यापारीहरूलाई आफ्नो सामान दिइन् । तर ती सामानको पैसा भने पाइनन् उनले । उनी भन्छिन्,  ‘त्यति बेला जसलाई सामान दिए उसैले पैसा खाइदिए । मेरो कति सामानको पैसा अझै पाएको छैन ।’

अनेक जोडबल गर्दा पनि उनको सामान बिक्री भएन । त्यसपछि उनले तीन चार जना उद्यमीहरू मिलेर उद्यमी घर खोल्ने तयारी थालिन् । उनले लघु उद्यम समूह संघसंग ५० हजार रुपैयाँ सहयोग लिएर उद्यमी घर खोलिन् र समान बिक्री गर्न थालिन् । आफूले उत्पादन गरेको सामानसँगै अन्य महिलाहरूको उत्पादन बिक्रीमा राखिदिने गरिन् । फेरि पनि उनको व्यापार सन्तोषजनक भएन ।   

उत्पादनभन्दा बजारको चिन्ताले उनलाई सताइरह्यो । उनले बनाएका सामान बिक्री नभएपछि विभिन्न ठाउँमा भइरहेका प्रदर्शनीमा भाग लिन थालिन् । कृष्णकुमारी भन्छिन्, ‘‘पहिले यस्तो सामान कसैले किन्नै मान्दैन थिए । बनाएका सामान लामो समयसम्म बिक्री नै हुँदैन थिए । बजार नपाए पनि ठाउँ ठाउँमा भएका प्रदर्शनीमा भाग लिने गरेको थिएँ ।’

विभिन्न प्रदर्शनीमा भाग लिनेक्रममा उनको धेरै व्यापारीसँग भेट भयो । आफ्नो सामान ब्रिकी गरिदिन हारगुहार गरिन् । त्यसपछि भने उनको उत्पादनले बिस्तारै बजार पाउन थाल्यो । ‘प्रदर्शनीमा आफ्ना सामान राखेर ग्राहकहरूलाई किन्ने आग्रह गर्थे । कति व्यापारीहरूलाई मेरो सामान बेचिदिनु भनेँ । उहाँहरूले मेरा सामान बिक्री गरिदिनु भयो । र पछिल्लो समय भने बजार राम्रो छ । धेरै माग छ यसको ।’ 

उनले नवलपरासी, काठमाडौं, पोखरा, लुम्बिनी, नारायणघाट लगायत नेपालका मुख्य मुख्य सहरहरूमा आफ्ना उत्पादन पठाउने गरेकी छिन् । अहिले नेपालीसँगै उनका ग्राहक विदेशी पनि रहेको सुनाउँछिन् । ‘अहिले त यी सामान नेपालीले मात्रै होइन, विदेशीले समेत किन्नु हुन्छ’, मक्ख पर्दै उनले सुनाइन् । 

पटेरका सामान बनाउनका लागि उनी आफै पटेर उत्पादन गर्दै आएकी छिन् । ८ बिगाहा जग्गा भाडामा लिएर उनले पटेर खेती गरेकी छिन् । पटेरबाट नै उनले आफ्नो घरखर्च सबै धानेकी छिन् । उनले यहि पटेरको कामबाट छोरालाई स्नातक तहमा पढाउँदै छिन् । यहि पटेरको आम्दानीबाट उनले साढे दुई कट्ठा जग्गा समेत जोडेकी छिन् । आफ्नै जग्गामा घर बनाएर सोही घरमा उद्योग राखेकी छिन् ।

बाँड्दैछिन् सिप

अहिले कृष्णकुमारी पटेरका सामान बनाउने सिप अन्य महिलाहरूलाई समेत सिकाउँदै आएकी छिन् । अहिलेसम्म उनले तीन सय भन्दा बढी महिलाहरूलाई यो सिप  सिकाएको उनले बताइन् । 

सिप सिकेर उत्पादनमा लागेका महिलाहरूको सामानहरूको बिक्री समेत उनले नै गरिदिने गरेकी छिन् । ‘धेरै जना दिदीबहिनीलाई मैले सिप सिकाइसकेको छु । गाउँपालिकाबाट सिप सिकाउने कार्यक्रम आयो भने पनि मलाइ नै बोलाउनु हुन्छ । धेरैलाई सिकाइसकेको छु’, उनले भनिन् ।

कृष्णकुमारी अन्य महिलाहरूलाई सिप सिकेर उद्यमी बन्न आग्रह गर्दै भन्छिन्,  ‘म पढेलेखेको महिला होइन । र पनि सिप सिकेर उद्यमी बनेँ । अहिले आत्मनिर्भर छु । यहि कोही महिला यतिकै घरमा बस्नु भएको छ भनेर त्यसरी नबस्नुस् । सिप सिक्नु, त्यही सीपले  तपाइलाई भोको रहन दिँदैन ।’